२४ माघ काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशन आउँदो फागुन २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ ।
‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार, समृद्ध नेपाल निर्माणको आधार, गुणस्तरीय शिक्षा, गतिशील संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको सम्मेलनले विद्यार्थी आन्दोलनलाई नयाँ दिशा दिने अनेरास्ववियुका नेताहरु बताउँछन् ।
अनेरास्ववियुका बरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले सम्मेलनलाई सभ्य र भव्य ढंगले सम्पन्न गर्न आन्तरिक तयारी तीव्र पारिएको बताए । २३ औं महाधिवेशनपछि विद्यार्थी आन्दोलनलाई प्रश्नहरुको अखडा नभई उत्तरहरुको मैदान बनाउने दाबीसमेत उनले गरे । महाधिवेशनको सन्दर्भमा लामिछानेसँग गरिएको संक्षिप्त कुराकानी–
विगतको भन्दा यसपटकको महाधिवेशन के कुरामा फरक छ ?
अनेरास्ववियु मुलुकको सर्वाधिक शक्तिशाली, ठूलो र गौरवमय संगठन संगठन हो । यो संगठनको महाधिवेशनले विद्यार्थी आन्दोलनलाई एउटा नयाँ र सुस्पष्ट दिशा दिनेछ । अखिलको यो महाधिवेशन स्ववियु निर्वाचन जित्ने अभियानको उत्सव हुनेछ । यो महाधिवेशन भब्यतापूर्वक र सभ्यतापूर्वक सम्पन्न गर्न हामीले विभिन्न समितिहरु बनाएका छौं । ती सबै समितिका साथीहरु महाधिवेशनलाई उत्सवमय ढंगले सम्पन्न गर्न अहोरात्र काममा खटिरहेका छौं । विश्वविद्यालय, कलेज हुँदै विद्यालयसम्म, संघ, प्रदेश हुँदै पालिकासम्म र राजधानी, जिल्ला हुँदै गाउँघरसम्म विद्यार्थीहरु जुर्मुराएका छन् । स्ववियु निर्वाचन पनि नजिकिइरहेकाले यो महाधिवेशन अझ महत्वपूर्ण छ । धेरैभन्दा धेरै कलेजमा जित्ने ढंगले हामी तयारी गरिरहेका छौं । गुणस्तरीय र सर्वसुलभ शिक्षा र जनजीविकाका मुद्दालाई अघि बढाउन हामी निरन्तर सक्रिय छौं । ‘जहाँ विद्यार्थी, त्यहाँ अनेरास्ववियु’ भनेर स्थापित गर्नेछौं ।
महाधिवेशनबाट नेतृत्व चयन कसरी हुन्छ ?
हामी विधान सम्मेलन सम्पन्न गरी राष्ट्रिय महाधिवेशनमा होमिएका छौं । मूलतः यो नेतृत्व चयन गर्ने महाधिवेशन हो । यस महाधिवेशनबाट हामी नेपालको विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन सक्ने सक्षम नेतृत्व निर्माण गर्नेछौं । पार्टी नेतृत्वको निगरानीमा, प्रतिनिधिहरुले आफ्नो नेता छान्ने छन् । सबैलाई समेटेर विद्यार्थी आन्दोलनमा नयाँ आयाम थप्ने अभिभारा अनेरास्ववियुका नेताहरुको काँधमा छ ।
महाधिवेशनबाट अध्यक्ष बन्ने गरी तपाईंहरुबीच हानथाप छ । सहमतिबाट नेतृत्व चयन हुन्छ कि चुनाव नै गर्ने ?
स्ववियु निर्वाचनको मुखमै हुन लागेको महाधिवेशन भएकाले भरसक सहमतिकै आधारमा नेतृत्व टुंगो लागे राम्रो हुनेथियो । हामी सकेसम्म सहमतिको आधारमा नेतृत्व छान्नेछौं । सहमति हुन नसकेको अवस्थामा लोकतान्त्रिक विधि त छँदैछ ।
तपाईं पनि अध्यक्षको दाबेदार हो ?
हो । अरु साथीहरु पनि दाबेदार हुनुहुन्छ । अध्यक्ष बन्ने मेरो चाहना र योजनाले महाधिवेशन हलबाट सार्थकता पाउँछ भन्नेमा म विश्वस्त छु । किनभने सरस्वती क्याम्पसदेखि आरआर क्याम्पसको प्रा.क. र स्ववियुमा रहेर काम गरें । काठमाडौं क्याम्पस जिल्ला कमिटीको सहसचिव, सचिव हुँदै अध्यक्षको जिम्मेवारी पूरा गरें । तत्पश्चात् संगठनको केन्द्रीय सदस्य, सचिवालय सदस्य हुँदै संगठनको केन्द्रीय सचिव तथा हाल वरिष्ठ उपाध्यक्षको हैसियतमा भएकाले अध्यक्षमा स्वाभाविक दाबी छ ।
प्रतिक्रिया दिनुहोस्