Ad imageAd image

राष्ट्रपतिबारे छलफल गर्न माओवादी केन्द्रले बोलायो पदाधिकारी बैठक

खबर खुराक
खबर खुराक ८ फाल्गुन २०७९, सोमबार
3 Min Read
Aa

८ फागुन काठमाडौं । राष्ट्रपतिको उम्मेदवारबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाइएको छ। सोमबार दिउँसो ४ बजे पेरिस डाँडामा पदाधिकारी बैठक बोलाइएको माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए। उनका अनुसार बैठकमा राष्ट्रपति निर्वाचन, पार्टीको सांगठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

माओवादी केन्द्र आफूले उम्मेदवारी नदिने भएपनि राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रयास गरेको छ। तर राष्ट्रिय सहमतिको कुरा गर्दा गर्दै माओवादी नै सत्ताबाट बाहिरने सम्भावना पनि त्यतिकै छ। राष्ट्रपति निर्वाचनमा साझा उम्मेदवारको कुरा उठाएर एमालेलाई संशकित बनाएको माओवादी केन्द्रको हातबाट कांग्रेस पनि खुस्किन सक्छ।

पुस १० गते प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा एमालेबाट राष्ट्रपति बनाउने ‘भद्र’ सहमति भएपनि माओवादीले भने राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने भन्दै एमालेलाई सहयोग नगर्ने संकेत दिएको छ । राष्ट्रिय सहमतिको आधारमा राष्ट्रपति छनोट हुनुपर्ने माओवादीका नेताहरुले बताउन थालेपछि वर्तमान गठबन्धन टुट्न सक्ने संशय पनि रहेको छ।

पुस २६ मा कांग्रेसले पनि प्रधानमन्त्रीमा दाहाललाई विश्वासको मत दिएपछि राजनीतिले नयाँ मोड लिएको थियो। कांग्रेसले विश्वास मत दिएपछि प्रधानमन्त्री प्रचण्डसहित माओवादी केन्द्रका अधिकांश नेताहरूले राष्ट्रिय सहमतिका आधारमा साझा व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने सार्वजनिक रुपमा बोल्न थालेका छन्।

- Advertisement -
Ad image

माओवादी जता उतै बहुमत

प्रधानमन्त्री दाहालले राष्ट्रपतिका विषयमा छलफल गर्न खोजेपछि आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेता बालुवाटर पुगेका थिए।

‘विगतमा संविधानको रक्षार्थ उभिएका शक्तिहरू मिलेर अघि बढ्दा राम्रै हुन्छ भन्ने प्रस्ताव हामीले राख्यौं। पुरानै गठबन्धन गरौं। स्थानीय तह, प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनमा जनताले दिएको जनमतलाई हेरौं’, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले भने, ‘हामी सफल भएकै थियौं। त्यतातिर पनि सोचौं भन्यौं। हाम्रो कुरामा प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया दिनुभएको छ। अब सोमबार माओवादीको पदाधिकारीको बैठक छ। त्यहाँ कांग्रेससँग भएका कुरा पनि राख्छु भन्नुभएको छ।’

कांग्रेसका नेताहरुले राष्ट्रपतिको विषयमा माओवादीले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएपछि जवाफमा प्रधानमन्त्रीले पार्टीको आधिकारिक निर्णय लिनकै लागि पदाधिकारी बैठक बोलाएको र बैठकबाटै औपचारिक घोषणा हुने बताएका छन्।

कांग्रेसको धारणा बुझेपछि प्रधानमन्त्री प्रचण्डले आज पार्टीको पदाधिकारी बैठक आह्वान गरेका छन्। राष्ट्रपति निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन पनि हुन सक्ने देखिन्छ। पुरानै पाँच दलीय गठबन्धनलाई बिउँत्याएर अघि बढ्ने गरी छलफल भइरहेको छ। यो गठबन्धनमा पनि राष्ट्रपति निर्वाचनका लागि स्पष्ट बहुमत छ।

राष्ट्रपति निर्वाचनमा वर्तमान गठबन्धनकै निरन्तरता हुनसक्छ। एमालेले प्रस्ताव गरेको उम्मेदवार नै राष्ट्रपति हुन सक्छन्। जसले गर्दा प्रचण्डको नेतृत्वकै सरकारले निरन्तरता पाउँछ। अहिलेको सत्तारुढ गठबन्धनसँग राष्ट्रपति निर्वाचनका लागि पनि स्पष्ट बहुमत छ। माओवादी कै नेताहरु पनि वाम गठबन्धन आवश्यक भएकाले वर्तमान सत्ता साझेदार दलबाटै उम्मेदवार बनाउनुपर्ने बताउँदै आएका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले भने एमालेले उठाएको उम्मेदवार नै राष्ट्रपति हुने दाबी गर्दै आएका छन् । उनले माओवादीप्रति शंका-उपशंका गर्नु नपर्ने धारणा राख्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्