ललितपुरको पुल्चोकस्थित लबिमको क्यूएफएक्स हलमा केही समयपहिले म परिवारसँगै सिनेमा हेर्न गएको थिएँ । मध्यान्तरमा म र श्रीमती शौचालय प्रयोग गर्न निस्कियौं । म पुरुष शौचालय छिरेको केही क्षणमै निस्किएँ । तर महिला शौचालयमा लाइन लामो भएकाले श्रीमतीले धेरै कुर्नुपर्यो । अक्सर सिनेमाघर, नाटकघर, विमानस्थल, कन्सर्ट इत्यादि सार्वजनिकस्थलका महिला शौचालयहरूमा लाइन लामो हुन्छ, जुन पुरुष शौचालयमा हतपती हुँदैन ।
अध्येताहरूले सार्वजनिक शौचालयमा देखिने यस्ता लैंगिक भिन्नता (पट्टी प्यारिटी) का कारणहरू खोतल्ने प्रयास गरेका छन् । तीमध्ये पहिलो कारण हो— महिलालाई पिसाब फेर्न औसत ९० सेकेन्ड लाग्छ भने पुरुषलाई ६० सेकेन्ड । अर्थात्, पुरुषका तुलनामा महिलालाई पिसाब गर्न ५० प्रतिशत ज्यादा समय लाग्छ ।
दोस्रो, धेरैजसो सार्वजनिक शौचालयमा महिला र पुरुष शौचालयका लागि बराबर क्षेत्रफल छुट्याइएको त हुन्छ तर पुरुष शौचालयमा पिसाबका लागि धेरै युरिनल्स हुन्छन् जुन महिला शौचालयमा हुँदैन । त्यसले गर्दा क्षेत्रफलमा बराबरी भए पनि पुरुष शौचालयका तुलनामा महिला शौचालयमा सुविधा कम हुन्छ ।
तेस्रो, महिनावारी भएका महिलाहरूले शौचालय प्रयोग गर्दा बढी समय लगाउँछन् । गर्भवती महिलालाई तारन्तार पिसाब लाग्ने गर्छ । र, महिनावारी भएका, गर्भवती महिलाको संख्या पनि सार्वजनिक ठाउँहरूमा उल्लेख्य नै हुन्छ ।
चौथो, बच्चाहरूलाई शौचालय लैजाने काम पनि प्रायः महिलाकै हुने गर्छ । पाँचौं, पहिरनका कारण पनि उनीहरूलाई शौचालयमा बढी समय लाग्छ । यसले गर्दा सार्वजनिक भवनहरूमा पुरुष र महिला शौचालय निर्माणमा बराबरी क्षेत्रफल छुट्याएर ‘समानता’ कायम गरिएको भए पनि त्यसले ‘विभेद’ जन्माएको हुन्छ किनकि महिला र पुरुष जैविक र शारीरिक रूपमा भिन्न भएकाले उनीहरूको पनि आवश्यकता फरक हुन्छ । भिन्न कुरालाई समान व्यवहार गर्दा त्यसले जन्माउने असमानता उस्तै कुरालाई असमान व्यवहार गर्दाभन्दा ठूलो हुन्छ ।
लैंगिक र यौनिक भिन्नता
भाले र पोथीबीच जन्मजात हुने शारीरिक र जैविक भिन्नतालाई यौनिक भिन्नता (सेक्सुअल डिफरेन्स) भनिन्छ भने यौनिक भिन्नताका आधारमा समाजनिर्मित सोच, आचरण, व्यवहार, मनोवृत्ति र मापदण्ड लैंगिक भिन्नता (जेन्डर डिफरेन्स) हो । लैंगिकता व्यक्तिले आफूले रोजेको वा निर्माण गरेको पहिचान पनि हो । भालेका रूपमा जन्मेको व्यक्तिले महिलाका रूपमा आफूलाई चिनाउन खोजेको वा पोथीका रूपमा जन्मेको व्यक्तिले आफूलाई पुरुषका रूपमा चिनाउन चाहेको पनि हुन्छ । त्यसकारण लैंगिक भिन्नतामा यौनिक भिन्नता जस्तो सेतो–कालो सपाट नभई प्रशस्त ‘ग्रे एरिया’ हुन्छ ।
उद्विकासका क्रममा पृथ्वीका जीवहरूमा करिब २ अर्ब वर्षपहिले मैथुनिक प्रजननको उत्पत्ति र विकास भयो । त्यसअघि पृथ्वीमा अमैथुनिक प्रजननबाट पैदा हुने जीवहरू मात्रै अस्तित्वमा थिए । अमिबाजस्ता ती जीवहरूको शरीर टुक्रिएर सन्तान बन्ने भएकाले पुर्खौंसम्म पनि उनीहरूको अनुवंश एउटै हुन्थ्यो, जसका कारण कुनै रोग लागेमा सबै सखाप हुनुको विकल्प थिएन । तर मैथुनिक प्रजननमा दुई फरक व्यक्ति (भाले र पोथी) बाट आएका भिन्न अनुवंश सन्तानमा सर्ने भएकाले पैदा भएका सन्तानहरूमा रोगहरू नलाग्ने वा त्योसँग लड्ने जिन पनि हुने भएकाले बाँच्नका लागि उपयुक्त त्यस्तो गुणको छनोट हुँदा मैथुनिक प्रजननको उत्पत्ति भयो । यसरी उद्विकासका क्रममा चराचुरुंगी, स्तनधारी जनावरदेखि पाइमेट्स र मानवसम्म आइपुग्दा भाले र पोथीबीच प्रशस्त शारीरिक र जैविक भिन्नताहरू देखा परे । मानवजातिका भाले र पोथीमा त्यस्तो जैविक भिन्नता मुख्यतः क्रोमोजम (भालेमा एउटा वाई क्रोमोजम हुन्छ, पोथीमा हुँदैन), हर्मोन (मानव पोथीको प्रमुख हर्मोन एस्टोजेन हो भने भालेको टेस्टोस्टेरोन) र यौनांगको बनोटमा देखिन्छ ।
भाले र पोथीबीच यस्ता जैविक भिन्नताहरूसँगै थुप्रै शारीरिक र व्यवहारजन्य विषमता हुन्छन् । शरीरको बनोट र आकार, यौनारम्भको समय, प्रजननको आवश्यकता, यौन चाहना, यौनसाथीको छनोट, नैतिकता, आवेग, आक्रामकता इत्यादिमा पनि भाले र पोथीबीच फरक हुन्छ । सामान्यतया भाले पोथीभन्दा आकारमा ठूलो र बलियो हुन्छ । गोरिल्ला, ओरनगुटान, बबुनहरूमा त भालेको साइज पोथीको भन्दा दोब्बर ठूलो हुने गर्छ । मानिसमा पनि औसतमा महिलाभन्दा पुरुष अग्लो हुन्छ । महिलाहरू बढी दयालु हुन्छन् भने पुरुषहरू यौनिक रूपमा ईर्ष्यालु हुन्छन् । त्यसबाहेक भाले–पोथीमा ठूलो भिन्नता खेलौनाको छनोट र हिंस्रक व्यवहारमा समेत देखिन्छ ।
बच्चाहरूमा गरिएका थुप्रै अनुसन्धान अनुसार, केटाहरू खेल्दा आपसमा बढी झैझगडा गर्ने गर्छन् भने केटीहरू अक्सर मिलेर खेल्छन् । खेल्ने क्रममा केटीका तुलनामा केटाले औसत ३ देखि ६ गुणा बढी शारीरिक हमला गर्ने गर्छन् । क्याम्ब्रिज विश्वविद्यालयका अध्येताहरूले गरेको पछिल्लो मेटा एनालिसिसले केटा र केटीले रोज्ने खेलौनाबीचमै ठूलो विषमता हुने देखाएको छ । केटीहरूले मुख्यतः पुतली, भाँडाकुटीजस्ता खेलौना रोज्छन् भने केटाहरूले गुड्ने गाडी, बन्दुकजस्ता खेलौना । मानिसका बच्चाहरूमा मात्रै होइन, चिम्पाजी र बाँदरका बच्चाहरूमा पनि खेलौनाको छनोट र खेलाइमा केटी र केटामा यस्तै फरक पाइएको छ । अध्येताहरूले यसको कारणलाई भालेको विरासतका लागि लड्ने स्वभाव र पोथीको सन्तान जोगाउन संघर्ष गर्ने स्वभावसँग जोडेका छन् ।
महिलाभन्दा ज्यादा हिंस्रक पुरुष
महिला र पुरुषबीच देखिनेमध्ये आक्रामक स्वभाव सबैभन्दा प्रखर भिन्नता हो । मानिसलगायत अन्य जनावरमा पनि पोथीका तुलनामा भाले बढी हिंस्रक हुन्छ । यद्यपि कैयौं महिलाबाट पनि चरम क्रूरता प्रदर्शन हुने गरेको पाइन्छ । संयुक्त राष्ट्र संघको तथ्यांकअनुसार, सन् २०१९ मा विश्वभर ४ लाख ७५ हजार मानिसको हत्या भएको थियो, जसमध्ये ८७ प्रतिशत हत्यामा संलग्न व्यक्ति पुरुष थिए भने बाँकी १३ प्रतिशतमा महिला । सोही तथ्यांकअनुसार नेपालमा भएका हत्याका ७०४ घटनामध्ये ५२४ मा पुरुष र १७९ मा महिला संलग्नता देखिएको थियो । यसले पनि महिलाका तुलनामा पुरुष ज्यादा हिंस्रक हुने गरेको प्रमाणित गर्छ । महिलाका तुलनामा पुरुषमा किन बढी हिंस्रक स्वभाव हुन्छ भन्ने कारण खोतल्न फेरि उद्विकास र यौनिकतातिर फर्कनुपर्छ ।
माथि उल्लिखित कतिपय यौनिक भिन्नतामा अपवाद पनि हुन्छन् तर सबै जीवका भाले र पोथीबीच देखिने समान फरक भनेको ग्यामेटको साइज र संख्या हो । भाले जातिको ग्यामेट अर्थात् शुक्रकीट आकारमा सानो तर अधिक संख्यामा उत्पादन हुन्छ भने पोथी जातिको ग्यामेट अर्थात् अण्ड आकारमा ठूलो तर थोरै संख्यामा उत्पादन हुन्छ । एक महिलाको शरीरले आफ्नो जीवनकालमा करिब ५०० अण्ड उत्पादन गरेको हुन्छ भने पुरुषको शरीरबाट एकै पटकमा करोडौं शुक्रकीट निस्कन्छन् । उद्विकास वैज्ञानिक रोबर्ट ट्रिभर्सले अघि सारेको सन्तानमाथि अभिभावकले गर्ने लगानीको सिद्घान्त (प्यारेन्टल इन्भेस्टमेन्ट थ्यौरी) अनुसार, सन्तान उत्पादनमा भाले वा पोथीमध्ये जसले बढी स्रोत, साधन र समयको लगानी गर्छ, यौनसाथी चुन्ने प्राधिकार उसैमा रहन्छ ।
तुलनात्मक रूपमा महिलाको शरीरले अण्ड बनाउँदा पुरुषको शरीरले शुक्रकीट बनाउँदाभन्दा बढी प्रोटिन र शरीरको ऊर्जा खपत भएको हुन्छ । यौनसम्पर्कपछि गर्भ रहेको अवस्थामा महिलाले बच्चालाई नौ महिनासम्म आफ्नो गर्भमा राख्नुपर्दा शरीरको ठूलो ऊर्जा खर्चिनुपर्छ र बच्चा जन्मिएपछि पनि उसलाई दूध खुवाउन, स्याहारसुसार गर्न धेरै समय र स्रोत खर्चिनुपर्छ । यसरी सन्तान जन्माउनुअघि र जन्माएपछि पुरुषका तुलनामा महिलाले अधिक शारीरिक ऊर्जा र समय खर्चिनुपर्छ । त्यसकारण सन्तान पैदा गर्नु भनेको महिलाका लागि ठूलो लगानी भइदिन्छ भने पुरुषका लागि खासै केही लगानी नगरी जिन प्रसारित हुने काम ।
आफूले ठूलो लगानी गर्नुपर्ने हुनाले यौनसाथीको छनोटमा स्वाभाविक रूपमा पोथी ‘चुजी’ हुन्छे । त्यसकारण स्वास्थ्यकर जीन भएको, बच्चालाई सुरक्षा दिन सक्ने र हुर्काउने स्रोत भएको इत्यादि गुणलाई पोथीले भाले–छनोटको आधार बनाउँछे । पोथीको छनोटमा पर्नका लागि भालेमा सुन्दरता (आफू स्वस्थ रहेको सूचक), क्षमता (तुलनात्मक रूपमा राम्रो हैसियतको सूचक), शक्ति (सन्तानका लागि स्रोत र सुरक्षा निश्चितताको सूचक) लगायतका गुणहरूको उत्पत्ति र विकास भएको मानिन्छ । जस्तै— पोथी मयूरको रोजाइमा सबैभन्दा सुन्दर पुच्छरयुक्त भाले पर्ने भएकाले भाले मयूरमा सुन्दर पुच्छरको विकास भएको मानिन्छ ।
त्यस्तै अन्य चरामा पनि पोथीको सामुन्ने सबैभन्दा प्रभावशाली नाच देखाउने भालेले समागमको अवसर पाउँछ । पोथीको छनोटमा नपरे जीवन आफ्नो अनुवंश सन्तानमा प्रसारण नगरीकन समाप्त हुने भएकाले भालेले पोथीलाई प्रभावित पार्न निरन्तर प्रयत्न गरिराख्छ । त्यसका लागि अन्य भालेसँग लड्न–भिड्न, मार्न–मर्न पनि तयार हुन्छ । त्यसैले भाले–भालेबीचको यस्तो प्रतिस्पर्धाले नै भालेहरूमा हिंस्रक स्वभाव र बलिष्ठ शरीरको उत्पत्ति र विकास हुन सघाएको मानिन्छ ।
कतिपय मानिसले स्तनधारी जनावरका भालेहरूमा प्राकृतिक रूपमा निहित हिंस्रक स्वभावलाई स्वाभाविक मानेर महिलामाथि पुरुषले गर्ने हिंसालाई प्राकृतिक बनाउन पनि खोज्छन् । त्यस्ता मानिसहरूले मानिससँग आनुवंशिक रूपमा ९९ प्रतिशत डीएनए मिल्ने चिम्पान्जीमा भालेले पोथीलाई गर्ने दुर्व्यवहारको उदाहरण दिन्छन् । तर विश्वविख्यात प्राइमेटोलोजिस्ट फ्रान्स डे वाल ‘डिफरेन्ट जेन्डर : थ्रु द आई अफ अ प्राइमेटोलोजिस्ट’ मा लेख्छन्, ‘मानिसको तुलना चिम्पान्जीसँग गर्दा मानिससँग आनुवंशिक रूपमा उत्तिकै नजिक अर्को प्राइमेट बनबुजलाई छुटाउन हुँदैन ।
मानिसमा हिंस्रक, इलाकाप्रेमी र भालेनियन्त्रित चिम्पान्जीको गुण मात्रै होइन, शान्त स्वभावयुक्त, यौनानन्दमा रमाउने र पोथीको खटनपटनमा चल्ने बनबुजको पनि गुण हुन्छ; साथै उत्पत्तिका क्रममा आफ्नै प्रजातिले विकास गरेको मानवीय गुण पनि ।’ उनको थप भनाइ छ, ‘मानिस लगायतका प्राइमेट्सका भालेहरूमा क्रमिक विकास भएको आक्रामक चरित्र पोथीहरूमाथि हावी हुन वा हैकम जमाउनभन्दा भाले–भालेबीच प्रतिस्पर्धा गर्नका लागि हो । भाले–भाले प्रतिपर्धा जति बढी कडा हुने वातावरण भयो, उनीहरूमा शारीरिक बल त्यति नै बढी हुने गर्छ ।’
अक्सर लैंगिकताको कुरा गर्दा यौनिकतालाई जान–अनजानमा नजरअन्दाज गर्ने गरिन्छ, महिला र पुरुष जैविक रूपमा थुप्रै कुरामा भिन्न भएको यथार्थतालाई नकारिन्छ । महिला र पुरुषबीचको जन्मजात भिन्नताले निम्त्याएको फरक शारीरिक र मानसिक व्यवहारलाई पहिचान गर्न सकिएमा मात्रै उनीहरूका फरक आवश्यकता, रुचि र चाहना पहिल्याउन सकिन्छ । त्यसो हुँदा जैविक यौनिकतामा आधारित समाजको निर्माण गरेको लैंगिक असमानता घटाउन मद्दत मिल्छ । नत्र हामी फरक कुरालाई समान व्यवहार गरेर थप असमानता उत्पादन गरिरहेका हुनेछौं ।
इ-कान्तिपुरबाट।।।।
प्रतिक्रिया दिनुहोस्