Ad imageAd image

दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाइँदै

खबर खुराक
खबर खुराक १० फाल्गुन २०७९, बुधबार
2 Min Read
Aa

१० फागुन काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्डले उपभोक्तालाई भार पर्नेगरी दूधको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव गरेको छ । दाना चोकर, मुद्रास्फीति, ढुवानी खर्च, उद्योगीको खर्च बढेको निष्कर्ष निकाल्दै बोर्डले मूल्य बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा प्रस्ताव गरेको हो ।

‘किसान, उद्योगी, बजारसहित अध्ययन गरेर अध्ययन समितिले प्रतिवेदन बनायो । प्रतिलिटर १० रुपैयाँ बढाउन प्रस्ताव सहितको प्रतिवेदन मन्त्रालयमा बुझाएका छौं,’ बोर्डका कार्यकारी निर्देशक राजेन्द्र प्रसाद यादवले भने, ‘मूल्य बढाउने प्रस्ताव मन्त्री र सचिवज्यूले अध्ययन गर्दै हुनुहुन्छ । मन्त्रिपरिषद्‌ले स्वीकृति दिएपछि कार्यान्वयनमा जान्छ ।’

बोर्डले सबै पक्षमा अध्ययन गरेर मूल्य बढाउने प्रस्ताव गरेको दाबी गरेपनि उपभोक्ताकर्मीले भने एकलौटी निर्णय स्वीकार्य नहुने बताउँछन । किसानको नाममा उद्योगीलाई फाइदा हुने मूल्यले उपभोक्ताको ढाड सेकिने उनीहरु बताउँछन् । ‘दूधको गुणस्तर सुधारमा चासो छैन । पर्याप्त अध्ययनबिना किसानको नाममा बढाइने मूल्यले बजारलाई धेरै प्रभाव पार्छ । दूधको मूल्यसँगै दुग्धजन्य अन्य वस्तुको मूल्य समेत बढ्छ,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले भने, ‘किसानलाई बचाउने बहानामा मूल्य बढाउने खेल भयो । बोर्डले मूल्य बढाउन प्रस्ताव गरेपनि मन्त्रिपरिषदले स्वीकार गर्नुहुँदैन ।’

किसानको हकहितका लागि दानामा सहुलियत, उन्नत जातका बाच्छा, बिउ, सहुलियत कर्जामा जोड दिनुपर्ने उनले बताए । त्यस्तै, बजारमा पर्ने प्रभावलाई अध्ययन नगरी बढाइने मूल्यको विरोध हुने उनले बताए । यसअघि ०७८ माघ २८ मा दूधको फ्याटका आधारमा प्रतिलिटर ९ देखि १४ रुपैयाँसम्म मूल्यवृद्धि भएको थियो । मूल्यवृद्धिको कारण देखाउँदै डेरी उद्योग संघले गत पुस १६ मा एकलौटी रुपमा प्रतिलिटर १४ रुपैयाँ बढाएको थियो । चौतर्फी विरोधपछि संघले मूल्यवृद्धि स्थगन गरेको थियो ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्