Ad imageAd image

पोखराको नयाँ पर्यटकीय गन्तव्य बन्दै पचभैया प्राणी उद्यान केन्द्र

खबर खुराक
खबर खुराक २१ फाल्गुन २०७९, आईतवार
2 Min Read
Aa

२१ फागुन गण्डकी । सात तालको बगैँचा सहर लेखनाथको पचभैयामा निर्मित पचभैया प्राणी उद्यान केन्द्र सर्वसाधारणका लागि खुला भएको छ । बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रूपमा लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर प्राणी उद्यान केन्द्र निर्माण गरिएको हो ।

गण्डकी प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय कास्कीले हेर्ने गरी स्थानीयवासी, वन उपभोक्ता समितिका प्रतिनिधि र युनाइटेड क्लबका प्रतिनिधिसहितको सहभागितामा व्यवस्थापन समितिसमेत गठन गर्दै केन्द्र सञ्चालनमा ल्याइएको हो ।

खुला चिडियाखानाको अवधारणासहित सञ्चालनमा आएको केन्द्र सर्वसाधारणका लागि खुला गरिएको पचभैया प्राणी उद्यान केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीनानाथ ढकालले जानकारी दिए । उनका अनुसार केन्द्रको अवलोकन गर्न विद्यार्थीका लागि रु १५ र अन्य सर्वसाधारणका लागि रु २५ टिकट दस्तुर तोकिएको छ ।

पछिल्लो समयमा विभिन्न विद्यालयबाट विद्यार्थी केन्द्रको अवलोकनका लागि आउने गरेको बताउँदै उनले आगामी दिनमा यो पोखराको अर्को नयाँ पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गरे । केन्द्रमा पुग्ने सर्वसाधारणले त्यहाँ चितुवा, निलगाई, रतुवा मृग, चित्तल, चरीबाग, वन बिरालो, स्याल, अजिङगर, सेता गिद्ध, लाटोकोसेरो, मयुर, कछुवा आदि गरी विभिन्न २२–२३ प्रजातिका वन्यजन्तु तथा पक्षी अवलोकन गर्न पाउने उनले बताए ।

- Advertisement -
Ad image

वन्यजन्तुको अवलोकनसँगै यस क्षेत्रमा रहेका विभिन्न धार्मिक एवं सांस्कृतिकस्थलको संरक्षण र प्रवद्र्धनमा पनि जोड दिइएको ढकालको भनाइ छ । “खुला चिडियाखनासँगै यस क्षेत्रका ऐतिहासिक एवं धार्मिक महत्वका सीता गुफा, बज्रमुष्ठी मन्दिर, नागाबाबाको तपस्थलको पनि संरक्षण र विकास गर्ने हाम्रो लक्ष्य छ”, उनले भने, “यी स्थललाई पनि यहाँको पर्यटनसँग जोड्ने धेरै सम्भावना छन् ।”

प्रतिक्रिया दिनुहोस्