१० फागुन काठमाडौँ । नेपालमा राष्ट्रपति निर्वाचनलाई लिएर विभिन्न समीकरण र नामहरू बाहिर आइरहेको बेलामा नेपालका लागि चिनियाँ राजदूत छन् सङले राजनीतिक भेटवार्तालाई सक्रिय बनाएका छन् । राजदूत छन् बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटर पुगेका हुन् ।
राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समय दिन दुई दिन बाँकी रहँदा राजदूत छन्ले नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका हुन् ।
नेपाल आएपछि राजदूत छन्को प्रधानमन्त्री दाहालसँग यो दोस्रो भेटवार्ता हो । यसअघि उनीहरूबीच माघ २ मा बालुवाटारमै पहिलो भेटवार्ता भएको थियो । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले भेटवार्ताबारे जानकारी दिँदै राजदूत छन् बोआओ फोरमको निम्तो दिन बालुवाटार आएको बताए । चैत १४ देखि १७ सम्म चीनको हैनान प्रान्तमा हुँदै छ । परराष्ट्र स्रोतका अनुसार उक्त निम्तो दाहाललाई यसअघि नै निम्तो आइसकेको हो र उक्त फोरममा जाने वा नजाने भन्ने निर्णय मन्त्रिपरिषद्ले गर्न बाँकी नै छ ।
राजदूत दाहालले यसअघि शुक्रबार बेलुकी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । त्यसबेला प्रधानमन्त्री दाहालले ओलीलाई भेटेर निस्केलगत्तै चिनियाँ राजदूत छन् ओली निवासमा दूतावासका आफ्ना दुई अधिकारीहरूसहित पुगेका थिए ।
राष्ट्रपति निर्वाचनको सम्बन्धमा भारतपछि चीनले पनि आफ्नो सक्रियता देखाएको हो । भारतका विदेश सचिव विनयमोहन क्वात्राले फागुनको १ र २ मा भएको दुईदिने औपचारिक भ्रमणका दौरानमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहालसहित एक दर्जनभन्दा बढी नेताहरुसँग भेटवार्ता गरेका थिए । क्वात्राले प्रधानमन्त्री दाहालँग फागुन १ गत राती करिब दुई घण्टा ‘वान टु वान’ गोप्य वार्ता गरेर फर्केका थिए ।
उक्त भ्रमण भएको तीन दिनपछि सत्ता गठबन्धनको मुख्य साझेदार एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न राजदूत छन् पुगेका थिए । आफ्नो नयाँ जिम्मेवारी सम्हाल्न आएपछि चिनियाँ राजदूत छन्ले प्रधानमन्त्री दाहालभन्दा अघि ओलीलाई मात्र दुईपटक भेटेका हुन् । यस अघि राजदूत छन् र ओलीबीच बालकोटमै माघ ४ मा भएको थियो ।
योसँगै चीनले पनि नेपालको पछिल्लो राजनीतिक अवस्था र राष्ट्रपति निर्वाचनमा चासो दिएको संकेत गरेको छ ।
चीनले यस्तै सक्रियता एमाले र माओवादी मिलेर बनेको नेकपा निर्माण र त्यसलाई जोगाउने क्रममा देखाएको थियो । त्यस बेला नेपालका लागि तत्कालीन चिनियाँ राजदूत होउ यान्छीले नेकपा एकीकरण गर्न र पछि नेकपालाई जोगाई राख्न घरदैलो गरेकी थिइन् । चिनियाँ चासोका बाबजुद तत्कालीन नेकपा टिकिरहन सकेन । स्रोतका अनुसार चीन लामो समयदेखि वामगठबन्धन चालिरहेको छ । ‘त्यहीअनुसार नेकपा बन्न र त्यस बेलाको नेकपा विवाद मिलाउनको लागि चीनले भूमिका खेलेको थियो,’ चीनलाई नजिकबाट बुझेका एक अधिकारीले भने,‘अहिले वामगठबन्धनकै सरकार टिकाउन र राष्ट्रपतिको चयन पनि साझेदारीमै हुँदा चीनले राम्रो ठान्छ ।’
चिनियाँ राजदूत छन्को सक्रियता र भारतीय राजदूत क्वात्राको नेपाल भ्रमण अघि काठमाडौंमा अमेरिकाका तीन वरिष्ठ अधिकारीहरुले नेपालको भ्रमण गरेका थिए भने बेलायत र युरोपेली संघबाट पनि भ्रमण भएको थियो । अमेरिकासहित पश्चिमा मुलुकले नेपालबारे चासो राखे पनि उनीहरुले नेपालका अधिकारीहरुसँग गोप्य रुपमा भेटवार्ता गरेका थिएनन् । तर क्वात्राले प्रधानमन्त्री दाहालसँग र चिनियाँ राजदूत छन्ल् ओली र दाहालसँग गोप्त भेटवार्ता गरिरहेका छन् । दाहालको गोप्य भेटवार्ताहरु र ओलीको भेटवार्तामा कुनै पनि परराष्ट्र मन्त्रालयका अधिकारीहरु समेत सामेल गरिएको छैनन् । साथै, भारतीय विदेश सचिव क्वात्राले कांग्रेस सभापति शेरबहादुर देउवालाई फागुन १ मा भेट्दा पनि परराष्ट्र मन्त्रालयका अधिकारीहरु सामेल थिएनन् ।
प्रतिक्रिया दिनुहोस्