२४ फागुन हुम्ला । जिल्लाको सदरमुकाम सिमकोटमा बसोबास गर्ने अधिकांश महिलाहरूलाई बिहान-बेलुका चुलो बाल्नकै लागि भए पनि भारी बोक्नुपर्ने बाध्यता छ । यदि पिठ्युँमा भारी बोकेन भने चुलो नै बल्दैन । बिहान–बेलुका चुलो बाल्न र हातमुख जोड्नका लागि पनि भारी बोक्नुपर्ने बाध्यता छ यहाँका महिलाहरूको ।
हातमुख जोड्न मात्र होइन भारी नबोकेर घर गर्जो पनि नचल्ने गुनासो गर्छन् विगत् १०–१२ वर्षदेखि सिमकोट विमानस्थलमा भारी बोक्ने काम गर्दै आएकी बासु रावत
देशभर ११३औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा हुम्लाका यी महिलाहरूको पिठ्युँको भारी भने अझै हट्न सकेको छैन । २१औं शताब्दीमा पनि हुम्लाका महिलाहरूको दुःख जस्ताको तस्तै रहेको छ । यदि भारी नबोक्ने हो भने बेलुका परिवारमा छाक टार्न त परकै कुरा, चुलोमा आगोसमेत बल्दैन ।
‘बिहान र बेलुका हातमुख जोड्न‚ बालबच्चा पढाउन र घरखर्च टार्न पनि भारीकै भर पर्नुपर्ने अवस्था छ,’ रावत भन्छन् । रावतजस्तै भारी बोकेर आफ्ना ६ जना छोराछोरीको पालनपोषण गरिरहेकी बाटु सुनारको पनि एक दिन भारी नबोक्ने हो भने घरमा चुलो बल्दैन । यो समस्या रावत र सुनारको मात्र होइन, जिल्लाका ग्रामीण क्षेत्रका अन्य महिलाहरूले पनि यस्ता खाले समस्या भोग्दै आएका छन् ।
जिल्लामा गरिब विपन्न महिलाहरूको जीवनस्तर माथि उठाउनका लागि बर्सेनि विभिन्न खालका अभियान, गोष्ठी, सेमिनर, तालिमजस्ता कार्यक्रममा लाखौं रकम खर्च गरिन्छ । गरिब विपन्न महिलाहरूको जीवनस्तर माथि उठाउनका लागि भन्दै विभिन्न नारा बनाइन्छ । वास्तवमा नाराहरू भाषणमै सीमित रहेको स्थानीय महिला अगुवा सुशीला शाहको गुनासो छ ।
विगतमा भन्दा केही परिवर्तन भएको भए पनि सरकारले महिलाहरूका लागि भनेर गर्ने लगानीअनुसार हुनुपर्ने परिवर्तन नभएको सिमकोट गाउँपालिकाका उपाध्यक्ष सुशीला रोकायाको भनाइ छ । जबसम्म पुरुषहरूको चेतनामा परिवर्तन हुँदैन, तबसम्म हुम्लाका महिला दिदीबहिनीहरूको समस्या जस्ताको तस्तै रहन्छ । दिउँसो नारी दिवस मनाउने बेलुका घरमा आएपछि पुरुषहरूको व्यवहार जस्ताको तस्तै देखिन्छ । नारी दिवसको अवसर विभिन्न अधिकारका कुराहरू गरिन्छन् तर व्यवहारमा लागू हुन नसक्नु नै विडम्बना भएको रोकायाले बताइन् ।
यसको मुख्य कारण अर्थिक अभाव, अशिक्षा, भौगालिक विकटता र जनचेतनाको कमी हुनाले पनि विभिन्न चुनौतीहरू बेहोर्नुपरेको र यसका कारण पुरुषभन्दा महिलाहरू धेरै हिंसामा परेको अगुवाहरूले बताएका छन् । विशेषगरी महिलाअधिकार सम्बन्धी विभिन्न जनचेतनामुलक कार्यक्रमहरू सञ्चालन गरी महिलाहरूको हकहितका लागि सबै एक भएर लाग्नुपर्ने हुम्लाका महिला अगुवाहरुको भनाइ छ । जबसम्म भारी बोकेर गुजारा चलाउने महिलाहरूको पिठ्युँका भारी हटाई सीप सिकाएर आत्मनिर्भर गराउन सकिँदैन, तबसम्म नारी दिवसमा लगाएका नाराले सार्थकता पाउँदैन ।
प्रतिक्रिया दिनुहोस्