Ad imageAd image

बाबा वैद्यनाथ विद्यालयका शिक्षकद्वारा सामुहिक सरुवाको माग

खबर खुराक
खबर खुराक ३ फाल्गुन २०७९, बुधबार
2 Min Read
Aa

३ फागुन वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका–३ स्थित श्री बाबा वैद्यनाथ आधारभूत विद्यालय, गढैयाका शिक्षकले सामुहिक सरुवाको माग गरेका छन् । गाउँका केहि युवाले मंगलबार बिहान विद्यालयमा आएर अभद्र व्यवहार गरेको भन्दै विद्यालयमा कार्यरत शिक्षकले सामुहिक सरुवाको माग राखेका हुन् ।

विद्यालयमा प्रधानाध्यापक सहित ५ जना शिक्षक र एक जना कार्यालय सहयोगी कार्यरत छन् । विद्यालयका प्रधानाध्यापक बादशाह साहका अनुसार फागुन २ गते मंगलबार बिहान १० बजे प्राथना गर्ने समयमा आएर गाउँका ७ जना युवाले अभद्र व्यवहार गरेका थिए ।

बली यादव, सुनिल यादव, दिपेश यादव, वशिष्ठ यादव, भूपेन्द्र यादव, नन्की यादव, सुनिल यादवले अभद्र व्यवहार प्रदर्शन गरेको दावी प्रअ साहको छ ।

उनीहरुले कक्षा कोठामा गई छात्र छात्राहरुलाई हातपात, गाली गलौज गरी पाठ्यपुस्तक बाहिर फालेको, शिक्षकले नपढाएको भन्ने आरोप लगाउन दवाव दिँदै, छात्राहरुलाई समेत हात हालेको, मोबाइलमा भिडियो लिई फलामको रड हल्लाउँदै तर्साउँदै शिक्षक कर्मचारीहरुलाई विद्यालयमै विद्यार्थीको सामु गाली गलौज गर्दै दुव्र्यवहार गरेको प्रधाध्यापक साहले जानकारी दिए ।

- Advertisement -
Ad image

पटक पटक यस्ता क्रियाकलाप भइरहेको भन्दै प्रधानाध्यापक साहले गाउँपालिका र वडा अध्यक्षलाई सुरक्षा व्यवस्था मिलाउन र सामुहिक सरुवाको माग राखेर पत्राचार समेत गरेका छन् ।

‘विद्यालयमा सार्वजनिक विदाको दिनमा बाहेक एक दिन पनि गयल हुँदैनौं, तैपनि गाली गलौज र दुव्र्यवहार हुन्छ भने हामी किन विद्यालयमा बस्ने ? भनेर सामुहिक सरुवाको माग राखेका हौं’, प्रधानाध्यापक साहले भने, ‘हामीले विद्यालयमा राम्रो गरेन भन्नेहरुलाई राम्रो शिक्षक ल्याउने बाटो पनि खुल्छ ।’

जगरनाथपुर गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष सुवास यादवले विद्यालयमा देखिएको समस्या समाधानका लागि बिहीबार छलफल राखिएको जानकारी दिए । प्रहरी र पालिकालाई समस्याबारे जानकारी भईसकेको समेत बताए ।

‘पालिकामा भएका विद्यालय मध्ये यो सबैभन्दा राम्रो विद्यालय हो । केटाहरुले किन त्यस्तो अभद्र व्यवहार प्रदर्शन गरे ?’ उनले भने, ‘अभिभावकलाई पनि भनेका छौं, प्रहरी र पालिकालाई जानकारी गराएका छौं । छलफल गरेर समस्या समाधान गर्छौं।’

प्रतिक्रिया दिनुहोस्