Ad imageAd image

कम बोल्दा कति फाइदा ?

खबर खुराक
खबर खुराक १२ फाल्गुन २०७९, शुक्रबार
6 Min Read
Aa

पूर्खाहरु भन्छन्- एक तोलाको जिब्रो फड्कार्नुभन्दा डेढ धार्नीको टाउको हल्लाउनु बेस ।’ अर्थात् अनावश्यक बोल्नुभन्दा चुपचाप बस्नु ठीक छ ।

बोल्नमा हामीलाई कुनै बन्देज त छैन । त्यसैले बोल्नका लागि मुख बार्ने चलन छैन, हामीसँग । त्यसैले आफ्नै बोलीले बेलाबखत हामीलाई फन्दामा पार्छ । त्यसैले त जान्नेबुझ्नेहरु सतर्क गराउँछन्, ‘बन्दुकको गोली र मुखको बोली निस्केपछि फर्कंदैन ।’ अर्थात् बेलाबखत हामी यस्तो घातक कुरा बोल्छौं, जसलाई पुनः सुधार्ने मौका हामीसँग हुँदैन ।

बोल्नका लागि हामीले अतिरिक्त बल खर्च गर्नुपर्दैन । न त्यसका लागि कुनै खर्च लाग्छ, न आवाजको भण्डार नै ह्रास हुन्छ । त्यसैले हामी मनको कुरा मुखमा ल्याइहाल्छौं ।

विद्वानहरु सुझाउँछन्, ‘कम बोल्नु धेरै सुन्नु ।’

- Advertisement -
Ad image

के त्यसो भए धेरै बोल्नु हानिकारक नै छ ? धेरै बोल्दा के बेफाइदा हुन्छ ?

धेरै बोल्नुको बेफाइदा ?

बोल्नु अनावश्यक होइन । संवादका क्रममा वा आफ्नो विचार, धारणा व्यक्त गर्ने क्रममा बोल्नुपर्ने हुन्छ । साथै भलाकुसारी, हाँसो ठट्टा वा कुनैपनि कुराकानी गर्नुपर्दा बोल्नैपर्छ । तर हामी त्यतिमा मात्र सीमित रहँदैनौं ।

हामीलाई चाहिने, नचाहिने कुरामा बोल्नुपर्छ । केही देखेमा, केही सुनेमा तुरुन्तै प्रतिक्रिया दिनुपर्छ । दिमागमा कुनै सोच आउनासाथ बोलेर व्यक्त गर्नुपर्छ । यसरी हामी अनावश्यक रुपमा पनि धेरै बोलिरहेका हुन्छौं । जहाँ बोल्न जरुरी हुँदैन, त्यहाँ पनि हामी भएभरको शक्ति लगाएर बोलिरहेका हुन्छौं । यसरी जथाभावी बोल्नुको पाँच बेफाइदा यस्ता छन् ।

१. शरीर विज्ञानले भन्छ, हाम्रो इन्द्रियले जे–जति काम गर्छ त्यसले शरीरमा सिञ्चित ऊर्जा खर्च गरिरहेको हुन्छ । यसरी नै हामीले बोल्दा पनि सिञ्चित ऊर्जा खर्च हुन्छ । तपाईंले ख्याल गर्नुभएकै होला, एकोहोरो धेरै समयसम्म चर्को स्वरले बोलेपछि तपाईंमा थकान अनुभव हुन्छ । एक किसिमको शिथिलता अनुभव हुन्छ ।

२. धेरै बोल्ने मान्छेलाई अरुले हल्का रुपमा लिन थाल्छन् । जुनसुकै कुरामा टिप्पणी गर्ने, प्रतिक्रिया दिने, जथाभावी बोल्ने मान्छेको बोलीमा तौल हुँदैन । उनीहरुले बोलेको कुरामा मान्छेले कमै विश्वास गर्छन् र उनीहरुको बोलीमा कमै चासो पनि राख्छन् ।

३. कहिलेकाहीं भावावेगमा आएर हामी यस्तो कुरा बोल्छौं, जसले पछि पछुतो मात्र हुन्छ । हामीले बोलेका कुराहरु सच्याउन कठिन हुन्छ । कसैलाई होच्याएर बोलिएका कुरा होस् वा कुनै कुरामा आफ्नो अज्ञानतावश गरिएको टिप्पणी । हामीलाई त्यसले पछि समस्यामा पार्छ ।

४. धेरै बोल्ने मान्छेलाई अरुले चाँडै मूल्यांकन गर्छन् । उनी कस्ता हुन्, कस्तो मनोविज्ञानका हुन्, के सोच्छन्, कसो गर्छन् ? अरुले सहजै थाहा पाउँछन् ।

५. धेरै बोल्ने मान्छेसँग साथीभाइ आफन्तहरु सकेसम्म टाढा रहन खोज्छन् । एकोहोरो बोल्ने मात्र भएकाले उनीहरुको कुरा सुन्न मान्छेलाई सास्ती हुन्छ । त्यसैले धेरै बोल्ने मान्छेसँग साथीभाइ अलि टाढिन्छन् ।

के हुन्छ कम बोल्दा ?

कम बोल्नुको अर्थ यो होइन कि आवश्यक परेको अवस्थामा पनि मौन रहनु । खासमा त आवश्यक अवस्थामा मात्र सही ढंगले, सही कुरा बोल्नु हो । आवश्यक मात्रामा बोल्दा शारीरिक र मानसिक लाभ मिल्छ । यसले एकातिर शरीरमा सिञ्चित ऊर्जा शक्ति नष्ट हुँदैन भने अर्कोतिर अनावश्यक फन्दामा पर्दैन ।

मौनता वा शान्त रहँदा शरीरका भित्री अंगहरुलाई समेत प्रत्यक्ष लाभ पुग्छ । योगलगायत प्रक्रियामा यही मौनताको अभ्यास गराइन्छ, जसले मुटु, रक्तसञ्चार, श्वासप्रश्वास प्रक्रिया आदिलाई सही राख्न ठोस सघाउ पुग्छ ।

विपश्यनाजस्ता ध्यान विधिमा मौन रहनुको फाइदा के छ भनी प्रत्यक्ष अनुभव गर्न सकिन्छ । हाम्रा पूर्खाहरुले मौन रहनुको फाइदा बुझेरै ‘मौन व्रत’ लगायतका अभ्यासहरु गर्दै आए । मौन रहँदा मात्र होइन, अनावश्यक बोल्ने बानी कम गर्दा पनि धेरै किसिमको लाभ मिल्छ ।

ऊर्जा सञ्चित हुन्छ

तपाईं जति धेरै बोल्नुहुन्छ, त्यति नै तपाईंको शरीरको ऊर्जा खर्च हुन्छ । बोल्दा मस्तिष्क, मुख आदि एकसाथ काम गर्छ । त्यसैले कम बोल्दा शरीरमा ऊर्जा बचत हुन्छ । त्यसैले सकेसम्म कम बोल्नुहोस् । जसले गर्दा तपाईंको ऊर्जा सञ्चित हुन्छ त्यो ऊर्जालाई तपाईं अन्य काममा खर्च गर्न सक्नुहुन्छ ।

ज्ञान बढ्छ

धेरै बोल्नेहरूले आफूलाई थाहा भएभन्दा बढी बोल्छन् र अरूको कुरा पनि सुन्दैनन् । कम बोल्ने व्यक्तिले अरूको कुरा बढी सुन्छन् । उनीहरूले अरूको कुराबाट केही न केही सिक्ने मौका पाइरहेका हुन्छन् । कम बोल्ने र धेरै सुन्ने व्यक्तिले नयाँ नयाँ जानकारी पाउँछन् र प्राप्त जानकारीलाई राम्ररी उपयोग पनि गर्न सक्छन् ।

पछुतो हुँदैन

धेरै बोल्दा धेरै पटक हाम्रो मुखबाट यस्ता शब्द निस्कन्छन्, जसले अरूको मन दुख्छ । कैयौं पटक आपसमा झगडामा परिणत हुन्छ । तर कम बोल्नेहरूले यस्ता समस्याको सामना गर्नु पर्दैन ।

धेरै बोल्ने व्यक्तिलाई कहिलेकाहीं आफूले के बोलिरहेको छु भन्नेसम्म पनि याद हुँदैन । धेरै बोल्ने व्यक्तिले आफ्नो व्यक्तिगत कुरा पनि अरूलाई सुनाइरहेका हुन्छन् । जसले गर्दा त्यो व्यक्तिको व्यक्तिगत कुरा पनि अन्य व्यक्तिलाई थाहा हुन्छ । त्यसैले कम बोल सोचेर भएर बोल भनिन्छ ।

कम बोल्ने व्यक्ति गम्भीर हुन्छन्

जो व्यक्ति कम बोल्छन् उनीहरू कुनै पनि काम गम्भीरतापूर्वक गर्छन् । त्यस्ता व्यक्तिले अरूको विश्वास पनि जित्छन् । काम पर्दा मात्र बोल्ने व्यक्ति कुनै कुराको ठोस जानकारी हुँदा मात्र बोल्छन् । कम बोल्दा कुरामा गाम्भीर्य झल्किन्छ, जसकारण सबैले उक्त व्यक्तिको कुरा सुन्न चासो मान्छन् ।

कम शब्दले धेरै कुरा बताउन सक्छन्

कम बोल्नेहरूको विशेषता यो हो कि कम शब्दमा धेरै कुरा बताउन सक्छन् । जसले गर्दा उनीहरूले बोलेको कुरा अरूलाई याद गर्न सजिलो हुन्छ । उनीहरूको कुरा सुन्न कोही हिच्किचाउँदैनन् । कम बोल्ने व्यक्तिले घुमाएर कुरा गर्नुको साटो कम शब्दमा स्पष्ट रूपमा आफ्नो कुरा राख्छन् ।

समयको बचत

जब मानिसले कम बोल्ने बानी बसाल्छ तब उसले समय पनि बचाइरहेको हुन्छ । धेरै बोल्ने व्यक्तिले अरुसँग गफ गरेर धेरै समय खेर फालिरहेको हुन्छ । कम बोल्ने व्यक्तिले अरुसँग अनावश्यक गफ गर्नमा समय खेर फाल्दैन र अन्य महत्त्वपूर्ण काम गर्न समय हुन्छ ।

प्रतिक्रिया दिनुहोस्