Ad imageAd image

बर्डफ्लू पीडित किसानलाई दुई साताभित्रै राहत

खबर खुराक
खबर खुराक २७ माघ २०७९, शुक्रबार
3 Min Read
Aa

२७ माघ काठमाडौं । एक वर्षदेखि राहत नपाएका बर्डफ्लूबाट पीडित बनेका किसानले अब भने दुई साता भित्रै बैंक खातामै राहत पाउने भएका छन् । कानुनी जटिलताको कारण देखाउँदै सरकारले भुक्तानी रोक्दा आर्थिक अवस्था बिग्रिएको भन्दै करिब तीन सय पोल्ट्री किसानहरु आन्दोलित भएका थिए ।

तर, चौतर्फी आलोचना पछि सरकारले २९९ जना किसानको क्षतिपूर्ति तिर्नका लागि प्रक्रिया अघि बढाएको छ । कृषि मन्त्रालयले प्रस्ताव गरेको ५८ करोड ५२ लाख रुपैयाँ बराबर रकम भुक्तानीका लागि प्रक्रिया सुरु गरेको छ ।

किसानको राहतका लागि अर्थ मन्त्रालयले राय दिएको कृषि मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले राहतका लागि आवश्यक रकम निकासाका लागि बिहीबार अर्थ मन्त्रायबाट राय पाएको बताए ।

‘अर्थबाट राहत वितरणका लागि केही सुझावसहित राय पाएका छौं,’ सञ्जेलले भने, ‘अब छिट्टै सबै प्रक्रिया पुरा गरेर फाइल मन्त्री परिषद्‍मा पेश गर्छौं ।’

- Advertisement -
Ad image

अब बस्ने मन्त्रिपरिषद्‍ले किसानको राहतबारे कानुनी जटिलता टुंग्याउने गरी फाइल पेश हुने मन्त्रालयले जनाएको छ । राहतबारे मन्त्रिपरिषद्‍ले गर्ने निर्णय पछि मन्त्रालयले राहत रकम किसानलाई वितरणका लागि प्रदेशमा निकासा गर्ने छ ।

मन्त्रालयकाअनुसार प्रदेशले उक्त रकम प्राप्त गरेपछि प्रमुख जिल्ला अधिकारी नेतृत्वको बर्डफ्लू नियन्त्रण समितिले पीडित किसानसँग निवेदन माग गर्नेछ । उनीहरुको माग र बर्डफ्लू नियन्त्रणका बेला तयार भएको मुचुल्काका आधारमा किसानको खातामा राहत रकम पठाइने छ ।

मन्त्रालयले सकेसम्म एक दुई दिनमै मन्त्रिपरिषद्‍बाट प्रक्रिया टुंग्याउन लागि परेकाले किसानले कम्तीमा दुई साता भित्रै राहत पाउने सक्ने मन्त्रालयले जनाएको छ । यसअघि नै अर्थ मन्त्रालयबाट विभिन्न राहत शीर्षकमा विनियोजन गरेको रकम र आत्मनिर्भरताका लागि कृषि कार्यक्रमका लागि छुट्याइएको रकमबाट किसानलाई राहत वितरण गर्ने मन्त्रालयले जनाएको छ ।

पशुसेवा विभागको विवरणअनुसार २०७८ माघ यता फैलिएको बर्डफ्लूका कारण २९९ जना किसानको फर्मको पन्छी नष्ट गरिएको थियो । पन्छीबाट मानिसमा सर्नसक्ने घातक बर्डफ्लू नियन्त्रणका लागि सरकारले राहत सम्बन्धी मापदण्ड बनाएको थियो । ‘बर्डफ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुहरुको राहत दिने मापदण्ड, २०७८’ अनुसार गत १३ माघ २०७८ देखि २ साउन २०७९ सम्म बर्डफ्लू रोग नियन्त्रण गर्ने क्रममा नष्ट गरिएका वस्तुहरुको राहतका लागि करिब ५८ करोड लाग्ने देखिएको छ । प्रतिकिसान कम्तीमा १२ लाख देखि २ करोडसम्म राहत पाउनु पर्ने अवस्था रहेको विभागको भनाइ छ ।

विभागले मन्त्रालयमा पठाएको विवरणअनुसार बर्डफ्लूका कारण बागमती प्रदेशमा मात्रै ५१ करोड ९४ लाख ८२ हजार ९७९ रुपैयाँ ८ पैसा राहात वितरण गर्नु पर्नेछ । प्रदेश एकमा ५८ लाख ५ हजार ३०८ रुपैयाँ, मधेश प्रदेशमा २ लाख ४४ हजार १४७ रुपैयाँ ५ पैसा, गण्डकी प्रदेशमा एक लाख ३७ हजार १४१ रुपैयाँ २५ पैसा र कर्णाली प्रदेशमा ६ लाख ९१ हजार ९६५ रुपैयाँ राहत किसानले पाउनु पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्