२९ माघ बुटवल । बुटवलमा यही फागुनको २ देखि ६ गतेसम्म कृषि मेला लाग्दै छ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले सञ्चालन गर्न लागेको यो मेला ११ औँ संस्करणको कृषि मेला हो ।
‘कृषि मेला–२०७९’ को तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । यो वर्षको कृषि मेलामा विशेष आकर्षणको रुपमा पोर्क फेस्टिभललाई राखिएको आयोजकको भनाइ छ ।
बुटवल उद्योग वाणिज्य संघ र लुम्बिनी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयको संयुक्त आयोजनामा गर्न लागिएको मेलामा पोर्क फेस्टिभलसहित कृषिमा आधुनिक प्रविधिको प्रदर्शनी, उत्कृष्ट कृषि उत्पादनको प्रदर्शनी, कृषि सेवासम्बन्धी जानकारीमूलक स्टल तथा कृषिसम्बन्धी अन्तरक्रिया तथा छलफल गरिने संघका अध्यक्ष तथा कृषि मेला मूल समितिका संयोजक उज्ज्वलप्रसाद कसजूले जानकारी दिए ।
गैरनाफामूलक यो मेलामा ५० वटा स्टल रहने छन् भने २५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने लक्ष्य लिइएको छ । कृषि बस्तुको प्रवद्र्धन तथा विविधीकरण गर्ने माध्यमको रुपमा खाद्य परिकारको प्रवद्र्धन पनि एउटा माध्यम भएकोले कृषि मेलामा पोर्क (बंगुर)का परिकारसहितको फेस्टिभल आयोजना गरिएको बताए ।
त्यसबाहेक च्याउ, दुग्ध, कोदो माछाका परिकार पनि मेलामा राखिने छ । खाने प्रवृत्तिको विकासले स्थानीय कृषि बस्तुको प्रवद्र्धन गर्नुको साथै पोषणमा सुधार र आयात प्रतिस्थापनमा समेत सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।
मेलामा १३ वटा स्टल पोर्क फेस्टिभलको लागि छुट्याइएको छ । जसमा नौ प्रकारका चाइनिजसहित बंगुरको मासुबाट बनेका २१ परिकार पस्किने बंगुर व्यवसायी संघ लुम्बिनीका अध्यक्ष लिलाबहादुर सूर्यवंशीले जानकारी गराए ।
त्यस्तै, कृषिका अत्याधुनिक प्रविधितर्फ धान रोप्ने मेसिन, बाली काट्ने मेसिन, गोड्ने मेसिन, बेलर मेसिन, थोपा सिँचाइ प्रविधि, हाइड्रोपोनिक्स, मौरी पालन, जैविक मललगायतको प्रदर्शनी गरिने छ । त्यसैगरी ताजा तरकारी, खाद्यान्न बाली, फलफूल प्रतियोगितात्मक हिसाबले प्रदर्शन गरिने कृषि मेला समन्वय समितिका संयोजक बसन्तप्रसाद ढकालले बताए ।
कृषिमा व्यवसायीकरण, प्रविधिको पहुँचमा वृद्धि तथा कृषकस्तरमा सूचना तथा जानकारी पु¥याउनुको साथै नीतिगत सुधारको लागि पहलस्वरुप विभिन्न विषयगत अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिने छ । त्यस्तै, दुग्धपान प्रतियोगिता, लौकाट, कडकनाथ, बट्टाई, लोकल कुखुराको प्रदर्शनी तथा बिक्री वितरण र कृषिमा आधारित सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने ढकालले बताए ।
मेलाको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । उपत्यकाबाहिर २०४१ सालमा पहिलोपटक बुटवलमा मेला आयोजना गरेको बुटवल उद्योग वाणिज्य संघले २०६२ सालमा पहिलोपटक विशिष्टिकृत कृषि मेला आयोजना गरेको थियो ।
संघले आयोजना गरेको यो ११ औँ संस्करणको कृषि मेला हो । यसबीचमा संघले नेपाल सरकार, कृषि विकास मन्त्रालयसँगको संयुक्त आयोजनामा छैठौँ राष्ट्रिय प्राङ्गारिक कृषि मेला र ११ औँ राष्ट्रिय प्राङ्गारिक कृषि मेला सफलतापूर्वक सम्पन्न गरिएको संघका महासचिव विमलराज भट्टराईले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्