२५ फागुन देवदह । रुपन्देहीको देवदह नगरपालिकाले दुई संस्था सहित पालिका भित्र रहेका विभिन्न संघ संस्थामा कार्यरत ३८ जना महिला कर्मचारीलाई सम्मान गरेको छ ।
११३ औं अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर पालिकाले महिला उद्यमशिलता, महिला शशक्तीकरण तथा महिलालाई तालिमका माध्यमबाट एकिकृत गर्न सफल भएको भन्दै चेली कृषि सहकारी संस्था र सोइया महिला स्वावलम्वी संस्था देवदहलाई सम्मान गरेको हो।पालिकाले सो अवसरमा देवदहमा रहेका ३८ विद्यालयका ३८ जना कार्यालय सहयोगी महिलालाई सम्मान गरेको छ ।
कार्यक्रमको औचित्यबारे प्रकाश पार्दै देवदह नगरपालिकाकी उपप्रमुख तथा उप-प्रमुखसंग महिला कार्यक्रमकी संयोजक विद्यालक्ष्मी गुरुङले लैंगिक समानताकाको लडाई लामो रहेको उल्लेख गरिन। राजनीतिक परिवर्तन भएपनि अपेक्षित रुपमा समाजिक रुपान्तरण नभएकोले अहिलेपनि महिला हिँसा र विभेदका घटना समाजमा व्याप्त रहेको उप-प्रमुख गुरुङको भनाई छ।
महिला उद्यमी तथा मजदुरी गरेर घरपरिवार चलाउदै आएका महिलालाई उत्साह थप्नका लागि सम्मान गरिएको उपप्रमुख गुरुङले बताइन् ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिका प्रमुख धुब्र प्रसाद खरेलले महिला र पुरुषको बीचमा हुने विभेदको अन्त्य हुनुपर्ने बताए। नारीहरू गर्भमा रहेदेखि बृद्ध अवस्थामा पुग्दासम्म पनि महिला भएकै कारण अपहेलित हुनुपर्ने अवस्था समाजमा विद्यमान रहेको उल्लेख गर्दै प्रमुख खरेलले २१औं शताब्दीको युगसम्म आईपुदा समेत सामाजिक संरचनामा अपेक्षित परिवर्तन हुन नसकेको भन्दै दुख व्यक्त गरे।
देवदह नगरपालिकाले महिलाको आर्थिक एवं सामाजिकस्तर उकास्न आवश्यक कार्यक्रम तर्जुमा गरेर कार्यान्वयन गरिरहेको बताउदै प्रमुख खरेलले सबै मिलेर लैंगिक समानताको लागि काम गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत टिकाराम शर्मा, अखिल नेपाल महिला संघका शिला मल्ल, नेपाल महिला संघका लक्षु न्यौपाने, नेकपा माओवादी केन्द्रका लक्ष्मी कडेल, देवदह साना किसान कृषि सहकारी संस्थाका टिका न्यौपाने, अधिवक्ता पार्वती अधिकारी, परिवर्तन महिला समुहका जुनु पंगेनी, जनकल्याण महिला समुहका जया भण्डारी, प्रगति आमा समुहका सविना गिरी, विद्यार्थी नमिता सापकोटा लगायतले बोल्दै व्यवस्था फेरिए पनि महिलाहरुको अवस्था परिवर्तन हुन नसकेको बताएका थिए ।
देवदह नगरपालिका उपप्रमुख विद्या लक्ष्मी गुरुङको अध्यक्षता, उपप्रमुख संग महिला कार्यक्रमका सदस्य कृष्णमाया रानाको स्वागत, नगर प्रमुख धुब्र प्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन इन्दिरा भुसालले गरेकी थिईन ।कार्यक्रममा १५०० बढी महिलाको उत्साह पुर्वक रुपमा सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्