फागुन ११, पाल्पा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले आयोजना गरेको ‘खेलकुद महोत्सव तथा अध्यक्ष कप प्रतियोगिता-२०७९ बुधबार सम्पन्न भएको छ ।
तीन दिनसम्म चलेको महोत्वसमा विभिन्न विधाका खेल प्रतियोगिताहरू भएका थिए ।
६ विधामा १९ वटा खेल सम्पन्न भएका थिए । ५७ पदकका लागि प्रतिस्पर्धा भएको थियो ।
पुरूष तथा महिला भलिबल, फुटबल, क्रिकेट, एथ्लेटिक्स, व्याडमिन्टनलगायतका खेलहरू भएका गाउँपालिका उपाध्यक्ष तथा खेल संयोजक सावित्रा कोइरालाले बताउनुभयो । वडास्तरीय खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा वडा नम्बर ५ प्रथम भएको छ। ५ स्वर्ण, ५ रजतसहित १० पदक जितेर दोस्रो स्थान हासिल गर्न सफल भएको हो।
वडा नम्बर ७ दोस्रो भएको छ । यो वडाले ५ स्वर्ण, १ रजत ५ कास्य गरी ११ पदक हात पार्न सफल भएको छ ।
यस्तै‚ वडा नम्बर १ तेस्रो भएको छ। ४ स्वर्ण, १ रजत, ६ कास्य गरी ११ पदक हात पार्दै तेस्रो हुन सफल भएको हो ।
विजेता टिम तथा खेलाडीलाई शिल्ड, मेडल, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिएको थियो । ४ लाख ५४ हजार बराबर नगद पुरस्कार वितरण गरिएको हो ।
यहाँ युवा र खेलाडीको माग अनुसार खेल महोत्सव संचालन गरेको गाउँपालिका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो । लुकेर रहेका खेलाडीको प्रतिभालाई बाहिर ल्याउनका लागि यो महोत्सवले सहयोग गर्ने उहाँले बताउनुभयो । खेलले यहाँको पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुन्छ । खेलाडीको विकास हुँदै जाने र दक्ष र क्षमतावान खेलाडी उत्पादन हुने छन् । यहाँ उत्पादन भएका खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने र यहाँको गौरव बढ्ने उहाँले विश्वास गर्नुभयो ।
महोत्सवको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मंगलबार उद्घाटन गर्नुभएको थियो ।
गाउँपालिकाले २०७५ सालदेखि खेलकुद महोत्सव तथा अध्यक्ष कप प्रतियोगिता संचालन गर्दै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले बताउनुभयो ।
खेल प्रतियोगिताले खेलाडी उत्साहित भएको उहाँले बताउनुभयो ।
मिर्मी र भपेङ खेल मैदानमा भएको प्रतियोगिता हेर्ने दर्शकको दैनिक भीड लागेको थियो ।
प्रतिक्रिया दिनुहोस्