Ad imageAd image

कुन उमेरसम्म बढ्छ उचाइ ?

खबर खुराक
खबर खुराक १ फाल्गुन २०७९, सोमबार
4 Min Read
Aa

१ फागुन काठमाडौं । व्यक्तिको समग्र व्यक्तित्वमा उसको उचाइले पनि महत्वपूर्ण भूमिका हुन्छ । अग्लो कद र त्यसअनुसारको तौलले व्यक्तित्व नै आकर्षक देखिने मान्यता छ ।

तर उचाइ वा तौल व्यक्तिले आफूले इच्छाएअनुसार बनाउन सकिने कुरा होइन । शरीरको वजन केही हदसम्म आफूले चाहेअनुसार बनाउन सकिएला तर उचाइको हकमा त्यो हुँदैन । उचाइ निश्चित उमेरसम्म मात्रै बढ्छ ।

हामी कति अग्लो हुन्छौं भन्ने कुरा जिनमा निर्भर हुने हार्मोन विशेषज्ञ डा. विनय भट्टराई बताउँछन् । साथै ह्युमन ग्रोथ हर्मोनका कारण मांसपेशी र हड्डीको वृद्धि हुने गर्छ ।

‘बाबुआमाको उचाइ (मिड प्यारेन्टियल हाइट) नापेर आमाबाबुको उचाइमा आधारित बच्चाको अनुमानित वयस्क उचाइ निकालिन्छ,’ डा. भट्टराई भन्छन्, ‘यो सूत्रअनुसार आमाबुबाको मिड प्यारेन्टियल हाइटभन्दा छोरामा ७ सेन्टिमिटर बढी उचाइ हुन सक्छ भने छोरीमा ७ सेन्टिमिटर कमसम्म हुन सक्छ ।’

- Advertisement -
Ad image

कसैमा प्राकृतिक रूपमा नै ढिलो उचाइ बढ्ने तथा यौवन ढिलो आउने समस्या हुन्छ । केही व्यक्तिले समान उमेरका साथीहरूको तुलनामा ढिलो यौवन अनुभव गर्छन् र उचाइ पनि ढिलो बढ्ने हुन्छ । आमाबुबा तथा हजुरबुवा–हजुरआमामा यस्तो समस्या देखिएको छ भने बच्चामा पनि त्यो समस्या हुने भट्टराई बताउँछन् ।

उचाइ नबढ्ने समस्या आउनुमा शरीरमा ग्रोथ हर्मोनको कमी मुख्य कारण भएको उनी बताउँछन् । ग्रोथ हर्मोन उचाइ बढाउनका लागि चाहिने हर्मोन हो यसको कमीले गर्दा उचाइ नबढ्ने समस्या हुन्छ । ‘हाम्रो दिमागमा पिट्युटरी ग्रन्थि हुन्छ, जसले ग्रोथ हर्मोनको उत्पादन गरिरहेको हुन्छ । त्यसले ग्रोथ हर्मोनको कम उत्पादन गर्दा वा त्यहाँ कुनै ट्युमर भयो भने यस्तो समस्या देखिन्छ,’ डा. भट्टराई भन्छन् ।

शरीरमा थाइराइड हर्मोनको कमी भयो भने पनि उचाइ बढ्दैन । साथै पौष्टिक आहारको कमी र भिटामिन ‘डी’ तथा क्याल्सियमको कमीले पनि उचाइ नबढ्ने समस्या हुन्छ । यस्तै बच्चामा सानै उमेरदेखि कुनै दीर्घरोग मधुमेह, मिर्गौलाजस्ता समस्या छ भने पनि उनीहरूमा उचाइ नबढ्न सक्ने भट्टराई बताउँछन् । स्टेरोइडजस्ता औषधिको सेवनले पनि उचाइ नबढ्न सक्छ ।

‘बच्चामा डाउन सिन्ड्रोम, धेरै तनावमा रहन्छ, राम्ररी निदाउँदैन भने पनि ग्रोथ हर्मोन कम भएर उचाइ नबढ्न सक्छ,’ डा. भट्टराई भन्छन् ।

कुन उमेरसम्म उचाइ बढ्छ ?

सामान्यतया उचाइ बढ्ने अधिकतम उमेर २१ वर्षसम्म हो । किशोरावस्थामा शरीरको उचाइ तीव्र रुपमा बढ्छ ।

‘केटी महिनावारी हुनुभन्दा अघि र केटा दाह्री जुँगा पलाउनुअघि हलक्कै बढ्छन् । त्यसपछि भने उचाइ अलि अलि मात्र बढ्छ,’ डा. भट्टराई भन्छन्, ‘केटीको महिनावारीपछि एस्ट्रोजन हर्मोन र केटाको युवावस्थामा टेस्टोस्टेरोन हर्मोन विकास हुन्छ । जसले हड्डीमा भएको ग्रोथ प्लेट र हड्डी जोडिएपछि उचाइ बढ्ने क्रम कम हुँदै जान्छ ।’

कसरी बढाउने उचाइ ?

सुतेको बेला बच्चाको उचाइ सबैभन्दा बढी बढ्ने भट्टराई बताउँछन् । सुतेको बेला मत शान्त हुने र गहिरो निद्रा पर्दा ह्युमन ग्रोथ अधिक मात्रामा स्राव हुन्छ । त्यसैले बच्चालाई ८ देखि ९ घण्टासम्म मस्त निदाउने वातावरण बनाइदिनुपर्ने भट्टराई बताउँछन् ।

‘हाम्रो शरीरको सम्पूर्ण विकासका लागि सन्तुलित खानपान आवश्यक हुन्छ । हरियो सब्जी, फल र प्रोटिन, कार्बोहाइड्रेटले भरपुर खाना सन्तुलित मात्रामा लिनुपर्छ,’ उनी भन्छन्, ‘विशेषगरी क्याल्सियम र भिटामिन डीयुक्त खाना खानुपर्छ ।’

उमेरअनुसार उचाइ नबढ्दा के छ उपचार ?

आफ्नो बच्चाको उचाइ उमेरअनुसार बढेको छैन भने त्यसको कारण पत्ता लगाउनुपर्छ । ग्रोथ हर्मोनको कमीले गर्दा बच्चाको उचाइ बढेको छैन भने ग्रोथ प्लेट जोडिनुअघि ग्रोथ हर्मोन दिन सकिने भट्टराई बताउँछन् ।

‘थाइराइड हर्मोन, दीर्घरोगलगायत कारणले उचाइ नबढेको हो भने त्यसको उपचार समयमा गरियो भने पनि उचाइ बढ्न थाल्छ,’ उनी भन्छन्, ‘वंशाणुगत कारणले उचाइ कम भएको हो भने चाहिं यसको कुनै उपचार हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्