Ad imageAd image

ठाकुर गैरेको संसदमा पहिलो सम्बोधन : स्वास्थ्य बिमादेखि सिद्धबाबाको सडकबारे सरकारको ध्यानाकर्षण

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा ४ फाल्गुन २०७९, बिहीबार
3 Min Read
Aa

पाल्पा, ४ फागुन । प्रतिनिधिसभा सदस्य ठाकुर गैरेले स्वास्थ्य बिमा कार्यक्रमलाई तत्काल सुचारु गर्न माग गर्नुभएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकलाई पहिलोपटक सम्बोधन गर्दै पाल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित संसद गैरेले यस्तो माग गर्नुभएको हो ।

विगत सरकारले संचालन गरेको स्वास्थ्य बिमा कार्यक्रम कांग्रेससहितको गठबन्धन सरकारले रोकेको छ । जनता स्वास्थ्य उपचारको अधिकारबाट बन्चित हुनु परेको छ । यस्तो लोककल्याणकारी स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रूपमा तत्काल सुचारू गर्न उहाँले माग गर्नुभएको हो ।

पाल्पाली जनताको समस्याबारे सदनमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । स्वास्थ्य मानिसको सबैभन्दा महत्त्वपूर्ण कुरा हो । हाम्रो संविधानले स्वास्थ्य सेवालाई ज्यादै महत्त्वका साथ घोषित गरेको छ । मौलिक हक, नैसर्गिक अधिकारको रूपमा स्वास्थ्यलाई ग्यारेन्टी गरेको छ । तर विगत सरकारले सुरु गरेको लोककल्याणकारी कार्य विगतको गठबन्धनको सरकारको कारणले बन्द भएको छ । यसलाई सुचारु गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउँछु संसदमा उहाँले भन्नुभयो ।

- Advertisement -
Ad image

सरकारी स्वास्थ्य संस्थामा डाक्टर नहुँदा उपचारमा समस्या भएको उहाँले बताउनुभयो । प्राथमिक स्वास्थ्यचौकी, जिल्लाको सरकारी अस्पतालमा दरबन्दी छ तर डाक्टर छैनन् ।  दरबन्दी अनुसार डाक्टरको व्यवस्था हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

जिल्लामा रहेका मिसन अस्पतालले ४० प्रतिशत रकम मात्रै स्वास्थ्य बिमाको छुट दिने गरेको छ । लुम्बिनी मेडिकल कलेजमा बिमाबाट पाइने सम्पूर्ण सेवा सुविधा बन्द गरिएको छ । सरकारी अस्पतालमा जाँदा दरबन्दी भेटिने डाक्टर नभेटिने र अन्य अस्पतालमा स्वास्थ्य बिमा बन्द भएको छ । यस्तो अवस्थाले जनताको स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अत्यन्त नकारात्मक परिस्थिति पैदा भएको संसद गैरेले बताउनुभयो ।

तत्काल स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न र प्राथमिक स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा विशेषज्ञ सहितको डाक्टरको उपलब्धतालाई सुनिश्चित गर्न संसदमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

खानेपानीको समस्या उस्तै छ । पहाडी क्षेत्रमा लिफ्टिङ खानेपानी आयोजनामार्फत सरकारले अगाडि सारेको घरघरमा एक धारा नीतिलाई कार्यान्वयन गर्नुपर्ने अवस्था छ । तर विडम्बना जनताले महँगो बिजुलीको शुल्क तिर्न नसक्दा आयोजना बन्द भएको उहाँले बताउनुभयो ।
गरिबीका कारणले खानेपानीको महशुल तिर्न नसक्दा विद्युत कार्यालयले बिजुलीको लाइन काटिदिएको छ। आयोजना बन्द छन् । जनता डोको बोकेर पधेरामा जानुपर्ने बाध्यता सिर्जना भएको उहाँले बताउनुभयो ।
लिफ्टिङ खानेपानी आयोजनामा प्रयोग हुने महशुल सरकारले तिर्नुपर्ने व्यवस्था मिलाउन उहाँले माग गर्नुभयो ।

वर्षौंदेखि कुरा चलेको सिद्धबाबा सुरुङ्ग मार्ग बनाउने काम अझै सुरु हुन नसकेको बारे उहाँले संसदमा कुरा उठाउनुभयो । ´बुटवलदेखि तानसेनसम्मको सडकलाई सुरक्षीत बनाउन सकिएको छैन` गैरेले भन्नुभयो ´सुरुङ्ग मार्गको कामलाई तत्काल सुरु गर्नु पर्छ ।` र बुटवल -तानसेन सडकखण्ड स्तरोन्नति गर्ने कामलाई जतिसक्दो छिटो सुरु गर्न उहाँले माग गर्नुभयो ।

अधुरो रहेको तानसेन हुँदै हार्थोक छहरा, तानसेन चिलाङ्दी हुँदै राम्दी, तानसेन हुँदै बासटारी झडेवा र तानसेन आर्यभन्ज्याङ रामपुर सडकलाई पूर्णरूपमा  निर्माण गर्नुपर्नेमा गैरेले जोड दिनुभयो ।

आवश्यक बजेटको व्यवस्था गरेर राम्दी-रानीघाट- रिडीसम्मको कालीगण्डकी करिडोरको सडक सुचारु गर्न उहाँले भन्नुभयो ।

प्रभावकारी कानुन बनाएर बाँदर नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्