Ad imageAd image

लैंगिक न्याय र हाम्रा चुनौतीहरू

खबर खुराक
खबर खुराक २४ फाल्गुन २०७९, बुधबार
12 Min Read
Aa

न्तरिक र बाह्य आप्रवासी महिलाहरूको समान ज्यालाको सन्दर्भबाट सन् १९०९–१० मा उत्तर अमेरिका र युरोपका समाजवादी महिला तप्काद्वारा सुरु गरिएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई पछिल्ला केही दशकयता, खास गरी संयुक्त राष्ट्र्र संघद्वारा प्रायोजित सन् १९७५ को पहिलो विश्व महिला सम्मेलनपछि, राष्ट्र्र संघले श्रमिक महिलाका अधिकारको आन्दोलनभन्दा पनि सामान्य महिला दिवसका रूपमा फेरिदियो ।

जबकि त्यो लैंगिकताका सन्दर्भमा सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक आयामहरूको अन्तरघुलनसहितको सामाजिक न्यायसँग जोडिएको आन्दोलन थियो । त्यसयता बर्सेनि आफैंले तय गरेको नारा राष्ट्रसंघले सदस्यराष्ट्र्रहरू र लैंगिक समानताका सवालमा काम गर्ने गैससहरूमार्फत विश्वभर फैलाउन थाल्यो । नाराहरू सामयिक हुने नै भए किनकि तिनले एउटा निश्चित समाजभन्दा पनि सबै सदस्यराष्ट्रलाई समेट्नुपर्ने हुन्छ, यद्यपि त्यो त सम्भव हुँदैन किनकि वार्षिक नारा तोक्ने राष्ट्रसंघको आफ्नै संरचना र प्रक्रिया हुन्छ जुन पश्चिमाहरूकै पकडमा हुन्छ । त्यसो त सदस्यराष्ट्र्रले समाज सान्दर्भिक आफ्नै नारासमेत बनाउन पाउँछन् र त्यसो गर्छन् पनि तर राष्ट्रसंघले तय गरेको नारा केवल नारामा मात्र सीमित हुँदैन, त्योसँगै विभिन्न कार्यक्रम गर्न अनुदान पनि जोडिएर आउँछ । त्यसैले घरेलु मौलिक नारा सामान्यतया ओझेलमा पर्ने गर्छ । म आफैंले वर्षौं विभिन्न मुलुकमा राष्ट्रसंघको कर्मचारी भएर काम गर्दाको अनुभवले यही भन्छ । यही क्रममा यस वर्षको नारा डिजिटल प्रविधिसँग सम्बन्धित छ जसको उद्देश्य डिजिटल प्रविधिको नवीनता र उपयोगद्वारा महिला सशक्तीकरणको लक्ष्यप्राप्ति गर्ने भन्ने छ । यो नाराले हाम्रोजस्तो समाजमा, जहाँ महिला हिंसालाई सामान्यकरण गर्न नै बेलाबेलामा प्रविधिको प्रयोग हुने गर्छ, के सरोकार राख्छ, यो त छुट्टै छलफलको विषय होलाÙ तर यही अन्तर्राष्ट्र्रिय नारालाई अनुवाद गरी ‘लैंगिक समानताको बलियो आधार ः सृजनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भनेर सबै तप्कालाई दिवश मनाउन आह्वान गरिएको छ । यहाँ केन्द्रित गर्न खोजिएको सन्दर्भचाहिँ हामी लैंगिक समानताका मोटा लक्ष्यहरूमा कहाँ छौं र हाम्रा समाजसापेक्ष चुनौतीहरू कस्ता देखिन्छन् भन्ने हो । मेरो ठम्याइमा हाम्रा आन्तरिक नीतिगत खाकाहरू र त्यसमा पनि लैंगिक खाकाहरू हामीले आफ्नै समाजको विभेदी चरित्रलाई सम्बोधन गर्ने गरी तय गर्नुभन्दा पनि बाहिरी स्रोत र लहडका भरमा बनायौं, त्यसैले अबको बहस यसतर्फ केन्द्रित हुनुपर्छ । अन्तर्राष्ट्र्रिय श्रमिक महिला दिवसका सन्दर्भमा हामीले आफ्ना उपलब्धि र कमीकमजोरीको समीक्षा गर्नु जरुरी छ ।

लैंगिक सन्दर्भमा सामाजिक न्याय

लैंगिक दृष्टिकोणमा सामाजिक न्याय भनेको केवल कानुनी भाषामा लेखिएका समानताका दफाहरू र तिनको निहित स्वार्थको गन्ध आउने गरी गरिने अदालती व्याख्या मात्र होइन, बरु ती दफाहरू र मनगढन्ते व्याख्याभन्दा बढी संस्थागत संस्कृति, व्यवहार, वातावरण र अपनत्व हो जसले सबै लैंगिक पहिचानलाई सबलीकरण गर्ने वातावरण बनाउँछ र व्यक्तिलाई आफ्नो नागरिक अधिकार प्रयोग गरी कर्तव्य वहन गर्न उत्प्रेरित गर्छ । त्यसैले लैंगिक न्यायको अनिवार्य मर्म भनेको कानुनी दफामा सैद्धान्तिक रूपमा समान र हाम्रोजस्तो समय र समाजसँगै रूपान्तरण हुन नसकेको अदालती व्याख्या नभई सामाजिक–सांस्कृतिक पहिचान र वर्गीय रूपमा ती दफालाई रूपान्तरण गरी व्यक्तिको अधिकार र क्षमताअनुरूप त्यसको उपयोग र नागरिक दायित्व निर्वाह गर्न सक्ने वातावरण उसको परिवार, समुदाय, श्रम बजार र राज्य संरचनामा हुनु हो । कानुनी दफालाई समाजविशेषको चरित्रअनुरूप संस्थागत भएको लैंगिक, जातीय, भौगोलिक, वर्गीय र सांस्कृतिक शक्ति असन्तुलनको परिप्रेक्ष्यमा राखेर विश्लेषण गर्ने हो भने प्रस्ट हुन्छ- समाजको पारिवारिक, सामुदायिक, श्रम बजार र राज्य संरचनामा लैंगिक न्यायको स्थिति कति दयनीय र हिंस्रक छ । यसलाई हाम्रो मात्र होइन, अलिक पर गएर हेर्ने हो भने हाम्रा छिमेकीहरू र अफगानिस्तान, इरान, युक्रेन–रुस युद्ध, सिरिया द्वन्द्व, लिबिया भई युरोप जान हिँडेका र लान खोजिएका अफ्रिकी आप्रवासी महिला लगायतका थुप्रै पछिल्ला घटनाहरूले थप पुष्टि गरेका छन् । यी त केही उदाहरण मात्र हुन् ।

- Advertisement -
Ad image

हाम्रो घरेलु अवस्था र सतहमा देखिएका चुनौतीहरू सैद्धान्तिक रूपमा महिलावादका विभिन्न धारलाई अध्ययन गर्दा पनि प्रस्ट हुन्छ— पुँजीवादी धारका महिलावादीहरू संख्यात्मक समानतालाई अन्तिम लक्ष्य ठान्छन् भने समाजवादी महिलाहरू सामाजिक–सांस्कृतिक र वर्गीय विभेद, पहिचानलक्षित समतामूलक रणनीतिका पक्षधर भेटिन्छन् । तर नेपालका लैंगिक न्याय सम्बन्धी नीतिगत खाका अपेक्षित धारविपरीत पाइन्छ । धेरै टाढा नगई, गणतान्त्रिक आन्दोलनपछि बनेको अन्तरिम संविधान, समाजवादोन्मुख भनिएको वर्तमान संविधान र यस अन्तर्गत बनेका सरकारहरूको चित्रले अधिकांश समय संसद्, सत्ता र लोकप्रिय जनमत वामपन्थीहरूको प्रभावमा रह्यो र अद्यापि रहिरहेकै छ, तर पनि नीतिगत खाका, खास गरी लैंगिक न्याय सम्बन्धी खाकाहरू गणितीय हिसाबले तय भएका मोटा समानताका पुँजीवादी (उदारवादी) दृष्टिकोणले अभिप्रेरित पाइन्छन् । उसो त बहुदलीय व्यवस्था पुनःस्थापनापछि नै यो प्रवृत्ति देखा परेको हो तर माओवादी जनयुद्धले अगाडि सारेका ४० बुँदे माग हेर्ने हो भने ती लैंगिक न्यायका सामाजिक, सांस्कृतिक, जातिय, वर्गीय र भौगोलिकजस्ता नेपाली समाजका संरचनागत विभेदका छिद्रहरूलाई सम्बोधन गर्दै क्रमशः हिन्दुत्वका विषाक्त भ्रमहरूद्वारा सिञ्चित जटिल कुसंस्कार र सोच बदली रूपान्तरणको लय लिन मद्दत गर्ने खालका लाग्थे । तर ती १२ बुँदे शान्ति सम्झौता र त्यसलाई लागू गर्ने चरणमा क्रमशः धूमिल भएर गए । एक्काइसौं शताब्दीको नेपाली समाजमा महिलाको अस्तित्व र अपेक्षा गरिएको आचरणलाई व्याख्या गर्दा रामायण र गीताका सन्दर्भ र सीता–पार्वतीजस्ता अमुक चरित्रलाई उदाहरण बनाउनुले पनि केही हदसम्म हाम्रो सामाजिक चेतको स्तरको संकेत गर्छ । यही हो हिन्दुत्वको विषाक्त भ्रम भनेको ।

यस्तै भ्रम चिर्न र समयसापेक्ष रूपान्तरणका लागि समाईएका बन्दुक र गर्जिएका मुक्तिकामी नाराहरू क्रमशः भुत्ते भएको पनि डेढ दशकभन्दा बढी भयो । आखिर उपलब्धिका रूपमा नेतृत्वको वर्गीय उकालो र समावेशीका नाममा सृजना गरिएका दुर्लभ अवसरहरूको लिलामीबाहेक के हात लाग्यो समग्रमा लैंगिक न्यायका दृष्टिले ? अनि ती अवसरको लिलामी–हिस्सा पाउनेहरूले लैंगिक न्यायतर्फ गरेको कामका नतिजा त धमाधम देखिँदै छन् सतहमा ! अघिल्लो साताका अदालती दुई नजिर यो बुझ्न सजिला उदाहरण हुन् तर त्यति मात्र होइनन्, खोतल्दै जाँदा थुप्रै भेटिन्छन् । यो टिप्पणीले संयोगवश वा विकल्पविहीन अवस्थामा समावेशीको अवसर पाएका केही रूपान्तरण–पक्षधर जुझारु प्रतिनिधि पात्रहरूको लैंगिक न्यायपक्षीय प्रयासलाई बेवास्ता गर्न खोजेको पटक्कै होइन, तर त्यस्ता पात्रहरूले आफ्नो पदीय दायित्व वहन गर्ने क्रममा परिवारदेखि राज्यसम्मका तहगत लैंगिक हिंसा र पितृसत्ताका चुनौतीहरूको लेखाजोखा गर्ने हो भने अर्को कहालीलाग्दो दृश्य हाम्रा अगाडि आउँछ ।

फेरि लैंगिक न्यायको सवाल महिला–मुद्दा मात्र पनि होइन, यो त सबै लैंगिक पहिचान भएका व्यक्तिहरूको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक अधिकारको सवाल हो जुन एउटा व्यक्तिको मात्र नभई समग्र समाज विकास, सांस्कृतिक रूपान्तरण र वर्गीय विभेदको अन्त्यसँग जोडिएको हुन्छ । तर व्यवहारमा ‘लैंगिक’ शब्दलाई ‘महिला’ को पर्यायवाचीका रूपमा प्रयोग गरिन्छ । यो साँघुरो बुझाइले पनि लैंगिक न्यायलक्षित नीतिगत खाकामा अन्योल थप्छ, थपिरहेको छ हाम्रा नीतिगत दस्तावेजहरू हेर्दा । उदाहरणका लागि महिला मन्त्रालयका नीतिगत खाका, कार्यक्रमहरू लगायत अन्य मन्त्रालयका लैंगिक रणनीतिहरू हेर्न सकिन्छ । उसो त ती अधिकांश नीतिगत खाका र रणनीतिहरूमा प्रभाव पार्ने घरेलु र दाताका सल्लाहकार भनिएकाहरूले नै नेपाली समाज र त्यसको विभेदी चरित्र कति बुझेका छन् भन्ने पनि प्रश्न छ । किनकि वर्गीय चेत र समाजप्रतिको बुझाइ — जसलाई म नेपाली सन्दर्भमा सम्भ्रान्त या दरबारिया महिलावाद भन्छु — का कारण तिनले हाम्रा प्रशासनिक निकायलाई गलत सल्लाह दिने गरेको प्रशासनिक नेतृत्वमा रहनेले नै स्वीकार गर्दै आएका छन् । अनौठो त, ती मुद्दाहरू उठाउने क्रान्तिकारी तप्काका महिला संगठन र तिनका नेताहरू सत्ताप्राप्तिपछि चुइँक्क बोल्दैनन् बरु पुँजीवादीमध्ये पनि पुरातन सोचबाट सिञ्चित महिलाको स्वरमा स्वर मिलाई तिनै मोटा गणितीय खाकामा सहमति जनाउँछन् । सायद यही होला, हामीले राजनीतिक परिवर्तनसँगै समानान्तर रूपमा लान नसकेको सामाजिक–सांस्कृतिक रूपान्तरणको लैंगिक परिणाम !

यसो भनिरहनुको आशय नीतिगत खाकाहरू महिलाकेन्द्रित हुनु हुँदैन भन्ने होइन, खालि नीतिगत खाका कोर्दा ख्याल गर्नुपर्ने महत्त्वपूर्ण पक्ष हो— सम्बन्धित समाजको शक्ति सन्तुलनको अवस्था । हाम्रो समाजको लैंगिक मात्र होइन, अरू तमाम पहिचानबीच शक्ति सन्तुलन होइन शक्ति असन्तुलनको अवस्था छ, चाहे त्यो लैंगिक पहिचानको सन्दर्भमा होस् वा अन्य सामाजिक, सांस्कृतिक, जातीय र भौगोलिक महत्त्वका पहिचानहरू होऊन् । अझ ती विविध पहिचानभित्र फेरि लैंगिक पहिचानका धर्साहरू कम पेचिला हुँदैनन् । उदाहरणका लागि, दलित र गैरदलितबीचको विभेद अनि दलितभित्रै लैंगिक विभेदलाई अझ गहिरिएर हेर्ने हो भने यीभित्र पनि वर्गीय र फरक क्षमता लगायतका थुप्रै मिहिन धर्साहरू पाइन्छन् । के हाम्रा लैंगिक समानताका दफाहरूले यी विभेदका मसिना धर्साहरूलाई सम्बोधन गर्न सकेका छन् ? महिला मन्त्रालयका वार्षिक प्रतिवेदनहरू विश्लेषण गर्दा यी पक्षहरू भेटिँदैनन्, न त संयुक्त राष्ट्रसंघमा लगेर पढिने सिड लगायतका आवधिक प्रतिवेदनले नै यसबारे केही बोल्छन् । बरु राजनीतिक पार्टीहरूले निर्वाचनका बेला क्लस्टर भनेर सांकेतिक प्रतिनिधित्व गराउने उद्देश्यले यी विविधताभित्रका लैंगिक पहिचानलाई मौसमी रूपमा समेटेको निर्वाचन आयोगको प्रतिवेदनमा पाइन्छ । निर्वाचनको संवैधानिक प्रावधानले गर्दा राजनीतिक पार्टीहरूलाई यो मौसमी रणनीति अपनाउनैपर्ने बाध्यता पनि होला, जुन प्रावधान निर्वाचनकेन्द्रित लोकरिझ्याइँका लागि पनि सहायक हुन्छन् ।

तर फेरि सैद्धान्तिक रूपमा गरिएको गणितीय प्रतिनिधित्वले संख्यात्मक आवश्यकता मात्र पूरा गर्ने हो, यदि ती प्रतिनिधिहरूका विचारलाई सुनिएन भने । राजनीतिक फाँटमा यो जटिल समस्या देखिन्छ भने अन्य निकायमा पनि निर्णय गर्ने सानो समूह त फेरि पनि एउटा निश्चित लैंगिक, जातीय, वर्गीय पहिचान भएकाहरूकै हुन्छ । त्यसैले मत माग्नका लागि जनतामा भ्रम छर्ने, दातृ निकाय रिझाउने, संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्र्रिय मञ्चमा भाषण गर्ने बुँदा बनाउने तर आफ्नै घरेलु संरचनागत विभेदलाई सम्बोधन नगर्ने संरचना र नीतिगत खाका भएर मात्र नहुने रहेछ । राजनीतिक परिवर्तनसँगै सामाजिक–सांस्कृतिक रूपान्तरण र समयसापेक्ष निकायहरूलाई व्यवस्थित गर्न नसक्दा नेपाली समाजमा सबैभन्दा बिथोलिएको संरचना भनेको न्यायालय हो भनेर धेरैले धेरै पहिलेदेखि उठाउँदै आएका छन् । र लैंगिक न्यायका दृष्टिले त नेपाली न्यायालय धेरै हदसम्म असंवेदनशील नै रह्यो र परिस्थिति नियाल्दा न्यायालयलाई संवेदनशील बनाउन अझै धेरै समय लाग्ने देखिन्छ । किनकि हामीले परिवर्तन गरेर स्थापना गरेको राज्य सञ्चालन पद्धति, आर्थिक नीति र खुला गरिएको समाजले लैंगिक दृष्टिकोणमा पुरानो शाक्ति संरचनालाई हल्लाउन सके कि सकेनन्, त्यो त विभिन्न पक्षबाट छरपस्ट भैरहेका सन्दर्भहरूले नै संकेत गरेका छन्, तर थप नयाँ शाक्ति संरचनाको सृजनाचाहिँ गरेको देखिन्छ जसले लैंगिक न्याय प्रदान गर्न सघाइरहेको छ भन्न कठिन छ ।

प्रविधिप्रदत्त संचार र ती प्रविधि प्रयोग गर्ने चेतना र सीप, समयसापेक्ष हुन नसकेको हाम्रो शिक्षा प्रणाली आदि केही उदाहरण मात्र हुन् । प्रविधिले जीवनलाई सहज बनाएको छ तर त्यसले हिंसाको एउटा आफ्नै शृंखला पनि सृजना गरेको छ । त्यस्तै, हाम्रो शिक्षा प्रणालीको लक्ष्य नै व्यक्तिलाई साक्षर पार्ने मात्र हो, जीवन र जगत् बुझ्ने अनि त्यसप्रति आलोचनात्मक चेत आर्जन गर्न सक्ने बनाउने होइन । आलोचनात्मक चेतले प्रश्न गर्छ तर हाम्रा घरपरिवारदेखि श्रम बजार र राज्यसम्मको कुनै पनि नेतृत्व प्रश्न सुन्न चाहन्न । अझ महिलाले प्रश्न गर्दा त नेतृत्व झनै असहिष्णु हुन पुग्छ । अनि हाम्रो आर्थिक नीति र त्यसले सृजना गर्ने उत्पादनका माध्यमहरू आफ्नो समाज होइन, आप्रवासन गन्तव्य मुलुकको समृद्धिका आधारमा तय गरिन्छन् । सांस्कृतिक रूपमा महिला भनेको अमुक रामकी सीता र महादेवकी पार्वतीजस्तै हुनुपर्छ भनेर हाम्रा घर, परिवार, समाज र राज्यका कार्यपालिका, न्यायालय र व्यवस्थापिकाका निकायहरूले अपेक्षा गर्ने भएपछि कसरी लैंगिक न्याय स्थापित हुन्छ ?

तसर्थ लैंगिक न्यायको प्रत्याभूतिका लागि सबैभन्दा पहिला राजनीतिक पद्धतिसँगै सामाजिक–सांस्कृतिक रूपान्तरण हुनुपर्छ अनि त्यसका लागि घर, परिवार, श्रम बजार र राज्यका सबै तहका संरचनाहरू रूपान्तरित हुनु जरुरी छ । त्यस्तो रूपान्तरण जसले ती निकायहरूको शक्ति संरचनालाई जरैदेखि हल्लाई तिनको भूमिकालाई पुनर्परिभाषितसमेत गरोस् । तर विडम्बना, अहिलेको राजनीतिक नेतृत्वले समानताका नाममा टाउको गन्ने र ती गनिएका टाउकाहरूको पूर्ति पनि अधिकांशजसो राजनीतिक लिलामी बढाबढमार्फत नै गर्ने गर्छ एवं संयोग, बाध्यता र अपवादका रूपमा लैंगिक र अन्य सीमान्तीकृतहरूको प्रतिनिधित्व गर्ने जुझारु र सचेत प्रतिनिधिहरूका कुरालाई वास्ता गर्दैन । त्यसैले नेपाल र यस्तै समाजमा राजनीतिक पद्धति फेरिँदैमा र सत्ताप्राप्ति हुँदैमा लैंगिक न्याय प्राप्त हुन्छ भन्नु टाढाको विषय हो ।

इ-कान्तिपुरबाट।।।।।

प्रतिक्रिया दिनुहोस्