Ad imageAd image

नेपाली टिमको छनोट मंगलबार

खबर खुराक
खबर खुराक ८ फाल्गुन २०७९, सोमबार
2 Min Read
Aa

८ फागुन काठमाडौँ । १६ औं एसियन क्रसकन्ट्री च्याम्पियनसिपमा सहभागी हुने नेपाली टिमको छनोट फागुन ९ गते मंगलबार गोकर्णमा हुने भएको छ । नेपाल एथलेटिक्स संघले दोस्रोपल्ट आयोजना गर्न लागेको च्याम्पियनसिपबारे स्थानीय प्राविधिक निर्देशक चन्द्रबहादुर गुरुङले आइतबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘च्याम्पियनसिपमा व्यक्तिगत चार स्पर्धा र एक टिम हुनेछ र सबै स्पर्धामा नेपाली ५–५ खेलाडी सहभागी हुनेछन् ।’

क्रसकन्ट्रीमा नेपालीको प्रदर्शन र स्तरबारे उनले भने, ‘हामीले दक्षिण एसियालीस्तरमा पदक जितेको भए पनि एसियन च्याम्पियनसिपमा सफलता पाएको छैन ।’ टिम छनोटपछि दसदिने शिविर सञ्चालन गर्ने सोच भएको पनि उनले बताए । एसियन एथलेटिक्स एसोसिएसनको प्रतियोगिता ‘एसियन क्रसकन्ट्री च्याम्पियनसिप’ फागुन २३ गते गोकर्णमा हुनेछ, जसमा सिनियर महिला र पुरुषका १० किलोमिटर तथा २० वर्षमुनिका जुनियर पुरुषको ८ किमि र महिला जुनियरको ६ किमि समावेश छन् ।

‘सबै कुरा एउटै ठाउँमा र व्यवस्थित भएकाले प्रतियोगिता स्थलका रूपमा गोकर्ण छनोट गरिएको हो,’ नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले भने, ‘एसियन एथलेटिक्समा ४५ देश समावेश छन् । ती देशबाट २ सय ६० देखि ३ सय खेलाडी प्रतिस्पर्धा गर्न नेपाल आउन सक्ने एसियन एथलेटिक्सले जानकारी दिएको छ ।’ च्याम्पियनसिपको प्राविधिक पक्ष पनि एसियन एथलेटिक्सले सम्हाल्ने उनले बताए ।

च्याम्पियनसिप आयोजनामा ३ करोड ६५ लाख ५५ हजार ५ सय रुपैयाँ खर्च हुने संघले जनाएको छ । ‘प्रदेश सरकारले नीति तथा कार्यक्रममै एसियन क्रसकन्ट्रीका लागि ३० लाख छुट्याएको छ,’ वाग्मती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले भने, ‘एसियन एथलेटिक्सले २५ हजार अमेरिकी डलर (करिब ३२ लाख ८२ हजार रुपैयाँ) दिनेछ । सरकार, स्थानीय तह र निजी क्षेत्रबाट बाँकी बजेट ल्याउनेछौं ।’

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्