Ad imageAd image

छोराको उपचारका लागि सडकमा याचना गरिरहेका वृद्ध पिता

खबर खुराक
खबर खुराक १८ फाल्गुन २०७९, बिहीबार
3 Min Read
Aa

१८ फागुन काठमाडौं । बानेश्वर चोकको आकाशे पुलमा दिनहुँ असंख्य पाइला ओहोरदोहोर गरिरहन्छन् । ती चलायमान पाइलाहरु हेर्दा लाग्छ, यहाँ सबैलाई हतार छ । तर त्यसकै आडमा टुक्रुक्क बसेका चन्द्र मगरका लागि समय नै टक्क रोकिएजस्तो लाग्छ ।

उनलाई कहीं जानु छैन, कहीं पुग्नु छैन । बस्, दिनभर त्यहीं बसेर दुई-चार रुपैयाँ जोहो गर्नुछ । किनभने जसलाई उनले बुढ्यौलीको सहारा ठानेका थिए, उसैको सहारा बन्नुपरेको छ । २१ वर्षका कल्कलाउँदो छोरो मिर्गौला रोगले थलिएपछि उनले बुढ्यौली र विश्राम भन्न पाएनन् ।

छोराको उपचारका लागि सिन्धुपाल्चोकबाट काठमाडौं आएका चन्द्र मगर स्वयंलाई बुढ्यौलीले छोपिसकेको छ । शरीर यसै शिथिल र कमजोर छ । उनको भाँसिएको आँखा धुलोधुँवाले हो वा शोकले, रसाएको छ ।

छोरालाई उपचार गर्न भनी उनी कामठाडौं आए, चार वर्षअघि । भक्तपुरको सल्लाघारीमा डेरा लिए । सुरुमा छोरा, बुहारी र सानी नातिनी साथमा थिए । छोरालाई रोगले थला पारेपछि बुहारीले घर छाडिन् । श्रीमती दमको रोगले बितिन् । बाँकी रह्यो, रोगी छोरो र सानी नातिनी । उनीहरुको स्याहारसुसार गर्नुपर्ने जिम्मा आइलाग्यो, ७३ वर्षीय चन्द्र मगरलाई ।

- Advertisement -
Ad image

अन्ततः उपचार र घर खर्च जुटाउन उनी सडकमा आउनैपर्‍यो । सहयोगको याचना लेखिएको ब्यानर, पैसा थाप्ने प्लास्टिकको बोरा अनि अडियो प्लेयरसहितको साउन्ड बक्स बोकेर उनी कहिले बानेश्वर चोक त कहिले गोकर्ण फन्को लगाइरहे ।

दुःखमाथि दुःख थपिएपछि

गाउँमा सामान्य खेती किसानीले परिवार जेनतेन चलेको थियो । छोरो कृष्ण मगर गाउँमै होटल चलाएर परिवारको गुजारा चलाउँदै थिए । अचानक उनलाई चक्कर लाग्ने, टाउको दुख्ने समस्या देखियो ।

उनीहरुले धामी-झाँक्री गुहारे । ‘भूतप्रेत लाग्यो’ भन्दै कहिले बोका त कहिले कुखुरा बलि दिन लगाइयो । तर छोरालाई सञ्चो भएन । बरु दिनदिनै रोगले गलाउँदै लग्यो । अस्पताल लानुपर्छ भन्ने कुरा त उनीहरुलाई हेक्का थियो । तर खर्च अभावले गर्दा हिम्मत भएन । धाम-झाँकीले निको बनाइदिए ऋणपान गर्नु नपर्ने । उनीहरुले अस्पतालभन्दा धामीको भर गरे ।

झाँक्रीको उपचारले नछोएपछि उनीहरुले भएका गाईवस्तु बेचे र छोरोलाई काठमाडौं ल्याए । अस्पतालमा जँचाए । अनि पो थाहा भयो, छोराको दुवै मिर्गौला खराब भइसकेछ ।

खर्च जुटाउन सडकमा

त्यसबेला उनीसँग ऋणपान गरेको डेढ लाख रुपैयाँ पनि थियो । काठमाडौंमा कोठा भाडा लिनुपर्ने, अस्पताल धाउनुपर्ने, उपचार गर्नुपर्ने क्रममा त्यो पैसा सकिन कति समय लागेन । खल्ती रित्तियो । तर, रोग ज्यूँका त्यूँ छ । न ऋणपान गर्ने ठाउँ छ, न बेच्ने जायजेथा छ, न कुनै आय आर्जन । सडकमा उभिएर सहयोग माग्नुको विकल्प भएन ।

अस्पतालले नै सहयोगको याचनासहितको एउटा व्यानर बनाइदिए । अडियो प्लेयरसहितको साउन्ड बक्स दिए । उनी त्यही बोकेर गोकर्ण पुगे । सडक किनारमा टुसुक्क बसेर सहयोगको लागि हात फिंजाए ।

मनकारीहरुले केही सहयोग गरे । पाँच हजार रुपैयाँ जम्मा भयो, एकैदिनमा । सन्तोषको सास फेर्दै उनी डेरा फर्किए ।

त्यसपछि भने सडकमा उभिएर माग्नु उनको नियमित दिनचर्या नै बन्यो । उनी कहिले बानेश्वर त कहिले चावहिलको चक्कर लगाउन थाले । यसरी जुट्ने केही पैसाले छोराको औषधि, डेरा भाडा र रासनपानी जोहो गर्नुपर्ने बाध्यतामा छन् उनी ।

प्रतिक्रिया दिनुहोस्