Ad imageAd image

कुशल र दीपेन्द्रको अर्धशतकले स्कटल्यान्डमाथि नेपालको सानदार जित

खबर खुराक
खबर खुराक ५ फाल्गुन २०७९, शुक्रबार
4 Min Read
Aa

५ फागुन काठमाडौँ । कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले स्कटल्यान्डविरुद्ध विश्वकप लिग-२ मा ३ विकेटको सानदार विजय हात पारेको छ । नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २ सय ७५ रनको लक्ष्य १८ बल अगाडि नै पूरा गर्‍यो।

लिग-२ मा नेपालको यो लगातार दोस्रो जित हो । कुशल भुर्तेलको शतक र कप्तान रोहित पौडेलको ७२ रनमा नेपालले मंगलबार नामिबियामाथि २ विकेटको विजय हात पारेको थियो । नेपालले स्कटल्यान्डलाई पराजित गरेको यो केवल दोस्रो पटक हो ।

कुशल र दीपेन्द्रले छैटौं विकेटमा १ सय रनको साझेदारीले नेपाललाई लक्ष्य पूरा गरेको हो । कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्का प्रहार गरी ८१ रन बनाए । सन् २०२० मा अमेरिकाविरुद्ध आफ्नो डेब्युमा ५० रन बनाएयता कुशलको यो पहिलो अर्धशतक हो । उनले गुलशन झासँग सातौं विकेटमा ४३ रनको साझेदारी गरे । दीपेन्द्र ८५ रन बनाई अविजित रहे । उनले १ सय १६ बल खेली ८ चौका र १ छक्का प्रहार गरे । गुलशनले २८ बलमा १ चौका प्रहार गरी २७ रन बनाए । दीपेन्द्रले सोमपालसँग आठौं विकेटमा ५५ रनको अविजित साझेदारी गरे । विजयी चौका प्रहार गरेका सोमपालले ३२ बल खेली ३ चौका प्रहार गरी २४ रन बनाए ।

क्रिस सोलको पहिलो ओभरमा कुशल भुर्तेलले ४ चौकासहित २३ रन जोडे पनि नेपाल त्यसपछि पतन हुन पुगेको थियो । सोलले भुर्तेललाई १६, ज्ञानेन्द्र मल्ललाई ४ र आसिफ शेखलाई ९ रनमा आउट गरे । रोहित ६ र सन्दीप जोरा ५ रनमा आउट भएपछि नेपालले ११ ओभरमा ७७ रन बनाउदा ५ विकेट गुमाइसकेको थियो ।

- Advertisement -
Ad image

यसअघि माइकल लिस्कलले अविजित १ सय ७ रन बनाएपछि टस हारेर ब्याटिङमा आएको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ७४ रन बनाएको थियो ।

लिस्कले ७९ बलमै शतक पूरा गरेका थिए । यो उनको पहिलो शतक पनि हो । उनले कुल ८५ बल खेली ३ चौका र ९ छक्का प्रहार गरे । उनले सोक्रममा ६५ रन बनाउदा एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका थिए ।

लिस्कले मार्क वाटसँग आठौं विकेटमा ७६ रन जोडेका थिए । वाटलाई अन्तिम ओभरमा आसिफ शेखले २० रनमा रनआउट गरे । उनले ३१ बल खेल्दै १ चौका प्रहार गरे ।

त्यस्तै ज्याक जार्भिसले ३८ बलमा १ चौका र १ छक्कासहित २६, ब्रान्डन म्याकमुलेनले २२, क्रिस ग्रेभ्सले १६ रन बनाए । म्याथ्यु क्रस २ रनमै आउट भए । २५ ओभरभित्र १ सय ११ रन बनाउँदा नेपालले ६ विकेट लिइसके पनि स्कटल्यान्ड त्यसपछि झन आक्रामक खेलेको थियो ।

स्कटल्यान्डको इनिङ्समा नेपाली स्पिनर हावी भए । कुशलले दुवै ओपनर क्रिस्टोफर म्याकब्रिज (२२) र कप्तान रिची बेरिङटन (१९) लाई आउट गरि नेपाललाई सानदार सुरुआत दिलाएका थिए । त्यसमा सन्दीप लामिछानेले ३ विकेट लिए । उनले १० ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिए ।

नामिबियासँगको खेलबाट नेपालले ललित राजवंशीको स्थानमा गुलशन झालाई खेलाएको थियो । ललितले नामिबियाविरुद्ध कुनै विकेट लिन सकेनन् । करण केसी, सोमपाल कामीपछि नेपाली टोलीमा तेस्रो फास्ट बलरको रुपमा खेलेका अलरान्डर गुलशनले २ ओभरमा १८ रन खर्चे । करणले ९ ओभरमा १ मेडन राख्दै ६८ रन खर्चन पुगे । सोमपालले ९ ओभरमा ५२ रन खर्चेर इनिङ्सको अन्तिम बलमा १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्