Ad imageAd image

अस्ट्रेलियामा नेपाली खानाको प्रवर्द्धन गर्दै सेफ सन्तोष साह

खबर खुराक
खबर खुराक ७ फाल्गुन २०७९, आईतवार
2 Min Read
Aa

७ फागुन काठमाडौँ ।  मास्टर सेफ सन्तोष साहले अस्ट्रेलियामा नेपाली खानाको प्रवर्द्धन गर्ने भएका छन् । नेपालको खाना प्रवर्द्धनका लागि अस्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेज र प्यासिफिक हस्पिटालिटि एन्ड कुलिनरी एकेडेमी नेपालको संयोजकत्वमा आउँदो मे ३ देखि ७ सम्म ‘नेपाली फाइन डाइनिङ पप–अप इन अस्ट्रेलिया’ आयोजना हुने भएको हो ।

अस्ट्रेलियाको नेपाली रेस्टुरेन्टमा हुने कार्यक्रमको मेनुमा २० प्रकारका नेपाली खानाहरु खुवाइने भएको छ । मास्टर सेफ साहले तयार पार्ने खानामा हाँसको छोयला, साँधेको भोगटे, वरफ गोला, चिकेन म:म, सुकेको माछाको चट्नी, गुन्द्रुकको अचार, कोदोको खिरलगायतका खाना खुवाइने छ । साथमा नेपाली ऐला पनि खुवाइनेछ । खानाका लागि छिट्टै नै बुकिङ खोलिनेछ । टिकट मूल्य प्रतिव्यक्ति १८० देखि २०० अस्ट्रेलियन डलर तोकिएको छ । साथै एक दिनमा ५० जनालाई मात्र खुवाइने छ ।

कार्यक्रममा बोल्दै मास्टर सेफ साहले मेनुमा हिमाल, पहाड र तराई सबैको खाना समावेश गर्ने प्रयास गरेको बताए । यो खानाका लागि व्यक्तिले २ घण्टा ४५ मिनेट छुट्याउनुपर्छ । नेपाली खानाको प्रवर्द्धन तथा प्रचारप्रसारमा लागिरहेको बताउँदै साहले, ‘ नेपाली खाना मन पराएका छन् । लेखेर र बोलेरमात्र भएन अब विदेशीहरुलाई नेपाली खाना चखाउनु पनि पर्छ ।’

उनले केही महिनाअघि यूकेमा पनि नेपाली खाना चखाउन यस्तै कार्यक्रम आयोजना गरेका थिए । जसमा २ घण्टामै ६०० टिकट बिकेको थियो । उनले यूकेमा विदेशीहरुले देखाएको उत्साहले थप हौसला मिलेकाले यस्तो कार्यक्रम निरन्तर गरिरहने बताए । उनले भने, ‘म यस्तै कार्यक्रम मलेसिया, क्यानाडा, अमेरिकामा पनि गर्ने सोचिरहेको छु । विदेशीहरुले नेपाली स्वाद रुचाएका छन् । यस्ता कार्यक्रमले नेपाली खानाको प्रचारप्रसारमा सहयोग पुग्नेछ ।’

- Advertisement -
Ad image

एकडेमीका इन्टरनेशनल डाइरेक्टर गणेश केसीले मास्टर सेफ साहसँग सहकार्य गर्न पाउँदा खुसी लागेको भन्दै यो कार्यक्रमले नेपाली खानालाई अस्ट्रेलियामा प्रचारप्रसारमा सहयोग पुग्ने विश्वास लिएको बताए ।

प्रतिक्रिया दिनुहोस्