२४ फागुन धनगढी । बैतडीमा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी जीवन बुडाल मृत भेटिएको घटनामा प्रहरीले सँगै पिकनिक गएका १२ जनामाथि अनुसन्धान गरिरहेको छ ।
१३ फागुनमा पिकनिक गएका बेला दशरथचन्द नगरपालिका-१० का बुडाल चौलानी नदीको छेउमा मृत अवस्थामा भेटिएका थिए । उक्त घटनामा उनीसँगै गएका १२ जनाविरुद्ध बुडालका परिवारका सदस्यले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीका अनुसार बुडालसँगै पिकनिक गएका दशरथचन्द नगरपालिका-४ का ४५ वर्षीय टेकसिंह खत्री, वडा नम्बर ६ का ४८ वर्षीय अर्जुनसिंह रावल, ४० वर्षीय श्यामुसिंह ऐरी, ५० वर्षीय मोहनसिंह ठगुन्ना, ३४ वर्षीय नवीनसिंह ठगुन्ना, ४५ वर्षीय केशवसिंह रावल, ३६ वर्षीय दिपेन्द्र ऐरी, ५२ वर्षीय भीमसिंह ठगुन्ना, ३० वर्षीय भुवन लुहार हाल जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।
दशरथचन्द नगरपालिका–६ कै ४४ वर्षीय नारायण सिंह ऐरी, ४९ वर्षीय गजेन्द्रसिंह रावल र वडा नम्बर १० का ४० वर्षीय पुष्पराज भट्टलाई पनि प्रहरीले हिरासतमा राखेर अनुसनधान गरिरहेको छ । १२ जनाविरुद्ध अनुसन्धानका लागि प्रहरीले दोस्रो पटक १२ दिन हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको छ ।
प्रतिक्रिया दिनुहोस्