४ फागनु वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले लागु औषधसहित चार जनालाई पक्राउ गरेको छ । सर्लाहीको लालबन्दी नगरपालिका-८ बस्ने १९ वर्षीय राजु मन्सुरी, लालबन्दी–७ बस्ने २० वर्षीय राजु राना मगर, १९ वर्षीय विशाल मोक्तान, धादिङको गजुरी नगरपालिका-२ बस्ने २० वर्षीय अजय तामाङ पक्राउ परेका हुन् ।
प्रहरीले फागुन ३ गते बुधबार साँझ ७ बजे वीरगञ्ज महानगरपालिका वडा नं.१६ मा रहेको डाँफे होटलबाट उनीहरुलाई पक्राउ गरेको थियो । प्रहरी चौकी बसपार्कको टोलीले उनीहरुको साथबाट प्रतिबन्धित लागु औषध बरामद गरेको प्रहरीको दावी छ ।
उनीहरुलाई प्लाष्टिकको झोलामा लुकाएर ल्याउँदै गरेको प्रतिबन्धित लागु औषध डाइजेपाम, नुरफिन, फेनारगन ५०/५० एम्पुल गरी जम्मा १५० एम्पुल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
लागु औषध सहित उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा लागु औषध सम्बन्धि मुद्दा अत्याधिक आउने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्