Ad imageAd image

चीन र अमेरिकी विदेशमन्त्रीबीच भेटवार्ता, रुसलाई सहयोग नगर्न चेतावनी

खबर खुराक
खबर खुराक ७ फाल्गुन २०७९, आईतवार
2 Min Read
Aa

७ फागुन काठमाडौं । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले चिनियाँ विदेश मन्त्री वाङ यीसँगको भेटमा युक्रेनमा रुसको आक्रमणका लागि घातक हतियारको सहयोग नगर्न चेतावनी दिएका छन् । यस्तै भेटका क्रममा अमेरिकी विदेश मन्त्रीले कथित चिनियाँ जासुसी बेलुनले संयुक्त राज्य अमेरिकाको हवाई क्षेत्रको उल्लङ्घनको विषयको निन्दा गरेका छन् ।

दुई वरिष्ठ कूटनीतिज्ञहरूबीच शनिबार जर्मनीको म्युनिखमा भएको ग्लोबल सुरक्षा सम्मेलनको साइडलाईनमा भेटवार्ता भएको हो। त्यसको केही घण्टाअघि वाङले संदिग्ध चिनियाँ जासूसी बेलुनलाई अमेरिकाले खसालिएको विषयमा चलिरहेको विवादलाई उन्मादपूर्ण भन्दै आक्रोश पोखेका थिए।

वाशिंगटनले राष्ट्रपति जो बाइडेनको आदेशमा अमेरिकी लडाकु विमानले त्यो बेलुन खसालेपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनेको छ। यस्तोमा पश्चिमले युक्रेनमा रुसी आक्रमणमा चीनको समर्थनलाई समेत नजिकबाट हेरिरहेको छ।

एनबीसी न्युजको ‘मिट द प्रेस विथ चक टोड’ मा आइतबार बिहान प्रसारित अन्तर्वार्तामा ब्लिन्केनले चीनले रुसलाई घातक सहयोग प्रदान गर्ने विचार गरिरहेकोमा अमेरिका धेरै चिन्तित रहेको भन्दै आफूले वाङलाई त्यसो गरेमा दुई देशबीचको सम्बन्धमा गम्भीर नतिजाहरू आउन सक्छन् भनेर भनेर स्पष्ट पारेको बताएका छन् ।

- Advertisement -
Ad image

म्युनिखको ग्लोबल सेक्युरिटी सम्मेलनको प्यानलमा बोल्दै वाङले रुस र युक्रेनबीचको युद्ध रोक्न शान्ति वार्ताका लागि आह्वान दोहोर्‍याएका छन् । उनले युद्धको अन्त्य कसरी गर्ने भन्ने बारे युरोपेली देशहरूलाई शान्त भएर सोच्न सुझाव दिएका छन् ।

वाङसँगको भेटमा ब्लिन्केनले कथित चिनियाँ जासुसी बेलुनको आक्रमणको निन्दा गरेको र ‘यस्तो घटना फेरि कहिल्यै नहोस् भनेर जोड दिएको,’ उनले ट्विटमा लेखेका छन्।

अमेरिकाले यो बेलुनलाई लिएर आक्रोश पोखे पनि चीनले भने गल्ती स्वीकारेको वा माफी मागेको छैन । चीनले यो सामान्य मौसमी तथ्याङ्क सङ्कलन गर्ने बेलुन भएको भनेको छ भने यसले बरु गत वर्ष मात्रै १० वटा अमेरिकी बेलुन आफ्नो वायु क्षेत्रमा प्रवेश गरेको भन्दै अमेरिकालाई धेरै टीकाटिप्पणी गर्नु भन्दा अघि सोच्न भन्दै जवाफ दिएको छ।

प्रतिक्रिया दिनुहोस्