१९ फागुन बेनी । रौटहटको यमुनामाई गाउँपालिका–३ का जाहुर आलमले म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृति माविमा तीन दशकसम्म समय अध्यापन गरे । विज्ञान विषयमा स्नातक उत्तीर्ण गरेपछि उनी जागिरको सिलसिलामा २०५० सालमा म्याग्दी आएका थिए ।
आलमलाई तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर छन्त्यालले शिक्षा कार्यालयबाट अनुमति लिएर निजी स्रोतबाट विज्ञान शिक्षकको रुपमा नियुक्त गरेका थिए । जिल्ला सदरमुकाम बेनीदेखि पैदल हिँडेर दुई दिनमा विद्यालय पुगेका आलमले सुरुआतका दिनमा अग्ला पहाड र दुर्गम बस्तीको बसाईलाई बिट मार्ने सोच बनाएका थिए । तर विद्यालयमा अध्यापन गर्दै जाँदा उनले तीन दशक एउटै विद्यालयमा बिताइदिए ।
आलमले पढाउन थालेपछि २०५१ सालदेखि कक्षा ९ को पठनपाठन सुरु गरेर उक्त विद्यालयलाई माविमा स्तरवृद्धि गरिएको थियो । विसं २०५७ देखि विद्यालयमा उनले प्रधानाध्यापकको जिम्मेवारीसमेत सम्हालेका थिए । उनले आगामी २०८० असोज ३ गतेदेखि अनिवार्य अवकाश लिँदै छन् । आलमको योगदानको कदर गर्दै स्थानीयवासी र पूर्वविद्यार्थीले भव्य सम्मान गरेका छन् ।
विद्यालयका पूर्वविद्यार्थीको पहलमा मल्कबाङ समाज युकेले आलमलाई एक लाख रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरेको छ । विद्यालयमा हालै आयोजित एक समारोहमा मल्कबाङ समाज युकेका अध्यक्ष शेर छन्त्यालले उनलाई नगदसहित सम्मानपत्र प्रदान गरे । ‘विद्यालयको स्तरवृद्धि गरी शिक्षण पेशाका माध्यमबाट आलमले पुर्यायाउनुभएको योगदानको कदर गर्दै उहाँलाई सम्मानित गरिएको हो’, अध्यक्ष छन्त्यालले भने ।
प्रतिक्रिया दिनुहोस्