Ad imageAd image

‘युक्रेनमाथिको आक्रमण दोस्रो विश्वयुद्धपछिकै ठूलो भूमियुद्ध’

खबर खुराक
खबर खुराक १२ फाल्गुन २०७९, शुक्रबार
2 Min Read
Aa

१२ फागुन काठमाडौँ ।  रुसले युक्रेनमाथि गरेको आक्रमणलाई अमेरिका, युरोपेली संघसहित नेपालस्थित ११ वटा कूटनीतिक नियोगहरूले दोस्रो विश्वयुद्धपछिकै ठूलो भूमियुद्धको रुपमा व्याख्या गरेका छन् ।

शुक्रबार रुसले युक्रेनमा आक्रमण गरेर द्वन्द्व भएको एक वर्ष पुगेको सन्दर्भमा नेपालस्थित ११ वटा कूटनीतिक नियोगहरूले एक वक्तव्यमार्फत भनेका छन्, ‘एक स्वतन्त्र राष्ट्रमाथि रुसले गरेको आक्रमणले विद्यालय तथा स्वास्थ्य संरचनाहरूलाई ध्वस्त पारेको छ । यो दोस्रो विश्वयुद्धपछिकै ठूलो भूमियुद्ध बन्न पुगेको छ ।’ रुसले सन् २०२२ को फेब्रुअरी २२ मा युक्रेनमाथि आक्रमण गरेको थियो ।

यसरी संयुक्त रुपमा वक्तव्य जारी गर्ने राष्ट्रहरूमा अमेरिकी दूतावास, नेपालस्थित युक्रेनको अवैतनिक महावाणिज्यदूत, अस्ट्रेलियाली दूतावास, बेलायती दूतावास, युरोपेली संघ, फिनल्यान्ड दूतावास, फ्रान्सेली दूतावास, जर्मन दूतावास, जापानी दूतावास, दक्षिण कोरियाली दूतावास र नर्वेजियन दूतावास छन् ।

‘एक वर्षअघि भ्लादिमिर पुटिनले युक्रेनको भूमि, युक्रेनी जनता र युक्रेनको सार्वभौमसत्ताविरुद्ध एक अनुचित युद्ध सुरु गरेका थिए । त्यसयता ८ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ भने १ करोड ४० लाख जना आफ्नो घरबाट विस्थापित भएका छन्,’ वक्तव्यमा भनिएको छ ।

- Advertisement -
Ad image

वक्तव्य अधिकांश पश्चिमा मुलुक र पश्चिमा मुलुकसँग नजिक रहेका देशहरूले निकालेका छन् । ‘नेपालमा अवस्थित अन्तर्राष्ट्रिय समुदायको एक अङ्गका रूपमा हामी यस गम्भीर समयमा समेत आशावादी छौं । १२ महिनादेखि युक्रेनी जनताले साहसपूर्वक आफ्नो स्वतन्त्रताको रक्षा गर्दै आएका छन् र विश्व समुदाय उनीहरूका पछाडि एकजुट भएको छ,’ वक्तव्यमा भनिएको छ । आफ्नो देशलाई ध्वस्त पार्ने रुसको प्रयत्नलाई रोकेपछि युक्रेनी जनता पहिलेभन्दा पनि गर्वित र साहसिला बनेको वक्तव्यमा उल्लेख गरिएको छ । ‘युक्रेन विजयी हुनेछ भन्ने कुरामा हामीलाई कुनै द्विविधा छैन । हामी युक्रेनका साथ यसको स्वाधीनता, शान्ति र स्वतन्त्रताका पक्षमा आज पनि उभिएका छौं र भविष्यमा पनि उभिइरहनेछौं,’ वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्