Ad imageAd image

लुम्बिनीलाई मिनी नेपालका रुपमा व्यवस्थित गर्ने छौं : मुख्यमन्त्री गिरी

खबर खुराक
खबर खुराक ३ फाल्गुन २०७९, बुधबार
2 Min Read
Aa

३ फागुन बुटवल । लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा मुख्यमन्त्री लिला गिरीले शुभकामना व्यक्त गरेका छन् । बुधबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री गिरीले स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीबाट शुन्यदेखि व्यवस्थापनको कार्य थालनी गरिएको बताएका छन् ।

शुभकामना शन्देशमा लेखिएको छ–‘पहिलो कार्यकालमा अस्थायी मुकाम बुटवलबाट शून्यबाट कामको थालनी गरेझैं यतिबेला स्थायी राजधानी स्थल राप्ती उपत्यका देउखुरीबाट उसैगरी शून्यबाट राजधानी व्यवस्थापनको कार्यको थालनी गरेका छौं । नदी सभ्यतामा आधारित समुन्नत र योजनाबद्ध सहरसहितको व्यवस्थित राजधानी निर्माण गर्ने कामलाई पूरा गर्ने संकल्प लिएका छौं ।’
अघिल्लो ५ वर्षको अवधिमा प्रदेश सरकारलाई नागरिकले सुन्ने र देख्ने विन्दुमा ल्याइपुर्याएको बताउँदै तीन तहका सरकार बीच सहअस्तित्व, समन्वय र सहकार्यको परिकल्पनामा जोड दिएका छन् । संघीयताको व्यवहारिक कार्यान्वयन गर्न सबैको सार्थक पहल आवश्यकको बताउँदै मुख्यमन्त्री गिरीले बितेका पाँच वर्षमा संघीयता कार्यान्वयनको सन्दर्भमा भएका कार्यलाई निरन्तरता दिँदै प्रदेश सरकारले विकास, समृद्धि र सुशासनलाई केन्द्रविन्दूमा राखेर ‘समृद्ध प्रदेश आत्मनिर्भर लुम्बिनी’को लक्ष्यलाई कार्यान्वयन गर्न दत्तचित्त रहेको उल्लेख गरेका छन् ।

मुख्यमन्त्रीको शुभकामना सन्देशमा अगाडि लेखिएको छ–‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई नागरिकको जीवन पद्दतिका रुपमा स्थापित गर्न सक्दा मात्रै आम नागरिकले लोकतन्त्रको सुखद् अनुभूति गर्न पाउँछन् भन्ने मान्यतालाई स्थापित गर्न प्रदेश सरकार लागिपरेको छ । मिनी नेपालका रुपमा लुम्बिनी प्रदेशलाई व्यवस्थित गर्नेतर्फ हाम्रा योजना र कार्यक्रम केन्द्रित रहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्