१ फागुन भजनी । पाल्पाकी विपना खनाल कैलालीको टीकापुरमा रहेको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा कृषि विज्ञान विषयको अध्ययनरत छिन् । उनी अध्ययन सँगै आफ्नो पढाइ खर्चको केही रकम आफैँ व्यवस्थापन गर्छिन् ।
कलेजमा अध्ययन गर्ने केही साथीहरूको समूह बनाएर च्याउ खेती गर्दै आएकी छन् । उनीसँगै साथीहरूले खाजा खर्चबापतको रकम जम्मा गरेर च्याउ खेती सुरु गरेका हुन । “भाडाको बसाइ, सबै किनेर खानुपर्ने घरबाट पठाएको पैसाले नपुग्ने”, विपनाले भनिन्, “च्याउ खेतीबाट थोरै भए पनि आम्दानी हुने गरेको छ । त्यो आम्दानीले आफ्नो खाजा खर्च व्यवस्थापन भएको छ । कलेजको अतिरिक्त क्रियाकलापलाई चाहिने रकम व्यवस्थापन हुँदै आएको छ ।”
समूहमा जोडिएका अछाममा रमेश साउँद मंगलबार र शुक्रबार कृषि हाटबजारमा व्यस्त देखिन्छन् । उसो त उनीहरुले कृषि हाटबजारमा साथीहरूको पालो लगाएका छन् । उनीहरु उत्पादन भएको च्याउ बिक्रीका लागि हाटबजारमा लैजान्छन् । उनीसँगै एकदुई जना अन्य साथीहरू पनि हुन्छन् । बजार मूल्यभन्दा १५ प्रतिशत सस्तोमा च्याउ बिक्रीको साइनबोर्डसमेत उनीहरुले स्टलको अगाडि राखेको हुन्छ । केही च्याउ बेच्न व्यस्त हुन्छन् भने केही आएका ग्राहकलाई कृषि तथा च्याउ खेतीको बारेमा बुझाउन ।
प्रतिकेजी १२० रुपैयाँमा च्याउ बिक्री हुने गरेको उनको भनाइ छ । “बजारको समस्या छैन । उत्पादन भएको च्याउ सहजै बिक्री हुन्छ । हप्तामा दुई दिन कृषि हाट बजारमा ४० देखि ५० केजी च्याउ बिक्री हुन्छ,” रमेशले भने, “आम्दानी भएको रकम समूहमा जम्मा गर्छौं । कलेजको अतिरिक्त क्रियाकलापका लागि खर्च गर्छौं । बाँकी रकम बराबर भाग लगाउँछौँ ।“
प्रतिव्यक्ति पाँच हजार जम्मा गरेर कलेजभित्रै उनीहरुले च्याउ उत्पादन सुरु गरेका हुन । प्लास्टिकको टनेल निर्माण गरेर सामूहिक काम गर्दै आएका विद्यार्थीले आफूले पनि तरकारी किनेर खानुपरेको छैन । बाँकी रहेको जमिनमा तरकारीसमेत विद्यार्थीले फलाएका छन् ।
प्रतिक्रिया दिनुहोस्