Ad imageAd image

हात्तीपाइले रोगविरुद्ध अभियान अझै सफल भएन

खबर खुराक
खबर खुराक १ फाल्गुन २०७९, सोमबार
2 Min Read
Aa

१ फागुन झापा । प्रदेश १ को झापा र मोरङसहित १५ जिल्लामा हात्तीपाइले रोगविरुद्ध अभियान अझै सफल भएको छैन।

सरकारले यो कार्यक्रम सफल बनाउन बर्सेनि ठूलो बजेट खर्चिएर घरदैलोमार्फत आम जनतालाई औषधि सेवन गराउँदै आइरहेको छ।

औषधि सेवनको प्रतिफल नआउँदा सरकारको बजेट खेर गइरहेको जिल्ला स्वास्थ्य कार्यालय झापाका अधिकृत विश्वनाथ श्रेष्ठले जानकारी दिए।

झापा र मोरङ शिक्षित जिल्ला हो। तर, शिक्षित जिल्लाकै हालत यस्तो रहेको बताउँदै अधिकृत श्रेष्ठले भने, ‘हात्तीपाइले क्युलेक्स वा एनोफिलिसको पोथी लामखुट्टेको टोकाइबाट फाइलेरिया नामक परजीवीबाट सर्ने रोग हो, यो रोग लाग्नुभन्दा अगाडि औषधि सेवाबाटै उपचार सम्भव छ, लागि सकेपछि यसको कुनै पनि उपचार छैन।’

- Advertisement -
Ad image

यही फागुन ११ गतेदेखि झापामा १२औं पटक हात्तीपाइले रोगविरुद्धको तीन प्रकारको औषधि सेवन कार्यक्रम सञ्चालन हुँदैछ।

विगतका वर्षहरूको तुलनामा यस वर्ष यो अभियानलाई कसरी सफल बनाउने भन्ने उद्देश्यका साथ भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाले आइतबार पालिका स्तरीय योजना तर्जुमा तथा बहु निकाय गोष्ठीमा आयोजना गरेको छ।

अधिकृत श्रेष्ठका अनुसार झापामा सन् २०१२ मा २४ प्रतिशत हात्तीपाइले रोगको जीवाणु देखा परेको थियो।

औषधि सेवनका कारण यो प्रतिशत घट्ने क्रममा रहेको बताउँदै जोखिम क्षेत्रको पहिचान गर्दै सन् २०२२ मा कचनकवलको लोदावारिमा १०० जनाको स्वास्थ्य परीक्षण गर्दा सात प्रतिशतमा हात्तीपाइले रोगको जीवाणु भेटिएको थियो।

सन् २०२१ मा झापाको कुमरखोदमा १०० जनाको परीक्षण गर्दा १३ प्रतिशतमा यो रोग देखापरेको थियो। भारतको विहार र उत्तर प्रदेशसहित ६ जिल्ला हात्तीपाइले रोगको उच्च जोखिममा पर्छ।

विहार र उत्तर प्रदेश देशको सीमा नाकासँग जोडिएकाले तराईका जिल्लाहरू अहिले पनि जोखिममा रहेको छ।

डब्लुएचओले पुनः सन् २०३० सम्म लक्ष्य दिएपनि सन् २०२६ भित्र देशभर अभियान सफल बनाइसक्नु पर्ने उनको भनाइ छ।

झापाका ९ लाख जनतालाई एकै पटक औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्