२२ फागुन दमौली । तनहुँका ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा सबस्टेसन निर्माण अघि बढाइएको छ । विद्युत् सेवा नपुगेका ग्रामीण क्षेत्रमा विद्युतीकरणका लागि आयोजनामार्फत काम अगाडि बढाइएको हो ।
विद्युतीकरणका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत् तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना कार्यान्वयन इष्ट इन्डिया उद्योग/वाइबा इन्फ्राटेक जेभीसँग सम्झौता भएको थियो ।
तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठका अनुसार २०७५ साल मंसिर १३ मा कम्पनीसँग अमेरिकी डलर ६१ लाख ५३ हजार २०७ तथा नेपाली १४ करोड ८८ लाख ३१ हजार ९६७ रुपैयाँमा खरिद सम्झौता भएको थियो ।
निर्माण व्यवसायीले विद्युतीकरण नभएका क्षेत्रको पहिचान गरी सर्भे तथा डिजाइन सम्पन्न गरी ३३/११ केभी तथा एलटी लाइन निर्माण गरिरहेको छ । घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा सबस्टेसन निर्माण सम्पन्न भएको श्रेष्ठले बताए ।
घिरिङ सबस्टेसनमा छ/आठ एमभिए क्षमताको पावर ट्रान्सफर्मर राखिएको छ । स्थानीय तहमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ११ केभीका तीन वटा फिडर लाइन निकालिएको छ । कुल ११ केभीको एउटा फिडर लाइन जगेडामा राखिएको छ । सबस्टेसनमार्फत तनहुँको भिमाद नगरपालिका तथा घिरिङ गाउँपालिको सम्पूर्ण क्षेत्र र ऋषिङ गाउँपालिका तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को केही भागमा विद्युत् आपूर्ति गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्