Ad imageAd image

दिलीप हत्यामा संलग्न दुई जनालाई २५ वर्ष कैद सजाय

खबर खुराक
खबर खुराक १२ फाल्गुन २०७९, शुक्रबार
3 Min Read
Aa

१२ फागुन  जनकपुरधाम । तीन वर्षअघि क्रसर डनबाट हत्या गरिएका पर्यावरण अभियन्ता दिलीप महतो (ओमप्रकाश)को मुद्दामा जिल्ला अदालत धनुषाले तीन जनालाई दोषी ठहर गरेको छ। धनुषाका दिलीप महतोको हत्यामा जिल्ला अदालतले दुई जनालाई २५-२५ वर्ष र एक जनालाई १२ वर्ष कैद सजाय सुनाएको हो।

जिल्ला अदालत, धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले शुक्रबार कैद सजाय निर्धारण गरेको हो। अदालतले यसअघि फागुन ३ गते तीन जनालाई दोषी ठहर गरेको थियो। दिलीपको हत्यामा संलग्न रहेका विपिनकुमार महतो र मुनीन्द्र महतोलाई २५-२५ वर्ष कैद सजाय सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार विकास बस्नेतले बताए।

त्यस्तै दुवै जनालाई पाँच-पाँच लाख सजाय पनि तोकिएको छ। त्यो रकम पीडित परिवारलाई दिनुपर्ने अदालतको आदेश छ। त्यसैगरी मतियारका रूपमा कसूरदार ठहर भएका जितेन्द्रकुमार महतोलाई १२ वर्ष कैद तोकिएको छ। उनलाई २ लाख ५० हजार सजाय पनि तोकिएको छ। उनीहरूले अदालतले तोकेको रकम बुझाउन नसकेमा राज्यकोषबाट पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन पनि अदालतले आदेश गरेको छ।

अवैध उत्खनन रोक्न खोज्दा दिलीपको हत्या गरिएको थियो। त्यसमा संलग्न रहेको अभियोग लागेका सात जनामध्ये तीन जनालाई दोषी ठहर गरिएको थियो भने चार जनालाई सफाइ दिइएको थियो। दोषी ठहर भएका तीनलाई आज सजाय निर्धारण गरिएको हो।

- Advertisement -
Ad image

२०७६ पुस २५ मा खोलाको अवैध उत्खन्न रोक्न गएका धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरका २४ वर्षीय महतोको क्रसर डनले हत्या गरेका थिए। दिलीपलाई कोखमा फलामको लिभर प्रहार गरी घाइते बनाएर टिपरले किचेर निर्मम हत्या गरिएको थियो।

दिलीपको हत्यापश्चात् एक महिनाको अनुसन्धान पछि जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। उद्योग सञ्चालक विपिन लगायतले उनलाई फलामको लिभर र पेचकसले क्रूरतापूर्वक प्रहार गरेको प्रहरी अनुसन्धानबाटै पुष्टि भएको थियो। अभियोग पत्रमा दिलीपलाई यातना दिई क्रुरतापूर्वक हत्या गरेको भन्दै सात जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा ४१ बमोजिम जीवित रहेसम्म कैद सजाय माग गरिएको थियो।

दिलीपका बुबा रामजीवनले मनसायपूर्वक हत्या गरेको भन्दै चुरिया माई बालुवा प्रशोधन उद्योग सञ्चालक विपिन कुमार महतो, उनका दाइ विनोद कुमार महतो र उद्योगमा कार्यरत मुनिन्द्र महतो, जितेन्द्र महतो, सत्यनारायण महतो, शत्रुधन महतो र दिलीपका साथी रोशनकुमार यादव विरुद्ध मुद्दा दायर गरेको थियो।

उद्योग सञ्चालक विपिन तथा कर्मचारीहरु मुनिन्द्र र जितेन्द यसअघि नै जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको आदेशमा मुद्दाको फैसला नहोउन्जेलसम्म कारागारमा छन्। विनोद, रोशन, सत्यनारायण र शत्रुधनले भने मुद्दामा सफाइ पाएका छन्। उनीहरू चार जना यसअघि नै धरौटीमा छुटिसकेका थिए।

प्रतिक्रिया दिनुहोस्