Ad imageAd image

भारत-चीन जोड्ने सडक क्षेत्रका स्थानीयले भत्काए घर

खबर खुराक
खबर खुराक १ फाल्गुन २०७९, सोमबार
5 Min Read
Aa

१ फागुन साँदनी (डडेल्धुरा) । नेपाललाई भारत र चीनसँग जोड्ने सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश गौरवको योजनामा समावेश गरेको महाकाली करिडोर सडक निर्माणमा ढिलासुस्ती भइरहेको भन्दै स्थानीयले स्वतःस्फूर्त रूपमा सडक क्षेत्रमा रहेका घरहरू भत्काउन थालेका छन् ।

अविलम्ब सडक निर्माणका लागि दबाब दिने उद्देश्यले स्थानीयले सडक क्षेत्रमा रहेका घरहरू भत्काउन थालेका हुन । डडेल्धुराको परशुराम नगरपालिका–७ सादनीस्थित चौराहा बजारका घरधनीहरूले स्वतःस्फूर्त रूपमा सडक क्षेत्रमा रहेका आफ्ना घर भत्काएर सडक निर्माणमा ढिलासुस्ती नगर्न दबाब दिएका छन् । उनीहरूले बजार क्षेत्रका झण्डै दुई दर्जन घर भत्काएर सडक निर्माणका लागि दबाब दिइरहेको साँदनी बजार व्यवस्थापन समितिका सचिव प्रेम धामीले बताए ।

महाकाली करिडोरलाई भारत र चीनसँग जोडिने मुख्य सडकको रूपमा लिइएको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकर जोड्ने महाकाली करिडोर सडक निर्माणमा निकै ढिलासुस्ती भइरहेको स्थानीयको गुनासो छ । कञ्चनपुरलाई त्रिदेशीय नाका बनाएर महाकाली पारीको भूभाग दोधारा चाँदनी हुँदै दार्चुलाको टिंकर जोड्ने महत्त्वपूर्ण सडक योजना निर्माणमा चरम लापरबाही भइरहेको परशुराम नगरपालिका–७ का पूर्व वडाध्यक्ष केशव बोहराले बताए । दार्चुलादेखि कञ्चनपुरसम्म महाकाली किनारका बस्तीलाई सडक सञ्जालसँग जोड्न डेढ दशकअघि सडक निर्माणको काम सुरु भएको थियो।

उक्त आयोजनाको काम निकै सुस्त गतिमा भइरहेको छ। हालसम्म ट्रयाक खोल्ने काम पनि सकिएको छैन। ब्रह्मदेवदेखि दार्चुलाको तिखारपानीसम्म ३३४ किलोमिटर सडक निर्माणको काम महाकाली करिडोर सडक परियोजनाले गरिरहेको छ। तिखारपानीदेखि टिंकरसम्म ९१ किलोमिटर सडकको ट्रयाक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ। ३३४ किलोमिटरमध्ये हालसम्म २१५ किलोमिटरमा ट्रयाक खोलिएको परियोजनाले जनाएको छ। अझै ११९ किलोमिटरमा ट्रयाक खोल्न बाँकी छ। केही स्थानमा कालोपत्रेका लागि ठेक्का भए पनि काम सुरु हुन सकेको छैन।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्