२२ फागुन काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपाली टिमका मध्यक्रम ब्याटर भीम सार्कीले अर्धशतक बनाएका छन्।
४९–३ को अवस्थामा ब्याटिङका लागि आएका भीमले ७८ बलमा चार चौकासहित ५० रन पूरा गरे। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीमको यो पहिलो अर्धशतक हो।
भीमले त्यसअघि नेपालको स्कोर बोर्ड ६८–५ को कठिन अवस्थामा छैटौं विकेटका लागि सन्दीप लामिछानेसँग ५६ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए । सन्दीपले ४० बलमा एक चौकासहित २७ रन बनाए।
टस जितेर ब्याटिङमा आएको नेपालले अहिले ४० ओभरको खेल सकिँदा ६ विकेट गुमाएर १६० रन जोडेको छ। हाल क्रिजमा भीमसँगै रहेका आरिफ शेख १९ रनमा खेलिरहेका छन्।
नेपालको स्कोर बोर्डमा १४ हुँदा पहिलो विकेटका रूपमा ओपनर आसिफ शेख पभेलियन फर्किएका थिए। नेपालले ३४ रन जोड्दा दोस्रो विकेटका रूपमा अर्का ओपनर ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो।
४९ रन जोड्दा नेपालले कप्तान रोहितकुमार पौडेललाई गुमायो। यसपछि केही लयमा देखिएका कुशल मल्ललाई नेपालले ५९ रन जोड्दा चौथो विकेटका रूपमा र ६८ रनमा पाँचौं विकेटको रुपमा दीपेन्द्रसिंह ऐरीलाई गुमाएको थियो। नेपालले १२४ रनमा सन्दीप लामिछानेलाई गुमाएको थियो।
नेपालका ओपनर आसिफ ६ रनमा, ज्ञानेन्द्र ११ रनमा, रोहित एक रनमा र कुशल मल्ल ३२ र दीपेन्द्र चार रनमा आउट भएका थिए ।
प्रतिक्रिया दिनुहोस्