२२ फागुन काठमाडौं । छुयाला अर्थात् छोयला राँगाको मासुलाई पोलेर बनाइने विशेष नेवारी परिकार हो । नेवार समुदायको भोजभतेरमा यो नछुट्ने खानेकुरा हो ।
छोयला बनाउने खास तरिका हुन्छ । राँगाको फलमासु अर्थात् छाला र हाड नभएको मासु पहिले ठीक गर्नुपर्छ । त्यसरी छुट्याइएको मासुलाई लामो डोरीजस्तो गरी काट्ने गरिन्छ । त्यसपछि त्यसलाई दुसु (दुवै साइड सियोजस्तो भएको फलामको सामग्री) मा राखेर पोल्नुपर्छ ।
मासुलाई पोल्नका लागि पहिले पराल वा छ्वालीको प्रयोग गरिने गरिएको भएपनि हिजोआज ग्यासमा नै पोल्ने गरिन्छ । मासु कालो कालो पाकेको जस्तो भएपछि निकालेर आफ्नो इच्छाअनुसार टुक्रा बनाएर काट्ने गरिन्छ । त्यसपछि स्वादअनुसार नुन, मरमसला हाल्ने, रातो खुर्सानी भुटेर, पिनेर हाल्ने, लसुन, अदुवा पनि पिनेर हाल्ने गरिन्छ ।
छोयलामा भटमास र सूर्यमुखीको तेल हालिंदैन, यसमा शुद्ध तोरीको तेल नै प्रयोग गरिन्छ । सबै मरमसला हालिसकेपछि मज्जाले हातले मोल्ने गरिन्छ । त्यसपछि तयार हुन्छ स्वादिलो छोयला ।
प्रतिक्रिया दिनुहोस्