१९ फागुन परासी । साबिकको अवस्थामा बुटवल–नारायणगढ पार गर्न निजी गाडीमा दुई घण्टा र बसमा करिब तीन घण्टा लाग्थ्यो । अहिले ६/७ घण्टा लाग्छ । सडक भद्रगोल भएकाले यात्रु थकित बन्छन् । यात्रा गर्नुपरेकामा गाडी चालक धिक्कार मान्छन् । अवस्था कहिले सहज हुन्छ, कुनै निधो छैन । ठेकेदार कम्पनीले निर्माणलाई तीव्रता दिएको दाबी गरे पनि अवस्था ज्युँका त्युँ छ ।
२०७५ चैत ८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रूपन्देहीको बुटवलमा यस खण्ड विस्तार कार्यको शिलान्यास गरे । तीन वर्षमा विस्तार पूरा गर्ने जानकारी गराइएको थियो । लक्ष्यअनुसार कामले गति लिएन । अहिले चार वर्ष बित्यो । उक्त मार्गअन्तर्गत बुटवल–भुमही खण्ड पार गर्न १ घण्टा ३० मिनेटभन्दा बढी समय लाग्छ । सडक विस्तार सुरु हुनुअगाडि ४५ मिनेटमा बुटवलबाट भुमही पुगिन्थ्यो । अहिले ठाउँ–ठाउँमा रहेको डाइभर्सन र सडकको खाल्टाखुल्टीले दोब्बर समय लाग्ने भएको छ ।
सडकको धूलोले गर्दा मास्क र चस्माबिना यात्रा गर्न नसकिने अवस्था रहेको पश्चिम नवलपरासीस्थित भुमहीका नवराज अधिकारीले बताए । ‘मेरो आफ्नै गाडी छ । तर, म आफ्नो सवारी लिएर बुटवल जाँदिनँ । धूलो र सवारी नै बिग्रने जोखिम भएकाले सार्वजनिक यातायात चढ्ने गरेको छु,’ उनले भने, ‘तीन महिनाअगाडि धूलोको कारण अगाडिको सडक नदेखेर दुर्घटनामा परें । काम छिटो पनि नगर्ने र धूलोरहित पनि नबनाउने ठेकेदारलाई कसले हो कारबाही गर्ने ?’ यो खण्डमा एक दर्जन स्थानमा डाइभर्सन रहेको छ भने करिब १० वटा कल्भर्ट निर्माण सम्पन्न भएका छन् । ठूला पुल निर्माणाधीन छन् । सडकको दायाँ–बायाँका बिजुलीका पोल हटाउने काम सकिएको छैन । जंगल क्षेत्रमा सडक पुर्ने काम चलिरहेको छ । जसले गर्दा निर्माणले गति लिएको महसुस भए पनि ठोस प्रगति भएको छैन । यो खण्डमा तीन वटा स्थानीय तह परे पनि कामलाई तीव्रता दिने विषयमा ठेकेदारलाई झकझकाउने काम भएको छैन ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१६ स्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार राति यात्रुवाहक बस दुर्घटनामा पर्यो । बुटवलबाट काँकडभिट्टाका लागि हिँडेको लु१ख ८५९२ नम्बरको यात्रुवाहक बसको पट्टा भाँचिएर भएको दुर्घटनामा ३९ यात्रु घाइते भए । प्रहरीको प्रारम्भिक जानकारीअनुसार सडकको जीर्ण अवस्था र खाडलका कारण पट्टा भाँचिएको हो ।
बुटवल–नारायगढ सडक विस्तार क्रममा ठेकेदार कम्पनी चाइना स्टेटले पुल, कल्भर्ट तथा अन्य संरचना बनाउँदा खाडल नपुर्दा र भत्किएको सडक मर्मत नगर्दा दिनहुँ सवारीसाधन बिग्रने र क्षति पुग्ने गरेको छ । निर्माण सुरु भएको चार वर्ष बितिसक्दा पनि यो सडक खण्डको यात्रा थप कष्टकर बन्दै गएको छ । गर्मी मौसम सुरु भइसकेकाले धूलो उडेर अगाडिको सवारीसाधन नचिनिने अवस्था छ । त्यसमाथि खाडलले साना सवारीसाधन चलाउनै मुस्किल छ । ठूला सवारीसाधन पनि निकै कम गतिमा चल्नुपर्ने अवस्था छ ।
बर्दघाट–दुम्कीबास
दाउन्ने सडकको दायाँबायाँ पहाड काटेर अहिले फराकिलो बनेको छ । सुरुमा रमाइलो र फरक अनुभूति भए पनि उकालो सुरु भएपछि सवारीको चाप र जीर्ण सडकले यात्रु र चालकको ढुकढुकी बढाउँछ । बर्दघाटबाट पूर्व दाउन्नेतर्फ लाग्नेबित्तिकै एसमोड नजिकै एकापट्टि करिब ५ सय मिटर कालोपत्र गर्न तयार पारिएको छ । जसले गर्दा दाउन्ने खण्डमा पनि धमाधम काम भइरहेको होला भन्ने यात्रुलाई लाग्छ । तर, ५ सय मिटर पर गएपछि वरपर माटो काट्ने डोजर र माटोको थुप्रोले सवारी एकतर्फी रूपमा सञ्चालन भइरहेका छन् ।
गत मंगलबार बिहान बर्दघाटबाट ३ किलोमिटर पूर्व बा४ख ७३९० नम्बरको बस पहाडतर्फ भित्तामा गएर ठक्कर खायो । दुर्घटनापछि ओहोरदोहोर प्रभावित बन्यो । यात्रु सकुशल थिए । सडक समयमा निर्माण नगर्ने भन्दै सरकार र ठेकेदार दुवै पक्षलाई गाली गर्दै यात्रुहरू अर्को सवारीमा गन्तव्यमा लागे । दाउन्ने पहाडअन्तर्गत १४ किलोमिटर खण्डको साँघुरो बाटाको चार स्थानमा डाइभर्सन छ, जसले यात्रा कष्टकर बनाउँछ । त्यसमाथि टिपरले उडाउने धूलोले अगाडिको सवारी नचिनिने अवस्थामा यात्रा गर्न यात्रु बाध्य छन् । बर्दघाटबाट दाउन्ने मन्दिर खण्डको यात्रा अझ सकसपूर्ण छ । दाउन्ने मन्दिरभन्दा पूर्व पुरानो सडक मर्मत गरेर सहज बनाइएको छ । त्यहाँबाट दुम्कीबाससम्म ७ किलोमिटर कालोपत्र छ । यस खण्डमा सडक विस्तारको काम भएको छैन । पहाड काट्न बाँकी नै छ ।
दुम्कीबास–कावासोती
दुम्कीबासदेखि कावासोतीसम्म ३० किलोमिटर दूरी छ । करिब १ घण्टा लाग्ने यो खण्डमा अहिले विभिन्न स्थानमा मालवाहक सवारीका साधन बिग्रिएका भेटिन्छन् । कहीं पट्टा भाँचिँदा त कहीं खाडल र धूलोका कारण यात्रा कष्टकर छ । बसका यात्रुलाई यात्रा सहज छैन । धूलोले भरिएको खाडलमा पर्दा सवारी दुर्घटना बढ्दो छ । मोटरसाइकल चालक त नचिनिने अवस्थामा पुग्छन् । रूख कटान सकिएको छ भने बिजुलीका पोल र खानेपानीको पाइप सार्ने काम भइरहेको छ, जसले गर्दा सडक विस्तारमा अवरोध आएको छ । यहाँका स्थानीय तहले ठेकेदार कम्पनीलाई आवश्यक नदीजन्य पदार्थ सशुल्क उपलब्ध गराउने तर आफ्नो क्षेत्रमा काम छिटो अगाडि बढाउन आग्रह गरेका छन् । ठेकेदार कम्पनी भने पुल र कल्भर्ट बनाउन मात्र लागेको छ । धूलोरहित बनाउनेतर्फ ध्यान नदिँदा राजमार्ग आसपासका स्थानीयमा श्वासप्रश्वाससम्बन्धी समस्या बढेको छ । विभिन्न स्थानमा खाडल खनेर महिनौंदेखि त्यसै छाडिएको छ भने माटोले पुरिएको स्थानमा पनि थप काम नहुँदा पहिलेकै जस्तो भएको छ ।
कावासोती–गैंडाकोट
धूलोरहित बनाउन सडकमा पानी हाल्ने र केही दिनमा नै छोड्ने प्रवृत्ति बढेपछि समय–समयमा यस खण्डमा आन्दोलन हुने गरेको छ । जनप्रतिनिधिले पनि कावासोतीस्थित ठेकेदार कम्पनीको कार्यालयसम्म पुगेर दबाब दिने गरेका छन् । कावासोतीदेखि गैंडाकोटसम्म विद्युत्को पोल र खानेपानीको पाइप सार्ने काम अन्तिम चरणमा छ । सडकको दायाँबायाँ ढल र माटो पुरेर अन्तिम चरणमा पुर्याइएको छ । अधिकांश पुल तथा कल्भर्ट निर्माण सकिएको छ भने केही स्थानमा निर्माण हुँदै छ । भेडाबारी क्षेत्रमा नमुनाका रूपमा कालोपत्र गरिएको छ । यस क्षेत्रमा पनि कामले तीव्रता पाएको छ । तर, सडक वरपर निर्माण सामग्री राखिएका कारण यात्रा कष्टकर छ । डाइभर्सन र खाडलले ३० किलोमिटरको यात्रा गर्न करिब २ घण्टा लाग्छ । बिहान १० बजे यात्रा सुरु गरे गैंडाकोटसम्म आइपुग्दा ४ बज्छ । यो खण्डमा मात्र पछिल्लो सात महिनामा ४७ दुर्घटना भएको ट्राफिक प्रहरीको तथ्यांक छ भने सडक निर्माण सुरु भएको साढे दुई वर्षमा नवलपुर क्षेत्रमा मात्र २ सय ६५ दुर्घटनामा १ सय ९ जनाले ज्यान गुमाउनुपरेको छ । यस तथ्यले पनि यो सडक कति भयावह छ भन्ने जानकारी दिन्छ ।
प्रतिक्रिया दिनुहोस्