Ad imageAd image

अध्यागमको सर्भर बारम्बार किन हुन्छ डाउन ?

खबर खुराक
खबर खुराक ९ फाल्गुन २०७९, मंगलवार
2 Min Read
Aa

९ फागुन काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको सर्भर सोमबार पुनः डाउन भयो । यसअघि पनि पटकपटक अध्यागमनको अनलाइन प्रणालीमा समस्या आउँदा घण्टौंसम्म सेवा प्रभावित हुने गरेको थियो ।

सोमबार मध्यान्हदेखि सर्भर डाउन हुँदा सयौं यात्रु अलपत्र परे । एक घण्टा बढी अनलाइन प्रणाली अवरुद्ध भएपछि सेवा नियमित भएपनि फेरि समस्या निम्तिन नदिन सरकारले स्पष्ट योजना ल्याउन सकेको छैन ।

”वैकल्पिक व्यवस्था गरेपछि सोमबारको समस्या समाधान भयो,” त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका सूचना अधिकारी गणेश आचार्यले भने । सर्भर डाउन कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए ।

‘यहाँ सबसिस्टम धेरै छ । इन्टरनेट, इन्ट्रानेट, इन्टरपोल, जीआईडीसी र टेलिकम सबैसँग जोडिन्छ यो । एउटा कुनै सबसिस्टममा समस्या आउँदा अध्यागमन विभागको सबै सिस्टम प्रभावित हुने गरेको छ,” उनले भने ।

- Advertisement -
Ad image

एक घण्टाभन्दा बढी सर्भर डाउन हुँदा सो समयमा यात्रुको फ्लाइट ‘डिले’ भएको थियो । उक्त समयमा भिसा जारी गर्न नसक्दा सयौं यात्रु अलपत्र परेका थिए ।

नेपाली र भारतीय यात्रुको काम म्यानुअल्ली गरेपनि विदेशी नागरिकको काम रोकिएको थियो ।

”अघिल्लो समय सरकारी डेटा सेन्टर जीआईडीसीको सर्भर डाउन हुँदा समस्या आएको थियो,” सूचना अधिकारी आचार्यले भने, ”आज के कारण समस्या भएको भन्ने खोजिरहेका छौँ ।”

यस्ता समस्या बारम्बार आउन थालेपछि वैकल्पिक लोकल सर्भर जडानको काम भइरहेको उनले सुनाए ।

”लोकल सर्भर जडान हुँदा अन्त कहीँ समस्या आयो भने पनि अध्यागमनको काम सामान्य तरिकाले चल्छ । सजिलै डेटा ट्रान्सफरको काम हुन्छ । हामी छिट्टै नयाँ सर्भर जडानको काम सम्पन्न गर्छौँ,” उनले भने ।

प्राविधिक काममा सामान बजारमा नपाइएकाले सर्भर जडान ढिलो भएको उनले उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्