५ फागुन सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका वडा नम्वर २ बाट चीन जोड्ने उत्तरी तातोपानी नाका पूर्ण रुपमा खुलाउन चीनले सीमा सुरक्षामा जोड दिएको छ । बिहीबार तीन वर्षपछि नेपाल–चीनको बोर्डर मितेरी पुलमा नेपाल र चीनका सरकारी अधिकारीबीच आमनेसामने भएको छलफलमा चीनले सीमा सुरक्षाको विषयलाई प्राथामिकता दिएको हो ।
नेपालबाट सिन्धुपाल्चोकका जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सार प्रमुख तथा चीनका न्यालम काउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमन, सुरक्षा निकायलगायतका अधिकारीबीच बैठक भएको हो । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेकाअनुसार यस छलफलमा चीनका उच्च अधिकारीले नाकालाई स्थायी रुपमा सञ्चालन गर्न सीमा सुरक्षालाई नेपालले अत्यन्त सबल अपनाउनुपर्ने भन्दै यसबारे नेपालको धारणा माग गरेका हुन् । ‘चीन नाका खोल्न सकरात्मक देखिन्छ, तर सीमा सुरक्षाबीच ‘क्रस बोर्डर क्राइम’का सम्बन्धमा पर्याप्त छलफल आवश्यक रहेकोमा चिनियाँ अधिकारीको चासो देखिन्छ’ प्रजिअ न्यौपानेले भने ।
कोरोना भाइरस (कोभिड १९) को बहानामा यसअघि वि च्याटमार्फत् अधिकारीहरुबीच भर्चुअल बैठक मात्रै हुन्थ्यो । ०७७ सालमा दुवै देशका स्थानीय अधिकारीले मितेरी पुलमा पाँच मिटर टाढा रहेर बैठक र छलफल गरेका थिए । त्यसपछि यो नै पहिलो प्रत्यक्ष बैठक हो । सीमाक्षेत्रमा कोरोनाको जोखिम नभएकाले भौतिक रुपमा महत्त्वपूर्ण बैठक र पहलकदमी गर्न सकिएको उनले बताए । तीन वर्षपछि भौतिक बैठक र छलफल भएपनि चिनियाँ र नेपाली अधिकारीबीच पूर्ण रुपमा नाका खोल्नेबारे सहमति भएको छैन । ‘उनीहरुले सुझाव मात्रै मागेका छन्, यो प्रारम्भिक चरणको छलफल हो,’ उनले भने । चीनबाट हुने निकासी वस्तुको जाँच गर्न खासाको रमितेमा चीनले निकासी घर, भवन, अन्य आवश्यक पूर्वाधार संरचना निर्माण भइरहेको जानकारी गराएको छ ।
बैठकमा नेपालबाट प्रजिअ न्यौपाने र चीनबाट न्यालम अध्यागमन इन्स्पेक्सन स्टेसनका प्रमुख सियाङ जुनले धारणा राखेर छलफल अघि बढाएका थिए । भूकम्पका कारण चार वर्ष ठप्प रहेको यो नाका कोरोनाका कारण पुनः प्रभावित रहृयो । कोभिडकालपछि चीनको खासा र न्यालम क्षेत्रमा थन्किएका डेढ सय कन्टेनरका रेडिमेड र अन्य सामाग्री राजधानी पुर्याउने लक्ष्य राखेर ‘आइसोलेट एरिया’सहित नाका सञ्चालनमा ल्याइयो । तर, तातोपानी नाका पुनः पहिलेझैं चल्ने आसमा बसिरहेका व्यापारी, कन्टेनर, होटेल व्यवसायी निराश छन् । नाका खण्डहरझैं हुँदा निराश भएको सीमाभेगका जनप्रतिनिधिले बताएका छन् । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानिधी केसीले हाल दैनिक मुस्किलले चार वटा मात्रै सीमित कन्टेनर भित्रिने गरेकोले राजस्व वृद्धि समेत हुन नसकेको बताए । ‘आर्थिक वर्ष ०७६/०७७ मा दिनहुँ ४० देखि ५० वटा कन्टेनर भित्रिन्थ्यो, त्यतिखेर राजस्व मात्रै एक अर्ब ५९ करोड संकलन भयो, तर यसपटक लक्ष्यको ३५ प्रतिशत मात्रै जम्मा भएको छ’ उनले भने । यी महिनाभर आएका कन्टेनरबाट फलफूल, लत्ताकपडा, इन्डस्ट्रियल मेट्रियलजस्ता सामाग्री भित्रिएका छन् । त्यही कन्टेनर आएको बेला भन्सारको काम हुन्छ, अरुबेला पुरै कार्यालय सुनसान हुन्छ ।
प्रतिक्रिया दिनुहोस्