Ad imageAd image

नेकपा एसले राष्ट्रपतिको उम्मेदवारबारे सबै दलसँग संवाद गर्ने

खबर खुराक
खबर खुराक १० फाल्गुन २०७९, बुधबार
2 Min Read
Aa

१० फागुन काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रपतिको उम्मेदवार र सम्भावित समीकरणका विषयमा सबै राजनीतिक दलसँग संवाद गर्ने निर्णय गरेको छ । आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रपतिको उम्मेदवारका विषयमा संसद्‌‌मा रहेका सबै राजनीतिक दलसँग संवादको ढोका खुला राख्ने निर्णय गरेको हो ।

सो पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सकेसम्म राष्ट्रिय सहमति गरेर सर्वसम्मतरुपमा राष्ट्रपति चयन गर्नुपर्नेमा पार्टीको जोड रहेको बताए । ‘हामीले सकेसम्म सर्वसम्मतरुपमा राष्ट्रपति चयन गरौँ भनेका छौँ । यदि राष्ट्रिय सहमति हुँदैन भने हामी सम्भावित समीकरणका लागि सबै दलसँग छलफल गर्न तयार छौँ,’ उनले भने, ‘तर राष्ट्रपति निर्वाचनकै समीकरणमा सामेल हुने गरी कुनै पनि दलसँग हाम्रो पार्टी एकता हुँदैन ।’

उनले आफूहरू दलभन्दा बाहिरबाट राष्ट्रपति बनाउने पक्षमा समेत नरहेको दाबी गरे । बैठकमा अध्यक्ष माधवकुमार नेपालले पछिल्ला राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका थिए । बैठकले दुई वटा निर्णय गरेको प्रचार विभाग प्रमुख खतिवडाले बताए । ‘अहिले संविधानको विरुद्धमा धेरै गतिविधि भइरहेको देखिन्छ । हिन्दु राज्य बनाउनका लागि होस् वा संविधानमा भएका व्यवस्थाहरू मास्नका लागि होस्,’ उनले भने, ‘ती सबै प्रतिगामी कदमकाविरुद्ध हामी अग्रगमनका पक्षधरहरू शक्तिहरूसँग संवाद गर्ने र लोकतान्त्रिक शक्तिहरूलाई एकताबद्ध गर्ने पक्षमा उभिने निर्णय भएको छ ।’

उनले राष्ट्रपति बन्नका लागि नेकपा एसलाई कसैले पनि प्रस्ताव नगरेको दाबी गर्दै पछि कसैले त्यस्तो प्रस्ताव गरेमा सम्भावित समीकरणका लागि सबैसँग संवादको ढोका खुला राख्ने निर्णय भएको बताए ।

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्