२२ फागुन भक्तपुर । भक्तपुरको ताथली स्वास्थ्य चौकी जिल्लाकै सर्वोत्कृष्ट स्वास्थ्य केन्द्र घोषणा भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ढुंगेनस्थित ताथली हेल्थ पोष्ट जिल्लाकै सर्वोत्कृष्ट हेल्थ पोष्ट घोषणा भएको हो ।
स्वास्थ्य चौकीले दिइरहेको सेवा, सुविधालगायतलाई मूल्याङ्कन गरी स्वास्थ्य कार्यालय भक्तपुरले सो स्वास्थ्य चौकीलाई सर्वोत्कृष्ट घोषणा गरेको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले बताए ।
उनले भक्तपुर जिल्लाका चारवटै नगरपालिकामा रहेका स्वास्थ्य केन्द्रहरूको न्यूनतम सेवा मापदण्डको मूल्याङ्कन गरिएको बताए ।
सो मापनका क्रममा मापदण्डका सबै सूचकहरूमा उत्कृष्ट अंक ल्याएर ताथली हेल्थ पोष्ट जिल्लामै सर्वोत्कृष्ट भएको बताउँदै उत्कृष्ट चौकीलाई नगद पाँचहजार रुपैयाँसहित सम्मान समेत गरिएको जानकारी दिए ।
त्यस्तै जिल्लाका अन्य उत्कृष्ट हेल्थ पोष्टमा दोस्रोमा छालिङ स्वास्थ्य चौकी र तेस्रोमा गुण्डु स्वास्थ्य चौकी भएका छन् । ताथलीमा आयोजित एक कार्यक्रममा सो स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षकहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्