Ad imageAd image

एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्छ : ओली

खबर खुराक
खबर खुराक ७ फाल्गुन २०७९, आईतवार
2 Min Read
Aa

७ फागुन विराटनगर ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरेका छन्। विराटनगर विमानस्थलमा आइतबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले एमालेको उम्मेदवार राष्ट्रपति हुने दाबी गरेका हुन्।

नेकपा एमाले र माओवादी केन्द्रबीचको सत्ता समीकरण निर्माण हुने बेला नै यस विषयमा सहमति भइसकेको ओलीले स्पष्ट पारे। पुर्वप्रधानमन्त्री ओलीले भने, ‘राष्ट्रपति एमालेकै हुन्छ। अहिलेको सत्ता समीकरणको जन्मकुण्डलीमै त्यसबारे स्पष्ट व्याख्या गरिएको छ।’

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राष्ट्रपतिबारे कुनै सहकार्य नभएको बताउँदै आएका छन् भन्ने पत्रकारको प्रश्नमा ओलीले सबैसँग सहकार्य गर्नुपर्ने कुनै आवश्यकता नरहेको जवाफ दिए। उनले भने, ‘सबैसँग कहाँ सहकार्य हुन्छ ? माओवादी केन्द्रका कार्यकर्तासँग पनि सहकार्य गर्नुपर्छ र ?’

राष्ट्रपतिको नाम मनोनयन दर्ताको दिन सार्वजनिक

- Advertisement -
Ad image

राष्ट्रपति निर्वाचनमा माओवादी केन्द्रले एमालेको उम्मेदवारलाई सहयोग गर्ने विषयमा कुनै शंका उपशंका गर्ने ठाउँ नरहेको अध्यक्ष ओलीले स्पष्ट पारे। यसबारे पौष १० गते नै सहमति भइसकेको उनले बताए।

विराटनगर विमानस्थलमा आइतबार पत्रकारसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली। तस्बिर  : राकेश कर्ण

राष्ट्रपतिका लागि फागुन १३ गते एमालेले आफ्नो उम्मेदवार अघि सार्ने उनले जानकारी दिए। ‘राष्ट्रपतिको विषयमा तत्काल हामीले कसैको नाम लिएका छैनौं,’ उनले भने,  ‘राष्ट्रपति कसलाई बनाउने भन्ने कुरा मनोनयन दर्ताको दिन सार्वजनिक हुन्छ।’

राष्ट्रपतिमा तपाईलाई अघि सार्ने विषय पनि मिडियामा आएको छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले व्यङ्ग्यात्मक जवाफ दिए। उनले भने, ‘साथीहरुले रमाईलो प्रसङ्ग निकाल्नुभएछ।’

ज्ञानेन्द्रको गतिविधि बेकार 

यस्तै, पार्टीका केन्द्रिय सदस्य दुर्गा प्रसाईंको विषयमा सोधिएको प्रश्नमा अध्यक्ष ओलीले भीम रावलको उदाहरण प्रस्तुत गरे। पानीले आफ्नो लेभल आफैँ मिलाउँछ भन्दै उनले तर्क गरे।

पूर्वराजा ज्ञानेन्द्र शाहको विषयमा बोल्दै उनले २४० वर्षसम्म राजतन्त्रले केही गर्न नसकेको अवस्थामा गणतन्त्र आएको १५ वर्षमा मिल्ने मिलाउने कुरा गर्दै हिँड्नु अर्थहीन विषय भएको बताए। उनले पूर्वराजा ज्ञानेन्द्र शाह आफैँ अलमलमा रहेको जिकिर गरे। उनले भने, ‘ज्ञानेन्द्र जीको गतिविधि बेकार छ।’

एमाले अध्यक्ष ओली आइतबारदेखि सुरु भएको नेपाल खेलकुद महासंघको दोस्रो महाधिवेशको उद्घाटन कार्यक्रमका लागि विराटनगर आएका हुन्।

प्रतिक्रिया दिनुहोस्