Ad imageAd image

४ वर्षमा ८ ठेकेदार, प्रगति १० प्रतिशत

खबर खुराक
खबर खुराक १२ फाल्गुन २०७९, शुक्रबार
3 Min Read
Aa

१२ फागुन दाङ । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुर–७ पर्सेनीमा चार लेन बनाउन थालेको चार वर्ष पूरा भयो । यसबीच करिब १० प्रतिशत मात्रै काम भएको छ । डेढ वर्षमा काम सक्ने गरी भएको ठेक्का सम्झौताको म्याद पाँच पटक थप भइसकेको छ ।

चार लेन बनाउन भत्काउन थालेयता यस सडकमा भएका दुर्घटनामा २५ जनाको ज्यान गइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कर्ण मल्लले बताए । हालसम्म ५९ वटा दुर्घटना भएको र त्यसमा ८१ सवारीसाधन परेको उनले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ९४ जना घाइते भएका छन् । सडक भत्काएर अलपत्र छोड्दा र बीचबीचमा खाल्डा हुँदा दुर्घटनाको जोखिम रहेको उनले बताए । ‘सडक साँघुरो भएका कारण सवारीसाधन सञ्चालनमा धेरै सावधानी अपनाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘यति छोटो दूरीको सडकमा धेरै मानवीय तथा भौतिक क्षति भइसक्यो ।’

सडकको दुवैतिर बाटो काटेर छोडिएको छ । गाडी सजिलै पास हुन सक्ने अवस्था छैन । छेउमा गए गाडी पल्टिने, सडकमै रहे अर्कोसँग ठोक्किने अवस्था छ । ठूल्ठूला खाल्डा खनेर छाडिएको छ । जोखिमपूर्ण सडकमा कति बेला कसको ज्यान जान्छ, भरै छैन ।

सरकार र भारतको एक्जिम बैंकको ऋण सहयोगमा २०७५ माघ १४ मा सम्झौता भई सडक निर्माण सुरु भएको हो । घोराहीको बबई खोलादेखि तुलसीपुरसम्म २८.१९ किलोमिटर सडक फोर लेन तथा दुई लेन बन्दै छ । बबईदेखि घोराही बजारसम्म ६.५३ किमि दुई लेन, घोराहीदेखि थापाचोक सर्रा ४.०५ किमि फोर लेन, थापा चोकदेखि नारायणपुर ३.५ किमि दुई लेन, नारायणपुरदेखि खैरा २.१ किमि फोर लेन, खैरादेखि दुधराससम्म ३.७ किमि दुई लेन र दुधरासदेखि तुलसीपुरसम्म ८.३१ किमि चार लेन निर्माण गर्ने योजना छ ।

- Advertisement -
Ad image

सुरुमा २०७७ वैशाख २९ सम्म सडक निर्माण गर्नुपर्ने सर्त थियो । समयमा काम सम्पन्न नभएपछि २०७८ जेठ ६ सम्म, २०७८ साउन २७ सम्म, २०७८ पुस १९ सम्म, २०७९ वैशाख २९ सम्म र २०८० असार ३१ सम्म सक्ने गरी पटक–पटक म्याद थपिएको छ । म्याद थप भए पनि अहिले फिल्डमा कुनै काम भइरहेको छैन । सडक निर्माणको म्याद पाँच पटक थप्दा पनि भौतिक प्रगति ९.६९ र आर्थिक प्रगति १४.२३ प्रतिशत मात्रै भएको चार लेन सडक आयोजना कार्यालय लमहीका प्रमुख आशिष थापाले बताए । ‘निर्माण कम्पनीले ठूलो लापरबाही गरिरहेको छ । काम गर्ने प्रतिबद्धता गरेर म्याद थपाउने तर काम नगर्ने प्रवृत्तिले सडकको दुर्दशा भएको छ,’ उनले भने, ‘सडकमा हेर्दा नतिजा केही देखिएको छैन । सडकको अवस्था सुधार नभएपछि म्याद थपको पनि उपलब्धि भएको छैन ।’

प्रतिक्रिया दिनुहोस्