१४ फागुन पाल्पा। पाल्पाको तिनाउ गाउँपालिकाले ४१ औं मगर एकता दिवसको अवसरमा फाल्गुन १५ गते सोमबार सार्वजनिक विदा दिएको छ । गाउँपालिकाको १२ औं गाउँसभाको निर्णय अनुसार मगर एकता तथा स्थापना दिवसको अवसरमा स्थानीय विदा दिइएको हो ।
फाल्गुन १५ गते सोमबार गाउँपालिका भित्रका शिक्षण शैक्षिक संस्था, गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय,संघ संस्था लगायत सम्पूर्ण गाउँपालिका अन्तर्गतका कार्यालयहरुमा सार्वजनिक विदा गरिएको प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
६ वडामा विभाजन गरिएको तिनाउ गाँउ पालिका २०२ वर्ग कि.मि.क्षेत्रफलमा फैलिएको छ। २०७८ सालको जनगणना अनुसार ३९८८ घरधुरी, १९,२३८ जनसंख्या रहेको गाउँपालिकामा मगर जाति ७५% दलित जाति १२%,तथा वाहुन, क्षेत्री, नेवार, गुरुङ्ग, कुमाल, थकाली लगायतका अन्य जाति १३%, र १ घरधुरी लोपोन्मुख पत्थरकट्टा(कुशवाडिया) जातिको बसोबास रहेको छ।
मगर स्थापना दिवसको अवसरमा सार्वजनिक विदा दिनुपर्ने मगर समुदायको माग रहेको छ। मगर समुदायका मौलिक परम्परा र सांस्कृतिक सवालहरुमा विचार विमर्श, मगर समुदायका नयाँ र पुराना पुस्ताका विचमा सांस्कृतिक र मौलिक ज्ञानको सामूहीक आदानप्रदान तथा भेटघाट गर्ने दिन भएकोले यो अवसर एक नागरिकको हैसियतमा सबैले पाउनुपर्ने मगर अगुवाहरुको जिकिर छ।
आफ्नो मौलिक भाषा,धर्म संस्कार र रितिरिवाज संरक्षण र पुस्तान्तरणको अधिकार हरेक नागरिकको मौलिक अधिकार रहेकाले यस दिन राज्यले सार्वजनिक विदा दिएर मगर समुदाय माथि न्याय गर्नुपर्ने मगर समुदायको माग रहेको छ।
प्रतिक्रिया दिनुहोस्