पेरिस फ्रान्सको राजधानी पेरिसमा फागु उत्सव धुमधामसँग मनाइएको छ । फागु पूर्णिमाको आसपासमा बर्सेनि कार्यक्रम गर्दै आएको नेपाली सांस्कृति गृहले आइतबार आयोजना गरेको कार्यक्रममा एक–अर्कालाई विभिन्न प्रकारका रंग र अबिर दलेर फागु उत्सव मनाइएको हो ।
फागु कार्यक्रममा नेपालीहरुसँगै नेपालप्रेमी फ्रान्सेलीहरुले पनि फागु दलेर रमाएका थिए । फ्रान्सका विभिन्न स्थान र परिवेशबाट आएका नेपाली तथा नेपालप्रेमी फ्रान्सेलीहरू नेपाली गीत र संगीतमा रमाएर फागु खेल्न पाउँदा निकै हर्षित देखिन्थे ।
फागु खेल्ने उत्सवसँगै नेपाली सांस्कृतिक गृहले नेपाली खानाको व्यवस्थासमेत गरेकाले नेपाली खानाको स्वाद लिन पाउँदा फ्रान्सेलीहरु झन् खुशी भएका थिए ।
गृहले फ्रान्समा सन् २००३ देखि फागु पूर्णिमा मनाउँदै आएको छ । गर्मी मौसम नआइसकेकोले फ्रान्समा सभाहलभित्र यो उत्सव मनाउने चलन छ । कार्यक्रमको सुरूवात गर्दै गृहका उपाध्यक्ष हेमन्त उपाध्यले फागु पूर्णिमाको धार्मिक किंवदन्तीबारे प्रकाश पारेका थिए ।
गृहका उपाध्यक्ष उपाध्यायले कन्तिपुरसित भने, ‘नेपाली धर्म, संस्कृति र पर्वहरुलाई पुस्तौंसम्म जोगाइराख्न, नेपाल र फ्रान्सबीच नागरिकस्तरमा सम्बन्ध कायम गर्न र नेपालका दोस्रो तथा तेस्रो पुस्ताका लागि नेपाली पर्वहरुप्रति आकर्षित गर्न यो पर्व मनाउन थालेका हौं ।’
कार्यक्रममा पेरिसस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख सीता बस्नेतले नेपालमा मनाइने फागु पूर्णिमा फ्रान्समा पनि धुमधामसँग मनाएर नेपालीहरुले आफ्नो संस्कृतिलाई जीवन्त राख्नुका साथै नेपाल र नेपालको संस्कृति फ्रान्सेलीलाई चिनाएर प्रशंसनीय काम गरेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्