२२ फागुन काठमाडौँ । पछिल्लो समय सूचना प्रविधि र सामाजिक सञ्जालको क्षेत्रमा विभिन्न परिवर्तन र नयाँ गतिविध देखापरेका छन् । प्रविधि कम्पनीहरूले जारी राखेका कर्मचारी कटौतीदेखि जेनेरेटिभ एआई टुल निर्माणको होड र टिकटकको बढ्दो संकट लगायत प्रविधि क्षेत्रमा यो साता नयाँ र उत्साहपूर्ण अपडेटहरू आएका छन् ।
१) अमेरिकापछि क्यानडामा टिकटकको प्रतिबन्ध बढ्दो:
गोपनियता र सुरक्षामा अस्वीकार्य जोखिम रहेको भन्दै क्यानडा सरकारले आफ्ना सरकारी डिभाइसहरूमा टिकटकको प्रयोगमा प्रतिबन्ध लगाएको छ । क्यानडा र चीन बीचको सम्बन्धमा बढ्दो चिसोपन र अमेरिकी सरकार तथा यसका विभिन्न राज्यहरूले चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको एप टिकटकमा बढाएको निगरानी र प्रतिबन्धको सन्दर्भमा क्यानडा सरकारको यो कदमले टिकटकको समस्या थपिएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफूहरूले क्यानडाका प्रयोगकर्ताहरूको अनलाइन सुरक्षालाई ध्यान दिइरहेको पत्रकारहरूसँग बताए । ‘हामीले सरकारी डिभाइसहरूमा टिकटकको प्रयोग रोकेपछि क्यानडाका व्यापारिक फर्म, संस्थाहरू र व्यक्तिगत प्रयोगकर्ताले पनि आफ्नो डेटाको सुरक्षाबारे पुनर्विचार र आवश्यक कदम चाल्नुहुनेछ भन्ने हाम्रो सोचाइ छ,’ उनले भने, ‘यो अनलाइन सुरक्षाको लागि हामीले चाल्ने कदमको शुरूवात हुनसक्छ ।’ टिकटकले शुरूमा आफू निराश रहेको प्रतिकृया दिए पनि पछि अर्को विज्ञप्ती निकाल्दै ‘क्यानडाको यो कदम अमेरिका र युरोपेली प्रतिबन्धको निरन्तरता भएको’ टिप्पणी गरेको छ ।
२) प्रविधि कम्पनीहरूको कर्मचारी कटौती जारी:
चर्चित प्रविधि कम्पनीहरूले केही समययता शुरू गरेको कर्मचारी कटौतीको श्रृंखला फेब्रुअरी महिनामा पनि जारी रह्यो, जसमा झन्डै २८ हजार जनाले आफ्नो रोजगारी गुमाएको विज्ञहरूको अनुमान छ । यसअघि सन् २०२३ देखि शुरू हुनेबित्तिकै प्रविधि कम्पनीहरूको आक्रामक कर्मचारी कटौतीका कारण जनवरी महिनामा मात्रै झन्डै ६५ हजारले आफ्नो रोजगारी गुमाएका थिए । फेब्रुअरी महिनामा उल्लेख्य कर्मचारी कटौती गर्ने प्रविधि कम्पनीहरूमा स्वीडिश कम्पनी एरिक्सनको ८ हजार ५०० जना, अमेरिकी कम्पनीहरू ट्वीलोको १५०० जना, याहुको १६०० जना, जुमको १३०० जना, डेलको ६ हजार ६५० जना लगायत समावेश छन् । सन् २०२२ यता प्रविधि कम्पनीहरूले कोभीड-१९ पछि पुरानै स्वरूपमा फर्कँदै गरेको बजार र नयाँ क्षेत्रमा बढ्दो प्रतिस्पर्धा लगायत कारणले कर्मचारी संख्यामा व्यापक कटौती गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्