Ad imageAd image

पिपलचोक–जिसस खण्ड सडकको बेहाल

खबर खुराक
खबर खुराक २४ माघ २०७९, मंगलवार
4 Min Read
Aa

२४ माघ पिपलचोक । सदरमुकाम गाईघाट र बोक्से जोड्ने मुख्यमध्ये कै एउटा सडकको बेहाल भएको कोही कसै सरोकारवालाको नजरमा परेको छैन। लोकतान्त्रिक चोक (पिपल चोक) देखि साविक जिल्ला विकास समिति (हाल जिल्ला समन्वय समिति) कार्यालय जोड्ने लगभग ४ सय मिटर दूरीको सडक बेवास्ताको शिकार बन्न पुगेको हो।

स्थानीय तह पुर्नसंरचना हुनुअघिको ‘हट स्पट’ मानिएको जिल्ला विकास समिति हुँदा गाईघाट बजारलाई जोड्न हालको गाईघाट–कटारी खण्डसँग जोडेर आँखा अस्पताल नजिकै भगवती मन्दिर पश्चिमतर्फबाट जिविस जोड्ने पुरानो सडक निर्माण गरिएको थियो। झण्डै दुई दशकअघि बजारकै बाङ्गे बजार (हिमाली टोल)सँग जोड्ने अर्को छोटो दूरीको सडक भगवती मन्दिर पूर्वतर्फबाट निर्माण गरेर जिविस जोडियो। भगवती मन्दिरको दुवैतर्फका सडक आरसिसी ढलान र कालोपत्रेसमेत गरेर जिविस पुग्न सहज बनाइएको छ।

त्यसबेला मुकामको केन्द्रबिन्दु र राजनीतिक आर्थिक गतिविधिको गुलजार अड्डा मानिएको जिल्ला विकास समिति पुग्न सजिलो बनाउने उदेश्यले ०६० सालमा अर्को सडक पिपलचोकदेखि जिविस जोड्ने गरी निर्माण गर्न नयाँ ट्र््याक निकालियो। जिविसकै स्वामित्वमा रहेको सभाभवन (सिटी हल, जहाँ हरेक सार्वजनिक कार्यक्रम हुने गथ्र्यो) सम्म आउजाउ गर्न सहज बनाउने भन्दै तत्कालीन ‘टीके सभापति (०५९ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले मनोनित गरेका जिविस सभापति)’ हीराकुमार श्रेष्ठले सो सडकको ट्र्याक खोल्ने काम गरे।

सभापति श्रेष्ठले घर नजिक भएर जिविस जोडिने सडक भएकाले आवश्यक बजेट छ्ट्याउने तयारी  गर्दैगर्दा उनीभन्दा राजानिकट मानिएका बोधराजसिंह बस्नेत अर्को सभापति मनोनित भएर आएपछि अलपत्र परेको सडकले अहिलेसम्म काँचुली फेर्न नसकेको स्थानीय बताउँछन्। बस्नेतले तत्कालीन जिल्ला परिषद सम्पन्न मात्र के गरेका थिए, ०६२÷६३ को जनआन्दोलनको आँधीबेहरी सुरु भईहाल्यो। १९ दिने जनआन्दोलनको राप सहन नसकेर ज्ञानेन्द्रले हात उठाए, ०६३ वैशाख ११ गते लोकतन्त्र घोषणा भएसँगै जिविस विघटनपछि टुहुरा बन्न पुगेको सडकले लोकतन्त्रको फल देख्नै नपाएको तत्कालीन जिविस सदस्य छिवाहाङ राई बताउँछन्।

- Advertisement -
Ad image

गाईघाटको व्यस्ततमा सडक पिपलचोकदेखि नेपाल पत्रकार महासंघको भवन हुँदै जिल्ला समन्वय समिति कार्यालय जोड्ने सो सडकको स्तरोन्नतितर्फ नगरपालिका र अन्य कुनै निकायको दृष्टि पर्न नसकेको गुनासो उपभोक्ताले गर्दै आएका छन्। पत्रकार महासंघ भवनदेखि जिसससम्मको झण्डै सय मिटर दूरी दुईवर्षअघि नै आरसिसी ढलान भइसकेको छ। तर, त्यसभन्दा तल पिपलचोकसम्म भने धुले र खाल्डाखुल्डीकै स्थितिमा हुनुले आउजाउमा समस्या मात्र नभएर बजारको ‘नाकैमुनी खत’ भनेजस्तो कुरुप हुन पुगेको स्थानीय ज्ञावनसेर राईले बताए।

लोकन्त्रपछिको दुई दशकमा बजारका प्राय सडकहरु स्तरोन्नति र कालोपत्रेसमेत भइसक्दा यो सडकलाई सम्बन्धित निकायले ‘सौताको व्यवहार’ गरेको राईको गुनासो छ। मुख्य बजारसँग जोडिएको, त्यसमाथि ११ नं. वडाका अधिकतर सडकहरु कालोपत्रे भइसकेको बताउँदै उनले त्यत्ति ४ सय मिटर दूरीको सडकमा अहिलेसम्म नाला, ग्राबेल र सरसफाईसम्म नगर्नुृ दुःखद भएको राईले बताए। ‘साविकको जिविस हुँदै निकालेको सडक हो यो, त्यमाथि जिससकै स्वामित्वको सिटी हल पनि यही जोडिएको छ’, राईले भने, ‘वडा र नगरका कस्ताकस्ता दुर्गमका सडकहरु पक्की भईसक्दा पनि मुख्य बजारकै यसमा नजर नपर्नु दुःखदायी कुरा हो।’

त्रियुगा नगरप्रमुख बसन्तकुमार बस्नेतले सो बजारभित्रकै भए पनि अहिलेसम्म नबनेकाले यस वर्ष बनाउन लागेको बताए। उनका अनुसार विश्व बैंकको सहयोगमा निर्माण हुने गाईघाट–ढिम्की–बरुवा पुलसम्मको सडकसँग जोडिएको शाखा बाटो भएकाले सोही योजनाबाट सय मिटर भित्रसम्म सरतरोन्नतिसहित कालोपत्रे गर्ने उनले बताए। बाँकी रहेको पत्रकार महासंघ भवनसम्मको २ अढाईसय मिटरको काम नगरपालिकाले अन्य स्रोत जुटाएर यही वर्ष बनाउने मेयर बस्नेतको प्रतिबद्धता छ।

प्रतिक्रिया दिनुहोस्