१० फागुन काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रपतिमा महन्थ ठाकुरको नाममा राष्ट्रिय सहमति गर्न नेपाली कांग्रेससँग आग्रह गरेको छ । बुधबार बिहान उक्त पार्टीका शीर्ष नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूलाई भेटेर राष्ट्रपतिमा लोसपाका अध्यक्ष ठाकुरको नाममा राष्ट्रिय सहमति गर्न आग्रह गरेका हुन् ।
धुम्बाराहीस्थित देउवा निवासमा बुधबार बिहान अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ल, अनिलकुमार झालगायत नेताहरूले राष्ट्रिय सहमतिका लागि ठाकुर सबैभन्दा उपयुक्त पात्र हुने प्रस्ताव गरेका हुन् ।
‘प्रधानमन्त्रीजीले राष्ट्रिय सहमतिको प्रस्ताव ल्याउनुभएको छ । तर अहिले कसलाई बनाउने भन्नेमा सहमति हुन सकेको छैन । कांग्रेसले प्रस्ताव गर्ने उम्मेदवारलाई एमालेले नसघाउने, एमालेले प्रस्ताव गरेको व्यक्तिलाई कांग्रेसले समर्थन गर्न नसक्ने अवस्था छ,’ कांग्रेस नेताहरूसँग भेटपछि नेता सर्वेन्द्रनाथ शुक्लले भने, ‘हामीले एमाले र कांग्रेससहित सबै दललाई सहज हुने गरी हाम्रो पार्टीका अध्यक्ष महन्थ ठाकुरजीलाई राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउन प्रस्ताव गरेका हौँ । उहाँको व्यक्तित्व, योगदानलगायत सबै कुराले उहाँ उपयुक्त हुनुहुन्छ ।’
उनले भेटमा कांग्रेस सभापति देउवाले त्यसबारे पार्टीले अहिलेसम्म कुनै पनि निर्णय नलिएको भन्दै ठाकुरको नाममा राष्ट्रिय सहमति गर्ने विषयमा समेत छलफल गर्ने आश्वासन दिएको बताए ।
नेता अनिलकुमार झाले राष्ट्रपतिको निर्वाचनका विविध पक्षहरूमाथि छलफल भएको बताए । ‘अहिले सबै सम्भावनाहरू र सम्भावित गठबन्धनहरूका विषयमा पनि छलफल भयो । तर हामीले हाम्रै अध्यक्षजीलाई राष्ट्रपति बनाउन राष्ट्रिय सहमतिको वातावरणका लागि आग्रह गर्यौँ, उहाँहरूले पनि हुदैन, हुन्नँ भन्नुभएको छैन,’ उनले भने, ‘त्यसबारे पछि पार्टीमा छलफल गर्ने भन्नुभएको छ ।’
लोसपाले यसअघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर समेत नेता ठाकुरलाई राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउन आग्रह गरेका थिए । ‘हामीले हिजो प्रधानमन्त्रीजी र एमाले अध्यक्षजीलाई भेटेर त्यसबारे प्रस्ताव गरिसकेका छौँ, अहिले कांग्रेसलाई पनि त्यसबारे प्रस्ताव राख्यौँ,’ नेता शुक्लले भने, ‘प्रमुख दलहरूबीच आपसमा सहमति नबनेको अवस्थामा हामीले अहिलेको परिस्थितिमा निकास निस्किने गरी ठाकुरलाई राष्ट्रपति बनाउन अग्रसरता लिएका हौँ ।’
यसअघि ११ पुसमा बनेको एमाले–माओवादीसहितको सात दलीय गठबन्धनमा एमालेबाट राष्ट्रपति बनाउने सहमति थियो । तर, अहिले माओवादीले त्यसबेलाको सहमतिविपरीत राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने प्रस्ताव अघि सारेपछि गठबन्धनमा चिसो पसेको छ । माओवादीले अप्रत्यक्षरुपमा एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग नजिकिन खोजेपछि एमाले अध्यक्ष ओलीले नै लोसपा अध्यक्ष ठाकुरलाई राष्ट्रिय सहमति गरेर राष्ट्रपति बनाउने प्रस्ताव अघि सारेका थिए ।
संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले भने राष्ट्रपतिको निर्वाचनमा आफैँले उम्मेदवारी दिने भन्दै आएको छ । कांग्रेस नेताहरू राष्ट्रपति निर्वाचनपछि कांग्रेस र माओवादीसहितको पुरानै पाँचदलीय गठबन्धन ब्युँतिने दाबी गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्