Ad imageAd image

खराब कर्जा बढ्दै जाँदा समस्यामा बैंकिङ क्षेत्र, तत्काल ब्याजदर नघट्ने

खबर खुराक
खबर खुराक ४ फाल्गुन २०७९, बिहीबार
3 Min Read
Aa

४ फागुन काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अधिकांश वाणिज्य बैंकको खराब कर्जा बढेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको गत पुस मसान्तसम्मको तथ्यांकअनुसार वाणिज्य बैंहरूको खराब कर्जा औसत १.३१ प्रतिशतले वृद्धि भएको छ ।

सञ्चालनमा रहेका २२ वाणिज्य बैंकमध्ये राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा भने घटेको छ ।

कोभिडको समयमा दिएको छुटले अहिले खराब कर्जा बढेको नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी बताउँछन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले बजारमा गएको ऋण समयमा नै नउठ्दा बैंकहरूको व्यवसाय अहिले तनावपूर्ण अवस्थामा रहेको जानकारी दिए ।

“अहिलेकै अवस्थामा बैंकको ब्याजदर घट्दैन । बाहिर बैंकको ब्याजदर बढी भयो भन्ने जुन किसिमको चर्चा चलेको छ, त्यो यथार्थ हैन,” उनले भने, “हामीले सर्वसाधारणको पैसाबाट डिपोजिट गरेर व्यवसाय गर्ने हो । उनीहरूलाई हामीले तोकिएको समयमा तोकिएको ब्याज दिनुपर्ने हुन्छ । बैंकको कस्ट बढिरहेको छ । तर, बजारमा गएको ऋण उठेको छैन । यसले बैंकिङ क्षेत्र अहिले दबाबमा छ ।”

- Advertisement -
Ad image

नेपालको बैंकिङ क्षेत्र बाह्य आर्थिक गतिविधिले गर्दा पनि प्रभावित भएको केसीको भनाइ छ । अझै पनि बैंकहरू पर्ख र हेरको अवस्थामा रहेको उनले बताए । अहिलेकै अवस्था रहिरहने हो भने अझै पनि तरलतामा चाप आउने देखिएको उनको भनाइ छ ।

तर, अर्थतन्त्रका केही सूचकले आगामी दिनमा सकारात्मक दिशातर्फ जाने देखिएको उनले बताए । “बजारमा बैंकले ब्याजदर बढी तोकेको भन्ने आवाज आएको छ । तर, तत्काल ब्याजदर घट्ने संकेत देखिँदैन,” उनले भने, “डिपोजिटरको रकमको सुरक्षा हामीले दिनुपर्ने हुन्छ । हामीले जनताको पैसा चलाएका छौँ ।हामीले भनेको समयमा डिपोजिटरको रकम तिरिरहेका छौँ । खराब कर्जाले गर्दा बैंकिङ क्षेत्र अहिले चापमा छ ।”

त्यस्तै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले बैंकमा लगानी गर्नेहरू अहिले सबै घाटामा रहेको बताएका छन् । पछिल्लो समय बजारमा हल्ला गरेजस्तो बैंकको नाफा नभएको उनले बताए ।

“यस्तै अवस्था रहने हो भने बैंकका लगानीकर्ता पलायन हुने निश्चित छ । हामी भाग्नुपर्ने अवस्था आउन सक्छ । जनताको पैसालाई हामीले सुरक्षा दिने हो र तोकिएको ब्याज पनि दिने हो,” उनले भने, “खराब कर्जा कोभिटले गर्दा बढ्यो । पुँजीगत खर्च कम भयो भने डिपोजिट पनि घट्छ । त्यसैले बैंकहरू अहिले समस्यामा छन् ।”

माइक्रोफाइनान्सको गतिविधिलाई लिएर केही समूहले गलत सूचना प्रचारप्रसार गरेको पनि ढुंगानाले बताए ।

प्रतिक्रिया दिनुहोस्