१४ फागुन बैतडी। नागरिकका लागि गाउँमै चिकित्साकीय स्वास्थ्य सेवा प्राप्त होस् भनेर २०७७ मंसिरमा सरकारले तीन सयभन्दा बढी स्थानीय तहमा एकै पटक अस्पतालको शिलान्यास गरेको थियो। दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने महत्वाकांक्षी योजनासहित ५, १० र १५ शय्याका अस्पताल निर्माण गर्ने भन्दै एकैपटक शिलान्यास गरिएको भए पनि अस्पतालको निर्माण प्रगति शून्य छ।
सर्वसाधारणले गाउँमै स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने आस गरेको भए पनि निर्माण कम्पनीको लापरबाही र स्थानीय तहले तदारुकता नदेखाउँदा अस्पताल निर्माण कार्यमा चरम ढिलाइ भइरहेको छ। बैतडीको दशरथ चन्द नगरपालिकाबाहेकका ९ वटै स्थानीय तहमा १० र १५ शय्याको अस्पताल निर्माण गर्ने योजना थियो। तर केही स्थानीय तहमा निर्माण प्रक्रिया सुरु भएको छैन भने निर्माण सुरु भएका पालिकामा पनि प्रगति शून्यप्राय छ।
मेलौली नगरपालिकामा जग्गा विवादले अस्पताल निर्माणको कुनै प्रक्रिया अघि बढ्न सकेको छैन। अन्य पालिकामा पनि कुनै प्रगति छैन। शिलान्यास गरिएको दुई वर्ष पूरा हुँदा पनि हालसम्म यहाँका अधिकांश अस्पताल निर्माणमा जगसमेत बसाल्न सकिएको छैनन्।
जिल्लाको सूर्नया गाउँपालिकामा—५ मा बन्ने भनिएको १० शय्याको अस्पतालको कामसमेत सुरु भएको छैन। गत वर्ष नै ठेक्का प्रक्रिया भई काम सुरु हुने भनिएको भए पनि हालसम्म कुनै काम नभएको हो। ‘गत वर्ष नै निर्माणस्थलमा जग खन्ने काम भएको थियो, त्यसपछि कुनै काम अघि बढेन’ सूर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले भने। ठेकेदारको लापरबाहीले काम अघि बढ्न नसकेको र केही दिनदेखि काम सुरु हुने सूर्नया गाउँपालिकाका योजना शाखा प्रमुख, इन्जिनियर कपिलदेव भट्टले बताए।
पाटन नगरपालिकाले निर्माण कम्पनीसँग सम्झौता गरेको डेढ वर्ष पुग्नै लागेको छ। तर निर्माणको प्रगति शून्यप्रायः छ। सिनर्जी प्रधान जेभीले १४ करोडमा निर्माण सम्पन्न गर्नेगरी सम्झौता गरेको भए पनि अस्पताल संरचनाको फिल्ड कटिङ र वालमात्रै निर्माण भएको छ भने जगसमेत बसेको छैन।
निर्माण कम्पनीले २ करोड २० लाख रुपैयाँ पेस्कीसमेत बुझिसकेको छ। साउन महिनायता काम ठप्प छ। तीन पटक पत्राचार गरेर ताकेता गर्दा पनि निर्माण कम्पनीले अटेरी गर्दै आएको पाटन नगरपालिकाका प्रशासन शाखा प्रमुख राजेन्द्रप्रसाद भट्टले बताए।
पुर्चाैडी नगरपालिकामा पनि निर्माण व्यवसायीसँग सम्झौता भएको दुई वर्ष पुग्नै लागेको छ। निर्माण सम्पन्न गर्ने म्याद ६ महिनामात्रै बाँकी रहँदा काम सुरु भएको छ। जग्गा विवादलगायत निर्माण कम्पनीका लापरवाहीले काम रोकिएको भए पनि केही दिनदेखि काम सुरु भएको पुर्चाैडी नगरपालिकाका नगरप्रमुख दीपकबहादुर बमले जानकारी दिए।
सिगास गाउँपालिकामा पनि १५ शय्याको अस्पताल निर्माण गर्ने भनिएको भए पनि प्रक्रिया अघि बढेको छैन। हालै डीपीआर सम्पन्न भएको र रिपोर्ट मन्त्रालयमा पेस गर्ने तयारी भइरहेको स्वास्थ्य शाखा प्रमुख घनश्यामसिंह बोहराले जानकारी दिए। १८ करोड लागतमा सिगास–८ मा अस्पताल बन्ने
उनले बताए।
जग्गा विवादका कारण अस्पताल निर्माण प्रक्रिया अघि नबढेको पञ्चेश्वर गाउँपालिकामा पनि गत वर्षदेखि आन्तरिक प्रक्रिया सुरु भएको छ। पञ्चेश्वर गाउँपालिकाको केन्द्र वडा नं ४ को आमचौरामा बन्ने १० शय्याको अस्पतालको लागि डीपीआर तयार पारिएको र टेन्डर खोल्ने तयारी भइरहेको गाउँपालिकाका उपाध्यक्ष बिना भट्टले जानकारी दिइन्। ‘जग्गा विवादले ढिलाइ भएको थियो, गत वर्षमात्रै जग्गा विवाद सुल्झायौँ, अब निर्माण सुरु गर्ने तयारीमा छौँ,’ उनले भनिन्। जिल्लाको दोगडाकेदार
गाउँपालिकामा केही प्रगति भएको छ। गत वर्षदेखि निर्माण प्रक्रिया सुरु भएको र पहिलो तल्ला ढलानको तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीले बताए। दोगडाकदारमा १० शय्याको अस्पताल बन्न लागेको हो।
निर्माण व्यवसायीको लापरवाही र स्थानीय तहहरूले तदारुकता नदेखाउँदा अस्पताल निर्माणमा ढिलाइ भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। स्थानीय तहकै जिम्मेवारीमा बन्न लागेका अस्पताल निर्माणको प्रगति निकै सुस्त रहेको उनले बताए।
प्रतिक्रिया दिनुहोस्