Ad imageAd image

परदेशीको रुक्खा फगुवा

खबर खुराक
खबर खुराक २४ फाल्गुन २०७९, बुधबार
13 Min Read
Aa

पश्चिम एसियाका अन्य इस्लामवादी राजतन्त्रहरूका तुलनामा संयुक्त अरब एमिरेट्स (यूएई) अपेक्षाकृत आधुनिक राज्य हो भन्न सकिन्छ । मुसलमानहरूले मस्जिदमा भेला भएर सामूहिक नमाज पढ्ने भएकाले खाडीतिरका सबैजसो इस्लामिक मुलुकहरूमा सप्ताहान्तको बिदा शुक्रबार दिने गरिन्छ ।

पश्चिमा देशहरूसँग सामञ्जस्य कायम राख्न यूएईले भने शनिबार–आइतबार अवकाश मनाउने अन्तर्राष्ट्रिय प्रचलनलाई अंगीकार गरेको छ । मुसलमान महिलाहरूले जीउ छोप्ने बुर्का एवं टाउको र घाँटी मात्र ढाक्ने हिजाबको प्रयोग व्यापक रूपमा गर्ने भए पनि व्यावहारिक पोसाकमा सजिएका कामकाजी नारीहरू दुबई एवं अबुधाबीजस्ता सहरहरूमा जताततै देखिन्छन् । अर्थतन्त्रको तागत, शासन प्रणालीको प्रभावकारिता एवं भूराजनीतिक विवादहरूबाट सकभर पन्छिने नीतिले गर्दा होला, ‘नोमैड क्यापिटलिस्ट’ भनिने उपक्रमले प्रकाशित गर्ने २ सय देशको राहदानी मर्यादाक्रममा यूएई यस पटक युरोपका देशहरूलाई उछिनेर पहिलो हुन पुगेको छ । त्यसपछिका शीर्ष ५० स्थानसम्म अर्को कुनै अरब देशको नाम छैन । सोही तालिकामा नेपालको स्थान १७९ औं छ, जुन तलबाट २१ औं हुन आउँछ । नेपालीहरूले सन्तोष गर्ने ठाउँ त्यहाँ पनि भेट्टाउन सक्छन्- दक्षिण एसियाका अफगानिस्तान, पाकिस्तान एवं बंगलादेशको दर्जा नेपालभन्दा पनि तल छ !

बाहिरिया कामदारले धानेको यूएईको आर्थिक गतिविधिभित्रको सोपानतन्त्र सहजै ठम्याउन सकिन्छ । बहुराष्ट्रिय निगमहरूबाहेक सबैजसो उद्योग र व्यापारका प्रत्यक्ष वा अप्रत्यक्ष मालिक रैथाने एमिराती नै हुन्छन् । ठेक्कापट्टा, आपूर्तिकर्ता एवं सल्लाहकारहरूमा पश्चिमाहरूको दबदबा कायम छ । मध्यम तहको व्यवस्थापकीय जिम्मेवारीमा उच्च शिक्षाप्राप्त एवं दक्ष भारतीयहरू देखिन्छन् । कामदारहरूको अनुगमन गर्ने फोरम्यान एवं सुपरभाइजरमा अपेक्षाकृत विपन्न अरब देशका नागरिकहरूका साथै पहिलेदेखि काम गरिरहेका फिलिपिनो, पाकिस्तानी तथा बंगलादेशी पनि छन् । दक्ष कामदारमा भारतीय, पाकिस्तानी एवं बंगलादेशीसँगसँगै केही श्रीलंकाली पनि छन् । नेपाली कामदारहरूभित्र पनि अनुमानित सामूहिकीकरण गर्न गाह्रो छैन । केही औपचारिक अध्ययन, कम्प्युटर चलाउने दक्षता, अंग्रेजीमा पत्र लेख्न सक्ने सीप एवं लेखा प्रणालीसँगको सहजताले गर्दा सेतो कमिजमा सजिएर कोठाभित्र गरिने कामहरूमा खस–आर्य समुदायका व्यक्तिहरूको प्रधानता छ । जनजातिहरू कार्यस्थलमा भए दक्ष कामदार एवं मेसिनचालक तथा सहरभित्र सुरक्षा कर्मचारीका रूपमा कार्यरत रहेको देख्न सकिन्छ । डिपार्टमेन्टल स्टोर, सुपर मार्केट एवं रेस्टुराँहरूमा मधेशीबाहेक हरेक किसिमका नेपाली कर्मचारी भेटिन्छन् । पूर्वाधार आयोजना एवं भौतिक संरचनाजस्ता निर्माण–स्थलहरूमा भने उल्लेख्य संख्यामा मधेशी कामदारहरूलाई देख्न सकिन्छ । विगतका तुलनामा मधेशी कामदारहरूको साक्षरतास्तर केही बढेकोजस्तो देखिए पनि ड्राइभर, अपरेटर, प्लम्बर, इलेक्ट्रिसियन वा टेलिकम्युनिकेसन क्षेत्रमा काम गर्न सक्ने सीप भएका मधेशीहरू अहिले पनि अपवाद नै हुन् । डकर्मी, सिकर्मी एवं रंग लगाउन जान्ने अर्धदक्ष श्रमिकमा भने मधेशीहरू पनि छन् ।

यूएईको राजधानी अबुधाबीको बहिर्भाग (आउटस्कर्ट) बस्ती मुसाफा अवस्थित आईक्याड श्रमिक परिसरभित्रका आवासीय भवनहरूमा लगभग ४० हजार कामदार बस्दछन् । शिविरभित्रै मजदुरहरूका लागि क्यान्टिनको व्यवस्था छ । केही समयअगाडिसम्म शिविरका बासिन्दाहरूलाई साझा भान्सामा आफ्नो खाना आफैं पकाउन पाउने सुविधा दिइएको थियो । अब भने तिनलाई आफ्नो छनोटअनुसारको खाद्य एवं पेयपदार्थ आधिकारिक क्यान्टिनहरूमध्येबाटै खरिद गर्नुपर्ने बाध्यता छ । दैनिक आवश्यकताका अन्य वस्तु किन्न पाइने सुपरमार्केट पनि शिविरसँगै छ । समग्रमा आईक्याड श्रमिक शिविरलाई आत्म–पर्याप्त बस्ती (सेल्फकन्टैन्ड टाउनसिप) भने पनि फरक पर्दैनथ्यो होला, तर नारी अनुहार कतै नदेखिने भएकाले आईक्याडलाई आवादी नै भनिहाल्न भने हच्किनुपर्दछ । परिवार राख्न त परको कुरा भयो, परिसरभित्र नारी मुलाकातीहरूका लागि प्रवेशसमेत वर्जित छ । यस्तै प्रकारका अन्य श्रमिक शिविरका तुलनामा केही व्यवस्थित रहेको भनिए पनि आखिर यो पनि कामदारहरूको छाउनी नै त हो ।

- Advertisement -
Ad image

आईक्याडमा बिहान छ बजेदेखि आठ बजेबीच क्यान्टिनबाट खाजाको पोको बोकी बसमा चढेर कार्यस्थलका लागि निस्किएका कामदारहरू लखतरान भएर साँझ सात/आठ बजेसम्म मात्र आ–आफ्ना रैनबसेरामा फर्किने गर्दछन् । महिला र केटाकेटीबेगरको चाडबाड घरबाट टाढा रहेका श्रमका ज्यालादारी सिपाहीहरूका लागि कस्तो हुँदो हो ? सोच्दैमा अत्यास लाग्छ । सैनिकहरूमा त सामूहिक कसरत र कवायदमार्फत मैत्रिकी (कमराड्री) विकसित गराइन्छ । संगठनको अधिकार खोसिएका श्रमिकहरूको स्नेहनिवृत्ति (ऐलिअनैसन) सबभन्दा धेरै दीपावली एवं होलीजस्ता सामाजिक उत्सवमा महसुस हुन्छ । सँगसँगै छ जना बस्ने मधेशी कामदारहरूको लगभग प्रत्येक कोठामा लक्ष्मी–गणेशको तस्बिर सजाइएको पूजाकुना छुट्याइएको

हुने रहेछ । दैनिक आराधना एवं साधना गर्ने पर्व एक्लै पनि मनाउन सकिन्छ, तर नातागोता एवं साथीभाइबेगरको चाड अर्थहीन बन्न पुग्दछ । आईक्याड श्रमिक शिविरभित्र रहेका अधिकांश २० देखि ३० वर्ष समूहका मधेशी कामदारहरूले तिनका गाउँ–घरतिर प्रतिपदाका दिन मनाइने फागु कसरी मनाइरहेका होलान् ? स्थिति देखेकाहरूका मनमा प्रश्न उठ्नु स्वाभाविक हो । सधैंझैं कार्यस्थलसम्म ओसार–पसार गर्ने बस त बुधबार पनि समयमै आएको होला । सायद तीमध्ये केही भिखारी ठाकुरको भोजपुरी ‘बिदेसिया’ लयमा मनमनै गुनगुनाइरहेका होलान्- ‘परदेशीया के होरी, सुखले रहल गोरीया / आँखी निर्जल, मोन भिजल गोरीया । हो, हो, हम परदेशीया !’ विप्रेषण–आश्रित देशका हर्ताकर्ता भने सत्ता राजनीतिको नैतिकतामुक्त (नाइलिस्टिक) खेलबाडमै मस्त छन् । परदेशी श्रमिकको मौन विरोधले ल्याउन सक्ने संकटको प्रभाव श्रीलंका एवं पाकिस्तानजस्ता देशहरूमा देखिसकिएको छ । काठमाडौंका बैठके अर्थशास्त्रीहरूले आश्वासन दिएजस्तै नेपाल ‘फरक देश’ होला, तर परनिर्भर अर्थतन्त्रलाई ‘विशिष्ट श्रेणी’ भनेर छुट्याउनु गल्ती ठहरिन सक्छ ।

विप्रेषणका प्रकार

सन् १८५७ को गदर दबाउन अवध पुगेका सिपाहीहरूको ‘लखनउ लुट’ बाट जंगबहादुरका शाखासन्तान मालामाल भए । सैनिकका परिवारहरू भने खाली खुट्टा डोको बोकेर बेगार गर्ने हालतबाट माथि उक्लिन सकेनन् । प्रथम विश्वयुद्धको आर्थिक प्रतिफलले चन्द्रशमशेरका सन्तति मात्र होइन, तिनका आसेपासेलाई समेत धनाढ्य बनायो । द्वितीय विश्वयुद्धमा बगेको सिपाहीहरूको रगत जुद्धशमशेरको खलकका लागि नोट छाप्ने मसीसरह ठहरियो । वैदेशिक सहयोग निःसन्देह सन् १९५० पछिका शाह शासकहरूको सम्पन्नता र शक्तिको सम्बल थियो, तर त्यस्तो निर्बाध मद्दतका लागि भूराजनीतिक आधार तयार गर्नमा गोर्खाली सैनिकको निर्यात एवं शान्ति सेनामा गरिने निरन्तर सहभागिताको महत्त्वपूर्ण भूमिका थियो । विप्रेषण–आश्रित अर्थतन्त्रले कामदारका परिवारलाई प्रत्यक्ष रूपमा निर्वाह गर्न सघाए पनि त्यस्तो नगद प्रवाहको मुख्य लाभ शासक वर्गलाई पुग्ने रहेछ । वस्तु र सेवाको उपभोग बढ्ने भएपछि आयात पनि त्यही अनुपातमा बढ्छ । आयातकर्ता व्यापारी एवं चल्तापुर्जा सेवाप्रदायक मोटाउँछन् । उद्योगमा लगानी गर्ने संयमको साटो ऋण र ब्याजमा खेल्ने तात्कालिक लाभको क्षेत्रले पुँजीपतिलाई आकर्षित गर्न थाल्दछ । व्यापारको करबाट सुन्निएको सरकारी लगानी अप्रत्यक्ष प्रतिफलका पूर्वाधार परियोजनाहरूबाट प्रियतावादी योजनाहरूतिर मोडिँदै जान्छ । विप्रेषणको आम्दानी, उपभोग–उत्प्रेरित आर्थिक गतिविधि एवं आयात करबाट चल्ने शासन खर्चको त्रासदी नै के हो भने, त्यस्तो दुश्चक्र स्व–प्रेरक (सेल्फपर्पेचुएटिङ) बन्न पुग्ने रहेछ । कुल राष्ट्रिय उत्पादनको ३० प्रतिशतभन्दा बढी एकल आर्थिक गतिविधिबाट चल्ने अर्थतन्त्रका ‘डच डिजिज’ भनिने अनिश्चितताका जोखिमहरूसँगै आन्तरिक नियन्त्रण बाहिरका आय स्रोतमाथिको निर्भरताले विप्रेषणलाई भरपर्दो आधार बन्न दिँदैन । विप्रेषणले निर्वाहमुखी अर्थतन्त्रमा बाँधेर राख्ने हुँदा श्रमिक निर्यात गरेर संसारको कुनै पनि देश समृद्ध भएको उदाहरण भेट्टाउन कठिन छ । विप्रेषणले निरपेक्ष गरिबीको दर घटाउने भए पनि समग्र अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने प्रक्रियालाई भने अवरुद्ध नै तुल्याउने रहेछ ।

वित्तीय विप्रेषणका प्रभाव एवं मौद्रिक तथा गैरमौद्रिक फाइदाहरूबारे नेपालको सार्वजनिक वृत्तमा बरोबर बहस भई नै रहेको हुन्छ । बिदेसिने कामदारलाई दिइने सेवा, रकम पठाउनेलाई प्रोत्साहित गर्ने तरिका, बिदामा फर्किनेलाई दिइने सुविधा एवं विप्रेषित रकमको लागत घटाउने उपायहरूका सम्बन्धमा पनि निरन्तर विमर्श भइराख्नुपर्दछ । परदेशी कामदारहरूले भने आफ्नो आश्रय देशबाट घरतिर केही सार्वजनिक मूल्य, मान्यता एवं आस्था पनि सम्प्रेषित गरिरहेका हुन्छन् । राजनीतिक विप्रेषण भनिने त्यस्तो प्रवृत्तिको अध्ययन विकसित हुने क्रममा छ । राष्ट्रलाई परिकल्पित समुदायका रूपमा परिभाषित गर्ने अमेरिकी राजनीतिशास्त्री बेनेडिक्ट एन्डरसनको दूरस्थ राष्ट्रवाद (लङ डिस्टन्स न्यासनलिज्म) अवधारणा खास गरेर पश्चिमा देशहरूमा बस्ने प्रवासीहरूको प्रवृत्ति अध्ययनमा आधारित छ । जराबाट काटिएका त्यस्ता प्रवासीहरूले आश्रय देशमा असहज महसुस गर्दछन् तर तिनमा पैतृक भूमि फर्किने इच्छाशक्ति भने समाप्त भइसकेको हुन्छ । साझा इतिहास, भाषा, संस्कृति एवं पहिचानमा आधारित दूरस्थ राष्ट्रवादलाई भौगोलिक सिमानाले भने छेक्दैन । पसिना परदेशमा बगाउँछन्, मातृभूमि सप्रिएन भन्ने करकर गर्न छाड्दैनन् । कर कर्मभूमिमा तिर्छन्, तर आफ्नो पहिचान जोगाइराख्ने अपेक्षा पैतृक देशको सरकारसँग राख्दछन् । युरोप र अमेरिकामा रहेका भारतका ‘फिरंगी बजरंगी’ भन्न मिल्ने हिन्दुत्ववादी, पाकिस्तानका ‘स्थायित्व प्रेमी’ इस्लामवादी एवं ‘मन त मेरो नेपाली हो’ दाबी गर्ने नृजातीय राष्ट्रवादीहरू खासमा आफ्नो परिकल्पनाको स्वर्णिम अतीतमा रमाउँछन् र त्यस्तो शुद्धतावादी देश बनाउन लालायित रहन्छन् । दूरस्थ राष्ट्रवाद अन्तर्निहित रूपले प्रतिक्रियावादी हुन्छ । तिनको प्रजातन्त्र बहुमतीय निरंकुशतामा आधारित हुन्छ । तिनले संस्कृतिलाई स्वधर्म भनेर अर्थ्याउँछन् । पहिचानमा एकरूपता खोज्छन् । रवीन्द्र मिश्र र रवि लामिछानेको राजनीतिलाई दूरस्थ राष्ट्रवादको चस्मा लगाएर हेर्ने हो भने धेरै कुरा बुझ्न सजिलो हुन्छ ।

कहिल्यै नागरिकता पाउन नसकिने वा ढिलो–छिटो आफ्नो देश फर्किनैपर्ने बाध्यता भएका चीन, जापान, पश्चिम एसियाका एमिरातहरू वा भारतमा रहेका परदेशी कामदारका ‘राजनीतिक विप्रेषण’ मिश्रित प्रकृतिको हुन्छ । पूर्वानुमेय (प्रिडिक्टबल) परिस्थितिको अभावमा तिनले घर फर्किने योजना बनाउन सक्दैनन्, त्यसैले स्थिर र बलियो नेतृत्वले तिनलाई आकर्षित गर्छ । सर्वेसर्वा खड्गप्रसाद शर्मा ओलीको ‘नेपालसँग गद्दारी गरे पनि चीनसँग वफादारी देखाउनुपर्ने’ किसिमले पनि अर्थ्याउन मिल्ने वक्तव्यमा वाहवाही गर्ने प्रवासी कामदारहरू असुरक्षित मनस्थितिमा बाँचिरहेको हुनुपर्दछ । फिलिपिन्स, श्रीलंका, पाकिस्तान एवं भारतमा देखिने गरेको दबंग (स्ट्रङम्यान) नेतृत्वको लोकप्रियता एक हदसम्म अनिश्चितताको राजनीतिक विप्रेषणबाट जन्मिएको हो । पश्चिम एसिया एवं मलेसियाका कार्यस्थलले अदक्ष मधेशी कामदारहरूमा समेत स्वत्व एवं स्वाभिमान जगाउने रहेछन् । परदेशमा सामान हैसियत भए पनि राजदूतावासभित्र र देश फर्किनासाथ विमानस्थलमा नृजातीयताका आधारमा गरिने फरक व्यवहारले तिनलाई उद्वेलित गर्नु स्वाभाविक हो । उच्च शिक्षाप्राप्त परदेशी कामदारहरूले त अस्ट्रेलिया वा क्यानाडा लाग्ने विकल्प खोज्न सक्छन्, जति नै कमाइ जोगाए पनि फर्केर सर्लाही र धनुषा नै आउनुपर्ने बाध्यता भएकाहरूलाई एकताका सीके राउतको

आह्वानले आकर्षित गरेको थियो । अब त्यस्ता कामदारहरू धार्मिकतातिर आकर्षित हुन थालेका छन् । संगठित हुन निषेधित वातावरणमा वाम राजनीतिका खोक्रा नारा बिक्दैनन् ।

सामाजिक विप्रेषणको असर तुरुन्त देखिँदैन । लामो कालसम्म एक्लै बसेका युवाहरूको नारीप्रतिको दृष्टिकोण सम्मानजनक हुने सम्भावना सायद कम हुन्छ होला । पहाडी महिलाहरू पनि यूएईतिर कार्यरत रहेकाले पहाडी मूलका कामदारहरूका लागि आफ्नै भाषामा काकी, माइजू, भाउजू र बहिनी भन्दै बात मार्न मिल्नेहरू छन् । परिवारका साथ रहेका इन्जिनियर, डाक्टर, व्यवस्थापक एवं व्यवसायीजस्ता विशिष्ट पेसाकर्मीबाहेकका मधेशी कामदारहरू ‘पुरुष मात्र’ द्वीपमा काम गर्छन् र बस्छन् । तिनको एक्लोपनाले नारीद्वेष जन्माउन सक्छ । सन्दीप लामिछानेका परदेशी समर्थकमध्ये मधेशी पनि हुनु क्रिकेट खेलको लोकप्रियताले गर्दा मात्र होइन । अनुशासनका नाउँमा कठोर नियम पनि मान्न बाध्य बनाइएकाहरूमा सोपानतन्त्रप्रतिको लगाव एवं खुलापन पाउनासाथ अराजक हुने प्रवृत्ति एकसाथ देखिने रहेछ । परदेशमा नियन्त्रित रहेर घरपरिवारलाई देखासिकी फजुलखर्ची गर्न प्रोत्साहित गर्ने विडम्बना दमित आकांक्षाको अभिव्यक्ति हुन सक्छ । रगत र आँसु बिक्छ । अंग्रेजीमा शोक पत्रकारिताको सूत्र नै छ- ‘इफ इट ब्लिड्स, इट लिड्स’ । अर्थात्, रगत बगेको छ भने शीर्ष समाचार बन्छ । आर्थिकसँगसँगै राजनीतिक एवं सामाजिक मूल्य तथा मान्यताहरूको विप्रेषणबारे अझ गहन छलफल र अध्ययन जरुरी छ । त्यो किनभने, विप्रेषण–आधारित अर्थराजनीतिबाट निकट भविष्यमा मुक्त हुन सकिने कुनै सम्भावना देखिँदैन ।

ढलपल अर्थतन्त्र

सानो पसल, स्वतन्त्र व्यवसाय वा प्रतिष्ठित पेसाकर्मबाट केही रकम जोगाउन सक्नेहरूले सार्वजनिक कार्यक्रममा समेत कानेखुसी गरेजस्तो गरी सोध्ने नियमित प्रश्न एउटै हुने रहेछ- एउटा घर, बालबच्चाको पढाइ र परिवारको हेरचाहका लागि चाहिनेभन्दा बढी रकम नेपालमा राख्न सुरक्षित छ ? त्यो प्रश्न नभएर खतराको घण्टी हो । सायद कोलम्बो र इस्लामाबादका हर्ताकर्ताहरूले त्यस्तो घण्टीको आवाजतिर समयमै ध्यान पुर्‍याउन सकेनन् कि ? देशको अर्थराजनीतिबाट परदेशी कामदारको विश्वास उठ्यो भने ‘चीन र अमेरिका’ गरेर सार्वभौमिकता जोगाउन कठिन हुनेछ । हुन त संकटापन्न अर्थतन्त्र नेपालको मात्र नभएर वैश्विक मन्दीको बाछिटा पनि हो । कृषि संकटतिर त नीतिनिर्माताहरूले ध्यानसम्म दिन छाडेको धेरै भयो । अन्ध–भारत–विरोध नेपालको नृजातीय राष्ट्रवादको मूल आधार रहेकाले औद्योगिक विकासका लागि वैदेशिक लगानीको आस परित्याग गरिदिए हुन्छ । भारतसँगको सम्बन्ध नसुध्रिएसम्म अरू त के, रोजगारी बढाउने उत्पादक क्षेत्रमा चिनियाँ लगानी पनि आउँदैन । वैदेशिक सहयोगको लाभ गैसस सञ्चालन गर्नेहरू, दलाल पुँजीपति, सीमित नोकरशाह एवं प्रभावशाली राजनीतिकर्मी तथा तिनका सहयोगी बुद्धिजीवीसहितको भुइँफुट्टा वर्गलाई मात्र जान्छ । सामान्य नेपालीहरूका लागि निकट भविष्यमा श्रमिक भएर बाहिरिनुको विकल्प देखिँदैन ।

परदेशी कामदारलाई अब नेपालले समसामयिक परिवेशका ‘राष्ट्रिय नायक’ को सम्मान दिनुपर्छ । विमानस्थलमा तिनका लागि छुट्टै द्वार, विशेष प्रशिक्षण पाएका कर्मचारीको सेवा एवं सुविधायुक्त कक्षको व्यवस्था गरिनुपर्छ । अर्थतन्त्रमा १० प्रतिशतभन्दा कम योगदान गर्ने पर्यटन क्षेत्रको तामझामसँग एकतिहाइ हिस्सा ओगट्ने परदेशी कामदारको तिरस्कार असह्य हुँदै गइरहेको छ । एनआरएनहरूका लागि पत्रकार र बुद्धिजीवी मरिमेट्न जरुरी छैन, ती आफ्नो हित प्रवर्द्धन गर्न आफैं सक्षम छन् । नेपालमा निर्धाको आवाज हुनु भनेको परदेशी कामदार एवं तिनका परिवारको पीडालाई मुखर गर्नु हो । प्रवेश मल्लिकले युट्युबमा एउटा मैथिली गीतलाई गज्जबले प्रस्तुत गरेका छन- ‘परदेसिया के चिठिया लिखैय गोरिया ।’ चिठी त प्रतीक हो वेदनामिश्रित चाहना र प्रतीक्षाको । त्यस बाध्यतालाई सह्य बनाउने जिम्मेवारी समस्त राज्य र समाजको हुन आउँछ । मार्च ८ मा फगुवा मान्नेलाई ‘ह्याप्पी होली’ र आईक्याडका ‘हिरोहरू’ लाई सलाम !

इ-कान्तिपुरबाट।।।

प्रतिक्रिया दिनुहोस्