Ad imageAd image

कता जाँदै छ अर्थतन्त्र ?

खबर खुराक
खबर खुराक २२ फाल्गुन २०७९, सोमबार
11 Min Read
Aa

१. करिब दुई महिनायता भारतीय सीमावर्ती सहरहरूमा प्रति १०० भारु नेपाली १५०–१५५ रुपैयाँमै सटही हुन थालेका समाचार बाक्लै आइरहेका छन् । औपचारिक सटही दर १०० भारुको १६० नेरु स्थिर (पेग्ड) रहे पनि यसअघि अनौपचारिक बजारमा २०० नेरुसम्ममा कारोबार हुने गरेको देखिएको थियो । सीमानाकाहरूमा ‘एक भारु-दुई नेरु’ को दरमा पैसा साट्ने दलालहरू छ्यापछ्याप्ती सक्रिय हुन्थे ।

२. पछिल्लो समय नेपालतर्फ हुने आयातमा उल्लेख्य कमी आएको छ । र, निर्यात पनि बढेको छैन । नेपालको मुख्य भन्सार नाका वीरगन्जबाट दैनिक १ हजार ३ सय वटासम्म मालवाहक ट्रक भित्रिने गरेकामा अहिले त्यो संख्या ४–५ सयमा झरेको छ । गत आर्थिक वर्षका पहिला सात महिनामा आयातका १ लाख ३८ हजार र निर्यातका १७ हजार मालवाहक सवारीसाधन आवागमन गरेकामा यस आर्थिक वर्षका सात महिनामा मालवाहक सवारी आवागमनको संख्या४२ हजारले घटेको छ । निर्यातको परिमाण नै पनि आधा भएको छ । भन्सार विभागको माघ मसान्तसम्मको तथ्यांक अनुसार आयात २० प्रतिशतले घटेर ९ खर्ब १९ अर्ब र निर्यात २९ प्रतिशतले घटेर ९३ अर्ब ४१ करोड रुपैयाँ मात्र छ ।

३. गत तीन सातामा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक भोला थापा नेतृत्वको टोलीले पूर्वको विराटनगरदेखि पश्चिमको दार्चुलासम्म सतहमार्गबाट भ्रमण गर्‍यो । त्यसबीच पर्ने सानाठूला सहरका दर्जनौं शैक्षिक संस्थाका सञ्चालकहरूसँगको अन्तरक्रियाबाट के नयाँ वास्तविकता सामुन्ने आयो भने, निजी विद्यालय र कलेजहरूमा आफ्ना केटाकेटी पढाइरहेका अभिभावकहरूले शिक्षण शुल्क चाहेर पनि समयमै तिर्न सकिरहेका छैनन् । बक्यौता संस्थाले धान्न नसक्ने अवस्थातर्फ उन्मुख छ । साना–मझौला व्यापार–व्यवसाय गर्ने अभिभावकहरूको आम्दानी स्वाट्टै घटेको छ । व्यवसाय चलाऊन बजारमा त्रेताहरू छैनन् । र तिनमा आश्रित रोजगारहरूले पनि तलब/ज्याला पाउन सकेका छैनन् । यो समस्या सतहमा देखिएभन्दा चिन्ताजनक रूपले व्यापक र दूरगामी असरको देखिन्छ ।

४. लघुवित्त कम्पनीहरूलाई लगाम लगाउने नाममा नेपाल राष्ट्रबैंकले १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने गरी ‘नयाँ’ निर्देशिका जारी गरेको छ । लघुवित्त संस्थाहरूमध्ये धेरैले अस्वाभाविक रूपमा धेरै व्याजदर असुलेका समाचारहरू निरन्तर आइरहेपछि त्यसको असर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ५९ लघुवित्त कम्पनीहरूको सेयर मूल्यमा परेको छ । नेप्से सूचकांक ओरालो लगाउने एउटा कारक लघुवित्त कम्पनीहरू भएका छन् । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले बैंक, लघुवित्त र सहकारीले २० लाख रुपैयाँसम्मको कर्जा मिनाहा गर्नुपर्ने माग मात्रै राखेनन्, ती संस्थाका कर्मचारीलाई कालो मोसो दल्ने दस्ता नै खडा गरेर त्यसो गर्न उक्साउँदै काठमाडौंमा साता लामो माइकिङ र गत शनिबार जुलुससम्म गराए ।

- Advertisement -
Ad image

५. सम्पत्ति शुद्धीकरणको अनुगमन गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को एसिया–प्रशान्त समूह (एपीजी) ले नेपाल ‘ग्रे लिस्ट’ पर्ने खतरानजिक आइपुगेको प्रतिवेदन दिएको छ । विगत दस वर्षमा वित्तीय अपराध नियन्त्रणसम्बन्धी आवश्यक कानुन बनाउने पर्याप्त तदारुकता नलिँदा वा भएका कानुन कार्यान्वयन नहुँदा नेपाल यो जोखिमसमीप आइपुगेको हो । यसरी ‘ग्रे लिस्ट’ मा परेको मुलुकलाई अन्तर्राष्ट्रिय विकास साझेदारहरू, खास गरी बहुराष्ट्रिय संस्थाहरूले आर्थिक अनुदान र ऋण सहायता नियन्त्रण गर्ने सम्भावना रहन्छ ।

भएको के हो ?

उल्लिखित ताजा उदाहरणहरू अर्थतन्त्रका बजार प्रणाली, नीति निर्माण र आर्थिक सुशासन तीनवटै आयाममा देखिएका समस्याहरूका एकीकृत परिणति हुन् । ती सबै आयाममा देखिएका समस्याहरूले आर्थिक चक्र (इकोनोमिक साइकल) र अर्थ प्रणाली (इकोनोकिम सिस्टम) लाई एकसाथ जोखिममा पारेका छन् ।

समस्याको साझा कारण आम मानिसको खर्चयोग्य आय अस्वाभाविक रूपले घट्नु र क्रयशक्ति खस्किनु हो । अर्थप्रणालीमा आप्रवाह हुने पैसाको स्रोत रेमिट्यान्सबाहेक केही छैन । सरकारले पुँजीगत खर्च विनियोजनको २० प्रतिशत मात्र गर्न सकेको छ । निर्यातको वास्तविक आय नगण्य छ । राजस्व लक्ष्यको ३९ प्रतिशत मात्र उठेको छ । बजारमा माग कम भएपछि व्यवसाय, तिनको आय र रोजगारी खस्कनु स्वाभाविक आर्थिक दुश्चक्र (भिसियस साइकल) हो ।

नेपाली अर्थतन्त्र सम्पूर्ण रूपले आयातनिर्भर हुनुको यो ज्वलन्त जोखिम हो । यहाँको आर्थिक चक्र निरन्तर चल्नका लागि आयात अपरिहार्य भइसकेको छ । प्रत्यक्ष र परोक्ष दुवै जोड्दा सम्पूर्णप्रायः राजस्व आयातमै निर्भर छ । व्यापार–व्यवसाय आयातित तयारी वस्तुमा र उद्योग अर्धप्रशोधित कच्चा पदार्थमा निर्भर छन् । रोजगारीको नियति पनि त्यही हो । सडकछेउमा मकै पोलेर बेच्ने, नाङ्लो पसल राख्ने वा ठेलामा फलफूल–तरकारी बेच्ने सबैको स्वरोजगारी र व्यापारका आधार आयातित वस्तुहरू नै हुन् ।

भारुको मूल्य घट्नुमा भारतीय पर्यटक बढी आउनु, अवैध कारोबार बढ्नु, हुन्डी भारत भएर नेपाल भित्रिनु आदि ‘हाइपोथेसिस’ चर्चामा छन् । तिनको पनि आंशिक असर होला । तर, यसको पनि चुरो कारण नेपाली बजारमा वस्तुको मागमा कमी आउनु र आयात कम हुनु नै हो । खासमा, नेपाली बजारमा (ठूला मेसिन, औजार, सवारीसाधनबाहेक) झन्डै ९० प्रतिशत वस्तुहरू चरम न्यून बिजकीकरण गरी भन्सारबाट भित्र्याइन्छन् । बजारमा २ हजार रुपैयाँ पर्ने जुत्ता–कपडाको सामान्यतः २ सय रुपैयाँको मात्र बिजक देखाइन्छ । व्यापारीहरूले यसरी फरक पारिएको मूल्य भारतीय निर्यातकर्ताहरूलाई तिर्न अवैध भारु बजार प्रयोग गर्छन् । यसका अवैध तर संगठित कारोबारकर्ताहरूले चाहिएका बेला चाहेजति भारु जोहो गर्ने हैसियत राख्छन् । तर, अहिले वस्तुको माग नै घटेर आयात कम भएपछि ती कारोबारीहरूले प्रक्षेपण गरेअनुरूप भारुको माग भएन । उनीहरूले जम्मा गरेको रकम चलायमान नभएपछि सस्तोमा बेच्ने अल्पकालिक र केही स्थानमा मात्र देखिएको प्रवृत्ति हो ।

मौका पर्दा ‘दुईको एकमा’ भारु व्यापार गर्नेहरू यिनै व्यापारी हुन् । अहिले सामान्य सस्तो दरमा भारु बेच्दा उनीहरूको खुद नाफामा खासै फरक पर्दैन । राष्ट्रबैंकले डलरमा भारु किनेर बजार धानेको तथ्यप्रति कमैको ध्यान गएको छ । आधा आर्थिक वर्षमै राष्ट्रबैंकले २ अर्ब २८ करोड डलर बेचेर १ खर्ब ८६ अर्ब भारु किन्दा पनि नेपालको विदेशी मुद्रा सञ्चितिमा भारुको हिस्सा २३ दशमलव ६ प्रतिशतबाट बढेको छैन ।

के गर्ने ?

नीतिगत अन्योल र शासकीय तदर्थवाद समस्याको चुरोमा छ । राज्यको आर्थिक र औद्योगिक विकासको मोडल, शिक्षा नीति/प्रणाली र रोजगारी एवम् सामाजिक कल्याणका उपायहरूबारे बृहत्तर आयामहरूको प्रस्टता धेरै टाढाको अपेक्षा भइसकेको छ । अर्थतन्त्रलाई चलायमान बनाइराख्न आवश्यक कानुन–नियमहरू बनाउन र लागू गर्न पनि राज्य चुकेको छ । राजनीति अर्थतन्त्रका समस्याप्रति निरपेक्ष देखिएको छ । राज्यसत्ताका सञ्चालकहरूमा अर्थतन्त्रको अवस्थाप्रति चिन्ता र समस्या समाधानमा पहल गर्ने राजनीतिक इच्छाशक्तिसमेत प्रदर्शन हुन नसक्नु अहिलेको मुख्य चुनौती हो ।

सम्पत्ति शुद्धीकरण नियन्त्रण लगायतका तीन दर्जन विधेयक विगत संसद्‌मा वर्षौं थन्किए । ती पारित नभई अघिल्लो संसद्को पदावधि सकियो । न्यून बिजकीकरण छाया अर्थतन्त्रको एउटा मूल कारक भइसक्दा पनि राज्य प्रत्युत्पादक नीति र अभ्यासहरूमै रुमलिएको छ । विगत बीस वर्षमा केन्द्रीय बैंकले मौद्रिक नीतिको ‘टेम्प्लेट’ समेत बदल्न सकेको छैन । जुनसुकै दलको सरकार आए पनि दुर्गा प्रसाईं प्रवृत्तिले राज्यको निर्णय प्रक्रियालाई अपहरण गरिरहेको छ । राज्य चलाउनेहरूको पहिलो प्राथमिकता पैसा असुल्ने ‘आकर्षक’ सरकारी कार्यालयहरूमा ‘आफ्ना मान्छे’ पठाउने आतुरी सनातन छ । यो अभ्यास अब सम्पूर्णतः लज्जाहीन र खुलेआम भएको छ । यसको तीव्र कुप्रभाव प्रशासनिक प्रभावकारिता र आर्थिक सुशासनमा परेको छ । क्षणिक स्वार्थहरूको जालो उच्च राजनीतिक र प्रशासनिक तहसम्म यसरी फैलिएको छ कि मुलुकको हितका उपाय र मार्गचित्रबारे चिन्ता व्यक्त गर्ने मञ्चहरू नै अब सायद बाँकी छैनन् । यस्तो चिन्ता गर्नेहरू निर्णायकहरूका दृष्टिमा अक्सर उपहास र वैरभावका पात्र भइरहेका छन् ।

यसका पछाडि गम्भीर विकृतिहरू छन् । उच्च तहमा बस्नेहरूको ध्येय असल नीति बनाउने र कार्यान्वयन गर्नेमा छैन । विदेशी नागरिकता वा स्थायी बसोबासको निस्सा लिनेहरू अहिले ठूलै संख्यामा सार्वजनिक पदमा छन् । आफैं नभए, तिनका छोराछोरी नफर्कने गरी विदेश पलायन भएका छन् । त्यसैले यो जमातको मूल तिकडम अवैध बाटोबाट पैसा जम्मा गरी विदेश पठाउने र अन्ततः घरघडेरी पनि बेचेर उतै पुँजी पलायन गराउने छ । अहिले प्रत्येक ठूलो व्यापारिक घरानाको एउटा महत्त्वपूर्ण सदस्य गैरनेपाली नागरिक (एनआरएन) मा दर्ता भएको छ । यसका पछाडि द्रुत र तीव्र पुँजी पलायनको उद्देश्य छ भन्ने घामजत्तिकै छर्लंग छ । राज्य यसमा मुकदर्शक मात्र भएर बसेको छ । सारमा, यी सबै वर्गमा मुलुकलाई समुन्नत बनाउने इच्छा र उद्देश्य दुइटै छैन । तर, राज्य सञ्चालन प्रभावतः तिनकै कब्जामा छ ।

नीति निर्माणको दार्शनिक आधार नै खण्डित गर्ने नियतले निर्णायक संस्थाहरूले काम गरिरहेका छन् । लघुवित्त एउटा जल्दोबल्दो उदाहरण हो । मानौं, राष्ट्र बैंकले तोकिदिएको ब्याजको १५ प्रतिशतको सीमा गरिब वर्गसुहाउँदो छ । अथवा, वाणिज्य बैंकहरूलाई तोकिएको निर्देशित क्षेत्र कर्जाको नियम र लघुवित्तहरूलाई थप एक तहको बिचौलिया बनेर नाफा असुल्ने संरचना अर्थतन्त्रका लागि लाभकारी हो ।

यथार्थमा, यो कल्याणकारी राज्यका दृष्टिले सर्वथा प्रतिकूल अभ्यास हो । लघुवित्तहरूबाट अपेक्षा गरिएको सामाजिक बैंकिङ हो जसले आफ्नो तीनखम्बे — समुदायहरूमा आधारित रहने, वास्तविक अर्थतन्त्रलाई प्रत्यक्ष टेवा पुर्‍याउने र व्यवसायका नयाँ मोडलहरूमा लगानी गर्ने — सिद्धान्तलाई अंगीकार गर्छ । मौद्रिक प्राधिकारीलाई यो चेत आएको देखिएको छैन । संरचनागत परिवर्तन गर्ने हिम्मत नगरेर ब्याजदरको सीमा तोक्ने कसरत यसैको परिणाम हो ।

राज्य सञ्चालकहरूबाट अर्थतन्त्र चरम उपेक्षामा परेको अर्को उदाहरण हो- सरकार सञ्चालक शक्तिशाली दलहरूबाट हुने अर्थमन्त्रीको छनोट । पात्रहरूको नाम लिनैपर्दैन, गणतन्त्र स्थापना भएयताका १६ वर्षमा १३ वटा सरकार र १७ पटक अर्थमन्त्री फेरिए । यसरी फेरिएकामध्ये ११ पटक उच्च नेतृत्वको निकट भएका कारण शक्तिशाली बनेका तर अर्थतन्त्रबारे औपचारिक शिक्षा नलिएका, अक्सर आर्थिक पद्धति र नेपाली अर्थतन्त्रको संरचनाबारे सामान्य ज्ञानसम्म नभएकाहरू अर्थमन्त्री बनाइए । त्यस्तै, सम्पत्ती शुद्धीकरणविरुद्धका कानुनहरू बन्न नसकेर नबनाइएका होइनन्, नचाहेर नबनेका हुन् ।

अझ खराब, राजनीतिक दलहरू र नेतृत्वको यो मनोमानीपूर्ण रवैयाप्रति नागरिक समाज र मिडियाले पनि यथोचित प्रश्न उठाइदिएनन् । राष्ट्रिय बहस अर्थतन्त्रको अवस्थाबारे केन्द्रित भएको सन्देश अखबारका समाचार शीर्षक, रेडियो–टेलिभिजनका अनगिन्ती ‘टक शो’, प्राज्ञिक वर्गबीच हुने वार्ता/छलफल र प्रशासन संयन्त्रको कार्यशैलीले विरलै दिन सकेका छन् । सबैलाई रातारात अनवरत फेरिने राजनीतिक नाटकका परिदृश्यको रोमाञ्चले लठ्याएको छ ।

आम भाष्य यस्तो सृजना गरिएको छ कि, देशमा अर्थतन्त्रका यी समस्या बुझेको, समस्या समाधान गर्न सक्ने कुनै विज्ञ, अर्थशास्त्री र योजनाविद् छैन । विषयगत ज्ञानशून्य र निहित स्वार्थयुक्त राजनीतिक नेतृत्वले जे गर्दै छ, त्यो नै अन्तिम सम्भव उपाय हो । यही आत्मघाती सन्देश दिने कसरत सबै प्रकृतिको सत्ताले निरन्तर गरेको छ । अनि, नेपाली अर्थतन्त्रको दुरवस्थाको कारक कतै अन्यत्र खोज्नुपर्छ र ?

इ-कान्तिपुरबाट।।।।

प्रतिक्रिया दिनुहोस्