Ad imageAd image

केन्यालीले जिते पोखरा म्याराथन

खबर खुराक
खबर खुराक ७ फाल्गुन २०७९, आईतवार
4 Min Read
Aa

७ फागुन गण्डकी । केन्याका स्टेफेन कोस्गेइले १७ औं सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनको उपाधि जितेका छन् । कोस्गेइले लगातार पोखरा म्याराथन जितेका छन् । शनिबार पोखरा रंगशालाबाट सुरु म्याराथनमा उनले २ घण्टा २० मिनेट ७ सेकेन्डमा दूरी ४२.१९५ किलोमिटरको दौड पूरा गरे । यसअघि १६ औं संस्करणमा कोस्गेइले २ घण्टा १९ मिनेट ४३ सेकेन्डमा दूरी पूरा गरेका थिए ।

केन्याकै अर्का धावक जुलियस ओहोमे दोस्रो भए । ओहोमे ३० सेकेन्ड पछाडि रहे । उनले २ घण्टा २० मिनेट ३७ सेकेन्डमा दूरी पूरा गरे । आर्मीका होमलाल श्रेष्ठ तेस्रो भए । उनले २ घण्टा २५ मिनेट २४ सेकेन्डमा दूरी पूरा गरे । कोस्गेइले ५ लाख, ओहोमेले ३ लाख र तेस्रो भएका होमलालले २ लाख रुपैयाँ पुरस्कार पाए ।

महिलातर्फ हाफ म्याराथन पुलिसकी राजपुरा पछाईंले जितेकी छन् । उनले २१ किलोमिटरको दूरी १ घण्टा २१ मिनेट ११ सेकेन्डमा पूरा गरिन् । एपीएफकी वृन्द्राधन्के श्रेष्ठले १ घण्टा २६ मिनेट २८ सेकेन्डमा दूरी पूरा गर्दा तेस्रो भएकी आर्मीकी पूर्णलक्ष्मी न्यौपानले १ घण्टा ३१ मिनेट ४ सेकेन्ड लगाइन् । राजपुराले १ लाख ५० हजार, वृन्द्राले १ लाख र पूर्णलक्ष्मीले ७५ हजार पुरस्कार पाए ।

१० किमि महिलातर्फ एपीएफकी आशा रावतले जितेकी छन् । उनले ५० मिनेट १२ सेकेन्डमा दूरी पूरा गर्दै ३० हजार प्राप्त गरिन् । पुलिसकी धाविका बृष्मा कुमाल ५० मिनेट २९ सेकेन्डबाट दोस्रो भइन् । आर्मीकी कल्पना खड्का ५१ मिनेट ०६ सेकेन्डबाट तेस्रो भइन् ।

- Advertisement -
Ad image

पुरुष १० किमि दौडमा आर्मीका धावक सञ्जय श्रेष्ठ विजेता भए । उनले ३६ मिनेट २९ सेकेन्डबाट ३० हजार पुरस्कार जिते । आर्मीकै धावक सुवास कार्की दोस्रो भए भने पाँचथरका दीपक सुहाङ तेस्रो भए । सुवासले ३६ मिनेट ५४.९ सेकेन्ड र सुहाङले ३७ मिनेट लगाए । उनीहरूले क्रमशः २० र १५ हजार पुरस्कार पाए । गण्डकी प्रदेशस्तरीय प्रतिस्पर्धामा लमजुङका रामजी बस्नेतले उपाधि जिते । उनले २ घण्टा ४१ मिनेट ३२ सेकेन्ड लगाए । उनले ५० हजार प्राप्त गरे । गोखराका नीरज भट्ट क्षेत्री दोस्रो भए । उनले २ घण्टा ४५ मिनेट १३ सेकेन्डबाट ३० हजार पुरस्कार जिते । गोरखाका श्याम मगरातीले २ घण्टा ५० मिनेट १३ सेकेन्डबाट तेस्रो स्थान हात पारे । उनले २० हजार पाए ।

रुटको समस्यै समस्या

पोखरा म्याराथनमा बेलायतबाट सहभागी हुन आएका थिए, पाण्डव महतो । क्यान्सर लागेर निको भएका उनी विश्वका धेरै म्याराथनमा सहभागी हुने गरेको दाबी गर्छन् । उनी लन्डन म्याराथनका लागि तयारीस्वरुप पोखरा म्याराथनमा भाग लिन आएको बताउँछन् । तर उनले पोखरामा म्याराथन पूरा भने गर्न सकेनन् । कारण हो, संकेतहरू नराखिनु । ‘बाटोमा सिंग्नल देखाउने कोही भएनन्, बाटै नचिनेर फर्कनुपर्‍यो,’ उनले भने । उनी १० किमि दौडिएपछि आएको चौबाटोबाट कुन रुट दौडने नै बिर्सेपछि पोखरा रंगशालामै फर्केका थिए । ‘दौडिन त १५ किलोमिटर दौडिएँ, ५ किलोमिटर त भौतारिँदै दौडेको हुँ,’ आफ्नो गुगल म्याप देखाउँदै भने ।

धावकहरूले पोखरा म्याराथनमा रुटका कारण समस्या झेलेको प्रतिक्रिया दिए । महिलातर्फ हाफ म्याराथनमा पहिलो भएकी राजपुराले पनि प्रतियोगिता पुरस्कार र निरन्तरताका हिसाबले राम्रो भए पनि रुट भने ठीक नभएको बताइन् । ‘अप–डाउन छ, रुटचाहिँ अलि ठीक भएन,’ उनले भनिन् ।

म्याराथनमा दोस्रो भएका जुलियसले पनि आफूले रुटमा धेरै समस्या झेलेको सुनाए । एक–एक किलोमिटरमा ‘मार्क’ राख्नुपर्ने भए पनि मार्क नराख्दा दौड्ने खेलाडी झुक्किएको उनको अनुभव छ । रुटमा पर भाग्दा ट्राफिकको पनि समस्या झेलेको उनको अनुभव छ । ‘रुट मनपरेन, व्यवस्थित नै थिएन । अर्को वर्ष सुधारिन्छ भन्ने आस छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्